ad ad

खेल


अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका होमलाललाई

अन्नपूर्ण म्याराथनको उपाधि आर्मीका होमलाललाई

नेपालखबर
जेठ २१, २०८१ सोमबार २०:११, पोखरा

चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन्। उनले निर्धारित ४२।१९५ किलोमिटरको दूरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पूरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उनी गत वर्षका उपविजेता हुन्।

उपाधि हात पारे पनि अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको दौडमा उनले आफ्नै रेकर्ड भने तोड्न सकेनन्। अघिल्लो वर्ष दोस्रो हुँदा उनले सो दूरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए।

त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए। उनले निर्धारित दूरी ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका थिए। उनी ५ दिन अघिमात्र एभरेष्ट म्याराथनका विजेता हुन्।

गत वर्षका विजेता जुम्लाका धीरबहादुर बुढा यो पटक भने तेस्रो स्थानमा आए। उनले ४ घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दूरी पार गरेका थिए। उनले गत वर्ष ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पूरा गरी प्रथम स्थान प्राप्त गरेका थिए। द्वितीय र तृतीय स्थान प्राप्त गरेका राई र बुढ़ाले क्रमशः एक लाख र ७५हजार नगद प्राप्त गरे।

महिलातर्फको उपाधि खोटाङका निर्मला राईले जितिन्। उनले निर्धारित दुरीलाई ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पूरा गर्दै विजेताले राईले नगद १ लाख ५० हजार राशी पुरस्कार प्राप्त गरिन्।

नेपाल आर्मीकी (डोल्पा घर भएकी)सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड़ पूरा गर्दै दोस्रो स्थानामा रहिन् भने ओखलढुङ्गाकी छोकी शर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दूरी पार गर्दै तेस्रो स्थानमा आइन्। गत वर्ष पनि तेस्रो स्थान प्राप्त गरेकी शर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पूरा गरेकी थिइन्। महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गरे।

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट सुरु भइ माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो।

प्रतियोगितामा महिलातर्फ १ विदेशी सहित ११ जना र पुरुषतर्फ ३ विदेशीसहित ४९ जना पुरुष धावकको सहभागिता रहेको थियो। ६० जनामध्ये २ जनाले बीचबाटै प्रतियोगिता छाडेका थिए।

४ विदेशीमध्ये ३ जना बेलायती र १ स्क्टल्यान्डका धावकको सहभागिता रहेको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष ललित गुरुङले बताए।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगाएतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .