लामो समयदेखि हमास विद्रोहीसँग युद्ध लडिरहेको इजरायलको छिमेकी देश लेबननमा हुन लागेको चार देश सम्मिलित ‘सेडास वुमन इन्टरनेशनल टुर्नामेन्ट’मा नेपाल सहभागी नहुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक देश लेबननमा विकसित भएको घटनाक्रमबाट खेलाडीहरूको सुरक्षामा प्रश्न उठेको भन्दै नेपाली महिला फुटबल टोलीलाई त्यहाँ नपठाउने निर्णय गरेको जनाएको छ।
‘लेबननमा विकसित भएको पछिल्लो घटनाक्रम र राष्ट्रिय टोलीका खेलाडी तथा अन्य सदस्यहरूको सुरक्षालाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघले लेबननमा जुलाई ८ देखि १६ सम्म हुने ‘से डास वुमन इन्टरनेशनल टुर्नामेन्ट’प्रतियोगितामा भाग नलिने निर्णय लिएको छ,’ एन्फाले भनेको छ।
प्रतियोगितामा आयोजन बेलनन, जोर्डन, बंगलादेश र नेपाल सहभागी हुँदै थिए। बंगलादेशले यसअघि नै सुरक्षाको कारण देखाउँदै प्रतियोगितामा भाग नलिने निर्णय गरिसेको थियो।
एन्फाले महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने समेत आश्वासन दिएको छ। ‘नेपाली राष्ट्रिय महिला टोलीलाई चाँडै नै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन एन्फा तत्पर रहेको र निकट भविष्यमा नै सो प्रतियोगिताको बारेमा जानकारी गराइनेछ,’ एन्फाले भनेको छ।
नेपालले आउँदो कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्नेछ।
Shares
प्रतिक्रिया