डिफेन्डिङ च्याम्पियन पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ, चौथो खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रगंशालामा बिहिबार भएको तेस्रो क्वार्टरफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै एपीएफ अन्तिम ४ मा पुगेको हो।
निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा कप्तान भरत शाहको प्रहार बाहिरिएपछि डिफेन्डिङ च्याम्पियन पुलिस सेमिफाइनलबाटै बाहिरिएको हो। उनको प्रहार पोष्टमा लाग्दै बाहिरिएको हो। पुलिसका सौजन राई याक्खा, तेज तामाङ र बुद्धबल तामाङ गोल गर्न सफल भएका थिए।
एपिएफका लागि सुदीप शिख्रकार, आशिष लामा, प्रविण स्याङ्तान र दीनेश राजवंशीले गोल गरे। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल शुक्रबार हिमालयन शेर्पा र गोर्खा ब्वाइज रुपन्देही बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा यसअघि रुस्लान थ्रीस्टार र आयोजक सुदुरपश्चिम–११ ले अन्तिम ४ मा स्थान बनाइसकेका छन्। प्रतियोगिताको उपाधि विजेताले २१ लाख १ हजार तथा उपविजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया