ad ad

खेल


नेपाली क्रिकेटलाई चम्काउने पुवुदु फरक भूमिकामा नेपालमा

नेपाली क्रिकेटलाई चम्काउने पुवुदु फरक भूमिकामा नेपालमा

लक्ष्मी जि.सी
फागुन २०, २०७६ मंगलबार ७:५३,

अत्यन्तै ‘लो प्रोफाइल’मा रहेको नेपाली टोलीको प्रशिक्षकको रुपमा आएर ५ वर्षको अवधिमा नेपाली टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा स्थापित गराएका थिए पुवुदु दासानायकेले। उनै पुवुदु नयाँ भूमिकामा केहि दिनका लागि नेपाल आइपुगेका छन्।

पुबुदु दासानायकेको प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेका कारण नेपाली क्रिकेटरहरुले उनलाई विशेष सम्मानका साथ स्मरण गर्ने गर्छन्। उनकै कार्यकालमा नेपालले डिभिजन–४ बाट सिँढी चढ्दै डिभिजन–२ सम्मको यात्रा तय गरेको थियो।

नेपाली क्रिकेटको जग बसाउने काम अर्का श्रीलंकन प्रशिक्षक रोय डायसले गरेको मानिन्छ भने त्यसमैं टेकेर नेपाली टोलीलाई थप सफलताको सिँढी चढाउने ‘क्रेडिट’ श्रीलंकनमूलका क्यानाडियन नागरिक पुबुदुलाई दिने गरिन्छ।

५ वर्षअघि उनी परिवारलाई समय दिन भन्दै क्यानडा फर्केका थिए। त्यसपछि २ पटक उनी नेपाली क्रिकेट टोलीको कन्सल्टेन्टको रुपमा आएका थिए। यसबीचमा उनले अमेरिकाको क्रिकेट टोलीलाई समेत प्रशिक्षण दिए। ४ वर्षपछि पुबुदु फेरि नेपाल आएका छन्।

यसपटक भने राष्ट्रिय टोलीको कुनै जिम्मेवारीका लागि नभई चैत १ गते सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि आएका हुन्। उनको प्रशिक्षणमा साविक उपविजेता भैरहवा ग्लाडियर्टसले ईपीएल खेल्नेछ।

तीन विदेशी खेलाडीबारे जानकारी दिन भैरहवाले आइतबार पत्रकार सम्मेलन गरेको थियो। जहाँ प्रशिक्षक पुबुदुको पनि उपस्थिति थियो।

‘करिब ४ वर्षपछि फेरि नेपाल आउँदा निकै उत्साहित छु’ उनले भने, ‘यो ईपीएलमा विश्वका निकै राम्रा खेलाडीहरु आउँदै छन्। भैरहवामा पनि राम्रा खेलाडी छन्। यो टोली सन्तुलित छ।’

‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट गर्न पुबुदु सोमबार भैरहवा पुगेका छन्। ईपीएलमा सहभागी हरेक टोलीले स्थानीयबाट ‘ट्यालेन्ट हन्ट’ गरि कम्तीमा १ जनालाई टोलीमा समेट्नुपर्ने प्रावधान छ। तर टोलीले आफ्नो आवश्यकताका आधारमा ३ जनासम्म राख्न सक्नेछन्।

पुबुदुले आफ्नो टोलीमा राष्ट्रिय टोलीका युवा खेलाडीलाई समेटेको उल्लेख गर्दै मिश्रित टोली भएकाले राम्रो प्रर्दशन गर्नेमा आफू विश्वस्त रहेको बताए।

केहि साताअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट उमेश पटवालले राजीनामा गरेपछि नेपाल क्रिकेट संघ (क्यान) अर्को प्रशिक्षकको खोजीमा छ।

यहि मौकामा नेपाल आइपुगेका पुबुदुलाई प्रशिक्षकको प्रसंगबारे प्रश्न आउनु स्वभाविक नै थियो। पत्रकार सम्मेलनमा उनलाई सोधियो, ‘क्यानले नेपाली टोलीको प्रशिक्षण सम्हाल्न प्रस्ताव गर्यो भने के गर्नुहुन्छ।’ उनको अपेक्षित जवाफ आयो, ‘त्यतिबेला नै सोच्नेछु।’

नेपालबाट टाढा रहँदा पनि उनी नेपाली क्रिकेटबारे जानकार देखिए। ‘नेपाली टोलीमा अहिले निकै राम्रा र युवा खेलाडीहरु छन्। टोलीले राम्रो प्रर्दशन गरिरहेको छ,’ उनले थपे।

Pubudu 1

पुबुदुकै कार्यकालमा नेपालले डिभिजन ४ बाट बढुवा हुँदै डिभिजन २ सम्मको यात्रा तय गरेको थियो। सबैभन्दा ठूलो उपलब्धीका रुपमा उनको कार्यकालमा नेपालले सन् २०१४ को टि–ट्वान्टी विश्वकप खेलेको थियो।

एसिसी टि–ट्वान्टीमा फाइनल पुगेको नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो। बंगलादेशमा भएको विश्व टि–ट्वान्टीमा दमदार प्रदर्शन गर्ने क्रममा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

उतिबेला नेपाल आउनुअघि नै उनले प्रशिक्षणमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका थिए। श्रीलंकाका पूर्व विकेटकिपर एवंम् ब्याट्सम्यान पुबुदुको प्रशिक्षणमा क्यानडाले २०११ को विश्वकप खेलेको थियो। त्यसको केहि समयपछि उनले क्यानेडियन टोली छाडेका थिए।

श्रीलंकाका लागि ११ टेष्ट र १६ एकदिवसीय खेलेका उनले अमेरिकालाई चौथो डिभिजनबाट एक दिवसीय क्रिकेट (ओडीआई) को मान्यता दिलाउन पनि महत्वपुर्ण भुमिका खेलेका थिए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई साता चल्ने ईपीएलमा उनको टोलीको प्रदर्शनले फेरि एकपटक पुवुदु नेपाली क्रिकेट जगतमा चर्चामा आउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .