कोरोना भाइरसको महामारीका कारण यसपटकको दसैँ विगतमा जस्तो खुलेर मनाउने अवस्था छैन। सरकारले पनि सकेसम्म अहिले जहाँ बसोबास छ, त्यहिँ नै दसैँ मनाउन अपिल गरेको छ।
चाडबाडमा हुने भिडभाडका कारण कोरोना संक्रमण अझै फैलन सक्ने डरका कारण सरकारले पटक पटक नागरिकलाई सचेत गराइरहेको हाे।
यहि कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली यू–१५ महिला फुटबल टोलीकी कप्तान प्रीति राई र उनको परिवारले दसैँ काठमाडौंमै मनाउने भएको छ।
सोलुखुम्बु स्थायी घर भएपनि प्रीति परिवारका साथ काठमाडौँको कपनमा बस्दै आएकी छन्। यसपटक काठमाडौंमै रहेर दसैँ मनाउने घर सल्लाह भैसकेको छ।
खेलका कारण विगतमा सोचे जसरी दसैँ मनाउन नपाएकी प्रीति यसपटक परिवारकै साथमा रहँदा भने दङ्ग छन्। गत वर्षको दसैँका बेला उनी भुटानमा थिइन्। उनको कप्तानीमा नेपाली टोली भुटानमा साफ यू–१५ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेको थियो।
‘गतवर्ष दसैँंको बेला हामी यू–१५ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका थियौं,’ उनले स्मरण गरिन्।
यसवर्ष भने झन्डै ८ महिनादेखि कोरोनाका कारण समाज र जीवनका हरेक पक्ष ठप्प प्रायः छन्।
खेलकुद प्रतियोगिताहरु ठप्पै छन्। प्रशिक्षण रोकिएका छन्। जसले गर्दा फिटनेसको समस्या देखिने जोखिमप्रति खेलाडीहरु चिन्तित छन्।
कोरोनाका कारण धेरैलाई गाह्रो परेको प्रीतिले पनि महसुस गरेकी छन्। कठिन परिस्थितिका कारण यसपटकको दसैँ सामान्य रुपमा परिवारसँग मनाउने तयारीमा उनी छन्।
‘यो वर्ष कोरोनाले गर्दा सबैलाइ गाह्रो छ, त्यसैले बाबा ममीले यहीँ परिवारबीच नै दसैँ मनाउने भन्नुभएको छ,’ उनले भनिन्, ‘अघिपछि घरमा राम्रोसँग समय दिन सकिदैनथ्यो त्यसैले अहिलेको यो अवस्थालाई परिवारसँग सदुपयोग गरिरहेकी छु।’
मैदान फर्कन आतुर भएपनि सरकारले अझै पनि खेलाडीलाई प्रशिक्षणको अनुमति दिइसकेको छैन। यस्तोमा प्रीतिले आफूलाई शारिरिकरुपमा फिट राख्न सक्दो प्रयास भने गरिरहेकी छन्। भन्छिन्, ‘बिहान सेल्फ ट्रेनिङ गर्छु। साँझ दाइहरुसँग खेल्छु।’
प्रीतिको खेलयात्रा
आठ वर्षकै उमेरबाट प्रीतिले फुटबल खेल्न सुरु गरेकी हुन्। तर, नेपालको उमेर समुहलाई कप्तानी गर्ने मौका नै मिल्ला भनेर उनले फुटबल खेल्न सुरु गर्दा सोच्ने विषय पनि भएन। गाँउमा हुँदा रमाइलोको लागि फुटबल खेल्ने गरेकी उनले युथ प्रोग्राममा प्रशिक्षण गर्ने मौका पाएकी थिइन्।
‘गाउँमा एउटा क्लब जस्तो छ। त्यहीँ गएर खेल्ने गर्थें। २०७३ सालमा उर्गेन शेर्पा दाईले कोकाकोला कप खेल्न लानुभयो,’ प्रीतिले नेपालखबरसँग आफ्नो सुरुवाती फुटबल यात्रा सम्झिन्, ‘त्यहाँ टोलीमा परेँ र राम्रो प्रदर्शन पनि गरेँ। जिल्ला हुदै क्षेत्रीय टोलीमा छनोटमा सहभागी भएँ। सातौं राष्ट्रिय खेलकुदका लागि क्षेत्रको टोलीमा पनि परेँ। तर त्यहाँ खेल्न भने पाइन।’
सातौं राष्ट्रिय खेलकुदमा खेल्न नपाउँदा नमज्जा लागेको उनलाई अहिले पनि सम्झना छ।
उनले स्मरण गरिन्, ‘मैले राम्रो गर्दा गर्दै पनी प्लेइङ सेटमा ठाउँ बनाउन सकिन।’
त्यसपछि पाल्पामा जिल्ला फुटबल प्रतियोगिता भएको थियो। त्यहाँको प्रदर्शनको आधारमा ३० जनालाई छनोट गरेर तीनवटा विभागीय टिम (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) मा पठाइने कुरा भयो।
‘म पनि त्यसभित्र पर्न सफल भएँ। तर पहिला भने जस्तो विभागमा पठाइएन,’ उनले सम्झिन्।
नियमित फुटबल खेल्न थालेको वर्ष दिनमा प्रीतिले महिला टोलीको उमेर समुहमा स्थान मात्र बनाइनन् टोलीको कप्तानी नै सम्हाल्ने मौका पाइन्।
मध्यक्रममा खेल्दै आएकी प्रीतिलाई २०७४ मा यू–१५ मा प्रवेश पाएपछि प्रशिक्षणमा राम्रो गरेको छु भन्नेमा ढुक्क थिइन्।
कप्तानकै जिम्मेवारीबारे भने उनले अपेक्षा गरिसकेकी थिइनन्। तर उनको कलिलो काँधमा छिटै जिम्मेवारी प्राप्त भयो।
‘कप्तान बनेपछि थप जिम्मेवारीको महसुस हुने रहेछ,’ उनले अनुभव सुनाइन्, ‘खेलाडी मात्र हुँदा आफ्नो प्रदर्शनमा मात्र ध्यान दिए पुग्छ। कप्तान भएपछि टोलीकै बारेमा सोच्नुपर्छ। अरुलाई पनि प्रोत्साहित गर्नुपर्छ।’
भुटानमा गतवर्ष भएको साफ च्याम्पियनसिप अघि नै २०७४ मा बगंलादेशमा भएको सोही प्रतियोगितामा पनि प्रीति टोलीको सदस्य थिइन्। उनले अहिलेसम्म ३ वटा यू–१५ प्रतियोगिता यू–१६, यू–१९ एएफसी फुटबल प्रतियोगिता र भुटानसँगको यू–१८ मैत्रीपूर्ण खेल खेलेकी छन्।
तीन अन्तराष्ट्रिय गोल गरेकी प्रीतीले यू–१६ एएफसी प्रतियोगितामा मलेसियाविरुद्ध गोल गरेकी थिइन्। गतवर्ष नेपालमा भएको भुटानसँगको मैत्रीपूर्ण खेलमा उनले दुई गोल गरिन्।
विभागको यात्रा
उमेर समुहमा उत्कृष्ट प्रदर्शन गरेकै कारण होला मैदानमा उनी जस्तै शक्तिशाली भनिएका विपक्षी टोलीसँग समेत डराउँदिनन्।
उनको प्रदर्शन र आत्मविश्वासकै कारण हुनसक्छ विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले उनलाई सम्झौतामा राखेको छ।
एपीएफमा आबद्ध भएको केहि समयमा नै कोरोना महामारीको कारण प्रतियोगिता हुन सकेन। जसका कारण एपीएफको जर्सीमा प्रतियोगिता खेल्ने उनको सपना अहिले पुरा हुन सकेको छैन।
राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको एपीएफमा स्थान बनाउन आफूलाई निकै गाह्रो पर्ने अनुमान उनलाई पनि नभएको होइन।
राष्ट्रिय टोलीकी मुख्य स्ट्राइकर साबित्रा भण्डारी (साम्बा), मिडफिल्डर अनिता बस्नेत, राष्ट्रिय टोलीकी कप्तान रेणुका नगरकोटी लगायत एपीएफका मुख्य खेलाडी भएकाले त्यहाँ आफ्नो स्थान बनाउन निकै परिश्रम गर्नुपर्ने हेक्का उनलाई छ।
तर उनी दृढ हुँदै भन्छिन्, ‘नेसनल टिमका दिदीहरु टिममा भएकाले आफ्नो ठाँउ बनाउन धेरै गाह्रो छ। धेरै मेहनत गर्नपर्छ। म त्यसका लागि तयार छु। आफ्नो तर्फबाट पुरा प्रयास गर्नेछु।’
एपीएफको जर्सीमा प्रतियोगिता खेल्न अझै केहि समय कुर्नुपर्ने हुनसक्छ। तर सिनियर खेलाडीहरुसँग उनले प्रशिक्षण भने गरिसकेकी छन्।
‘फरमेसन चेन्ज गरेर दिदीहरुसँग प्रशिक्षण गर्न सुरुमा गाह्रो भयो। विस्तारै माहोल बुझ्दै गएँ अनि केहि सहज हुँदै गयो,’ एपीएफको प्रशिक्षण अनुभव साट्ने क्रममा प्रीतिले भनिन्, ‘गीता दिदी, साम्बा दिदी, शशी दिदी बोलेर खेल्नु हुन्छ।’
सुरुमा प्रशिक्षणमा केन्द्रित हुने र त्यसपछि प्लेइङ सेटका लागि प्रयास गर्ने उनको लक्ष्य छ। क्लबमा उच्च प्रदर्शन गर्दै सिनियर राष्ट्रिय टोलीको जर्सी लगाउने उनको अर्को सपना छ। कप्तान रेणुकालाई रोलमोडल मान्ने प्रीति उनैसँग खेल्न पाउने सम्भावनाको नजिक पुगेकी छन्।
खेलेर बाँच्न सकिन्छ
अन्य खेलमा जस्तै फुटबलमा पनि महिला र पुरुष खेलाडीबीच पुरस्कार राशी र पारिश्रमिक दुवैमा विभेद छ। राष्ट्रिय फुटबल टोलीमा रहेका पुरुष टोलीले मासिक १५ हजार रुपैयाँ पारिश्रमिक पाउँदा महिला खेलाडीले ७ हजार रुपैयाँमा चित्त बुझाउनुपर्ने अवस्था छ।
खेलेर बाच्न गाह्रो हुने भन्दै खेलाडीहरु विदेशिने क्रम जारी रहेका बेला प्रीति भने खेलेर पनि जीवन निर्वाह गर्न सकिने सम्भावना देख्छिन्।
‘साम्बा दिदीले राम्रो फुबटल खेलेकै कारण देशबाहिर गएर खेल्ने मौका पाउनुभयो,’ आशावादी हुँदै उनले भनिन्, ‘दिदीले जसरी नै ध्यान दिने हो भने खेलेर बाच्न गाह्रो पर्दैन।’
सुरुवाति दुई सिजन फुटसल खेल्न माल्दिभ्स गएकी साम्बा पछिल्लो दुई सिजन भारतीय लिग टोलीमा आबद्ध भएकी थिइन्।
महिलातर्फका पनि बढीभन्दा बढी प्रतियोगिता आयोजना गरिनुपर्ने उनको सुझाव छ। महिला खेलाडीको प्रशिक्षण र लगानी बढाउनुपर्नेमा जोड दिदै प्रीति भन्छिन, ‘विनालगानी र प्रशिक्षण नतिजा खोज्नु खेलाडीमाथि दबाब दिनु मात्रै हुनेछ।’
प्रतिक्रिया