ad ad

खेल


पाँच महिनापछि खेलकुद चलायमान हुने संकेत

पाँच महिनापछि खेलकुद चलायमान हुने संकेत

लक्ष्मी जि.सी
साउन ७, २०७७ बुधबार १२:३५,

झन्डै पाँच महिनापछि नेपाली खेलकुद चलायमान हुने संकेत देखिएको छ।

कोरोना महामारीका कारण चैतको सुरुवातबाट खेलकुद गतिविधि ठप्प रहँदै आएका छन्।

सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेसँगै राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु हुने भएको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। समूहमा खेलिने घरेलु खेलकूद प्रतियोगिताका साथै खेल मैदानमा हुने अन्य कार्यक्रम भने गर्न नपाइने सरकारले जनाएको छ।

सरकारको यो निर्णयसँगै विश्वकप र ओलम्पिक खेल्ने खेलाडीबाहेक अन्य खेलका खेलाडीले भने अझै केही समय कुर्नुपर्ने भएको छ।

Karate training 1

टोकियो ओलम्पिकका लागि कराँते टोलीले केहि दिन अघिबाट प्रशिक्षण सुरु गरिसकेको छ। तर फुटबल लगायतका सामुहिक खेलले प्रशिक्षण सुरु गर्न पाएका थिएनन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले असोजमा फिफा विश्वकप छनोटका लागि नयाँ मिति सार्वजनिक गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि सरकारसँग अनुमति मागेको थियो।

सरकारको अनुमतिपछि एन्फाले भदौ १ बाट प्रशिक्षण सुरु गर्ने जनाएको छ। सरकारको अनुमतिपछि एन्फाले विश्वकप छनोट खेल्ने टोलीलाइ प्राथमिकतामा राखेर योजना बनाएको एन्फाका प्रवक्ता किरण राइले बताए।

कोरोना महामारीका कारण महिला टोली र उमेर समुहका लागि भने तत्काल कुनै योजना नरहेको राइले बताए।

विश्वकप छनोटका लागि राष्ट्रिय टोलीका खेलाडीलाई साउन १७ सम्म काठमाडौ बोलाइसक्ने प्रवक्ता राइले जानकारी दिए।

सबै खेलाडी काठमाडौ आएपछि उनीहरुलाइ होटलमा राखिने जनाउँदै प्रवक्ता राइले साउनको २२ गतेदेखि २५ गतेसम्म खेलाडीहरुको पीसीआर परिक्षण गर्ने र २९ र ३० गते क्याम्पका लागि एन्फा होस्टलमा राखिने बताएका छन्।

त्यसअघि क्वारेन्टिनको रुपमा प्रयोग हुँदै आएको एन्फा होस्टललाइ स्यानिटाइज (निसंक्रमण) गरिने बताइएको छ।

एन्फाले राष्ट्रिय टोलीको तयारीका लागि मुख्य प्रशिक्षक स्विडेनका योहान कालिनलाई पनि नेपाल बोलाउने तयारी गरेको छ।

नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। नयाँ तालिकाअनुसार नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिनपछि २७ गते प्रतिस्पर्धा गर्नेछ।

कार्तिक २७ गते जोर्डनसँग खेल्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणको यात्रा समाप्त गर्नेछ।

Players training

यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रवक्ता कुलबहादुर थापाले विश्वकप छनोट र ओलम्पिक खेल्ने खेलाडी प्राथमिकतामा रहेको बताए। त्यसको लागि खेलाडीको पीसीआर परीक्षण गर्ने प्रक्रिया सुरु गरिसकेको बताए।

अहिले लकडाउन खुले पनि कोरोना भाइरसको सक्रंमणको जोखिम उस्तै रहेकाले खेलाडीहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गरेपछि मात्र प्रशिक्षण सुरु गर्ने राखेप प्रवक्ता थापाले बताए।

उनले भने, ‘कोरोना संक्रमण बिस्तारै कम हुँदै गएमा आगामी फागुनमा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको प्रशिक्षण सुरु गरिने छ।’

सरकारको अर्को निर्णय नआउँदासम्म तत्काल अन्य खेलले प्रशिक्षण सुरु गर्न परेको अवस्थामा सम्बन्धित संघले राखेपको स्वीकृति लिनुपर्ने थापाले बताए।

सरकारले खेलकुदका विषयमा अर्को कुनै निर्णय लिएको अवस्थामा भने राखेपको स्वीकृति लिनु नपर्ने उनले प्रष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .