ad ad

खेल


एकदिवसीय अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

एकदिवसीय अलराउन्डर वरीयतामा सन्दीपको छलाङ

नेपालखबर
असोज ९, २०८१ बुधबार १८:४९, काठमाडौँ

एकदिवसीय क्रिकेटको अलराउन्डर विश्व वरीयतामा नेपालका सन्दीप लामिछानेले छलाङ मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीपले एकैपटक २२ स्थान सुधार गरेका हुन्। 

उनी नेपाली खोलाडीमा सबैभन्दा अगाडि छन्। सन्दीपले पछिल्लो वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र सोमपाल कामीलाई पनि पछि पारेका हुन्। सन्दीपसँगै विश्व वरीयताको ४१ औं स्थानमा अस्ट्रेलिएका ट्राभिस हेड र एडम जाम्पा छन्। जाम्पा एक स्थान तल झर्दै र हेड १० स्थान सुधार गर्दै सन्दीपसँग बराबरी गरेका हुन्। 

सन्दीपले विश्वकप लिग २ अन्तर्गत क्यानडामा भएको सिरिजमा उत्कृष्ठ प्रदर्शन गरेका थिए। क्यानडाविरुद्धको अन्तिम खेलमा सन्दीपले ४८ बलमा ४९ रन जोडेका थिए। उक्त खेलमा नेपाली ब्याटरले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। उक्त खेलमा १० ओभर बलिङ गरेका सन्दीपले २ पनि विकेट लिए। अरु ३ बलरले एक/एक विकेट हात पारेका थिए। 

त्यसअघि ओमानविरुद्ध नटआउट ११ रन जोडेका सन्दीपले एक विकेट लिएका थिए। पहिलो खेलमा क्यानडाविरुद्ध पनि दोस्रो ठूलो स्कोर २२ रन बनाउँदा एक विकेट नै लिएका थिए। तर अन्य ब्याटर नचल्दा नेपाल तीनवटै खेलमा पराजित भएको थियो। अन्तिम खेल भने वर्षाका कारण हुन सकेन। 

विश्व वरियताको अलराउन्डरतर्फ दीपेन्द्र सिंह ऐरी ६ स्थान तल झर्दै ४८ औं स्थानमा पुगेका छन्। कुशल मल्ल ७ स्थान तल झर्दै ५१ औं र सोमपाल कामी ५३ औं स्थानमा यथावत छन्। करण केसी ११ स्थान सुधार गर्दै ७६ औं र गुल्शन झा १३ स्थान सुधार गर्दै ९० औं स्थानमा अटाउँदा ललित ९४ औं स्थानमा छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .