पारस खड्काले गतवर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी त्याग्दा नेपाल क्रिकेट संघ(क्यान)ले उनको उत्तराधिकारीका रुपमा ज्ञानेन्द्र मल्ललाई नै सबैभन्दा उपयुक्त ठान्यो।
पारसले दश वर्ष कप्तानी गर्दा उपकप्तानको भूमिका ज्ञानेन्द्रले नै निभाएका थिए। अर्कातिर टोलीका सिनियर खेलाडी पनि भएकाले क्यानले निर्विवाद रुपमा ज्ञानेन्द्रलाई नै नयाँ कप्तान चुन्यो।
अर्कातर्फ पारसले पनि आफूपछिको नेतृत्वका लागि ज्ञानेन्द्र नै उपर्युक्त पात्र भएको भन्दै उनका पक्षमा माहौल समेत जुटाएका थिए।
सोही परिस्थितिमा ज्ञानेन्द्रले नेपाली क्रिकेट टोलीको नवौं कप्तान नियुक्त भएको शुक्रबार एक वर्ष पूरा भएको छ।
एक दशक लामो पारसको उत्तराधिकारको रुपमा कप्तानी सम्हाल्नु ज्ञानेन्द्रका लागि जति अवसर थियो, त्योभन्दा बढी चुनौतिपूर्ण पनि।
पारसको कप्तानीमा नेपाली क्रिकेटले धेरै सफलता हात पारेको थियो। विश्व क्रिकेट लिग डिभिजन ५ मा रहेको नेपाली क्रिकेट पारसकै नेतृत्वमा डिभिजन १ सम्म पुग्यो। सन् २०१४ को टि–ट्वान्टी विश्वकप खेल्यो। पारसकै कप्तानीमा दुई वर्षअघि नेपालले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्यो।
पारस दिलाएका यही सफलतालाई अघि बढाउने जिम्मेवारी ज्ञानेन्द्रको काँधमा आएको थियो। अर्कातिर खराब लयमा गुज्रिरहेका उनलाई व्यक्तिगत प्रदर्शन सुधार्नुपनि चुनौती थियो।
ज्ञानेन्द्रले कप्तानी सम्हालेको एक वर्ष पुरा हुँदा उनको कार्यकालको मुल्याङ्कन गर्न यो अवधि पर्याप्त हो की होइन? बहस सुरु भएको छ।
यो बीचमा नेपालले जति प्रतियोगितामा भाग लियो त्यसको आधारमा कप्तानीको जिम्मेवारी कसरी निर्वाह गरे भनी मुल्याङ्कनको एउटा आधार भने हुन सक्दछ।
पछिल्लो एक वर्षमा झन्डै ८ महिनायता क्रिकेट टोलीले कुनै प्रतियोगितामा सहभागी हुन पाएको छैन। कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि विश्वमै क्रिकेट गतिविधि ठप्पै भए। अहिले अन्य देशमा क्रिकेट गतिविधि विस्तारै जुर्मुराए पनि नेपालमा भने अझै सुरु हुन सकेको छैन।
त्यसैले अहिले नै ज्ञानेन्द्रको मुल्याङ्कन गर्नु उचित नहुने धेरैको बुझाइ छ।
क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल पनि ज्ञानेन्द्रको कप्तानीको मुल्याङ्कन गर्ने समय नभएको बताउँछन्।
‘उनको कप्तानीमा धेरै खेल नै हुन नपाएकोले अहिले नै मूल्याङ्कन गर्न सकिन्न,’ उनले भने, ‘कोरोना महामारीकै कारण उनले कप्तानी सम्हालेपछिको अधिकांश समय खेल गतिविधिबिना नै खेर गएको हुँदा अहिले सफल वा असफल भन्न सकिन्न।’
कप्तान कति सफल वा असफल भन्ने मूल्याङ्कन गर्ने मुख्य आधार प्रतियोगिताहरुमा प्राप्त उपलब्धी नै हो।
त्यसअर्थमा पारस नेपाली क्रिकेटका सफल कप्तान मानिन्छन्। यद्यपी पारसभन्दा अघिल्लो कप्तानहरुको नेतृत्वमा नेपाली क्रिकेटले त्यो सफलताका लागि राम्रो आधारभूमि तयार पारेको थियो।
उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दासको नेतृत्वमा अघि बढेको नेपाली क्रिकेटलाई पारसले एक दशक कप्तानी गर्ने मौका पाएका थिए।
पारसले स्वेच्छिक रुपमा कप्तानी छाडेपछि ज्ञानेन्द्र त्यसको स्वभाविक हकदार बनेका थिए।
उनको पूर्ण कप्तानीको सुरुवाती ४ महिनामा नेपालले ५ वटा छुट्टाछुट्टै प्रतिस्पर्धामा भाग लिएको थियो।
ज्ञानेन्द्र कप्तान भएसँगै नेपालले इंग्ल्याण्डको पूरानो क्लब एसीसीसँग एकदिवसीय खेल खेल्यो। नेपाल भ्रमणमा आएको एमसीसीविरुद्धको खेलमा ५ विकेटको जित हात पारे पनि लगत्तै भएको प्रथम श्रेणीको क्रिकेटमा नेपाल २०८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
बंगलादेशमा गत नोभेम्बरमा भएको एसीसी इमर्जिङ टिम्स कपमा उनकै कप्तानीमा खेलेको नेपाल समूह चरणभन्दा अघि बढ्न सकेन।
त्यसपछि गतवर्ष मंसिरमा स्वदेशमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना भयो। त्यसमा ज्ञानेन्द्रको कप्तानीमा नेपालले कास्य पदक प्राप्त गर्यो।
माघमा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँगको २ खेल हारे पनि अमेरिकासँगको दुवै खेल जितेको थियो।
उनको कप्तानीमा नेपालले पछिल्लो पटक फागुनमा सिंगापुरमा भएको एसीसी इस्टर्न रिजन ट्वान्टी–२० प्रतियोगिता खेलेको थियो।
जसमा खराब प्रदर्शन गरेको नेपाल चौथो स्थानमा रहेर घर फर्कदा टेस्ट राष्ट्रसँग एसिया कप खेल्ने नेपालको सपना तुहिएको थियो।
क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास पनि ज्ञानेन्द्रको कप्तानीको समिक्षा गर्ने समय आइनसकेको बताउँछन्।
पारसले छाडेपछि ज्ञानेन्द्र टोलीको कप्तान हुनु स्वाभाविक थियो। कप्तानको परिवर्तनपछि टोलीमा केही परिवर्तन हुनु स्वाभाविक हो।
‘पछिल्लो एक वर्षमा नेपालले धेरै खेल नखेलेकोले अहिले ज्ञानेन्द्रको मुल्याङ्कन गर्न मिल्दैन,’ दासले भने, ‘ज्ञानेन्द्रको कप्तानीमा केही कमी कमजोरी र कठिनाइ त देखिएको छ तर त्यसमा उनलाई अहिले नै दोष लगाइहाल्न मिल्दैन।’
ज्ञानेन्द्र कप्तान भएको एक वर्ष मात्र भएपनि त्यसअघि समेत उनले बेलाबेला कप्तानीको जिम्मेवारी निर्वाह गर्ने गरेका थिए।
२०१४ को विश्वकप छनोटमा यूएईविरुद्धको पहिलो खेलमा पारस घाइते भएपछि स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा ज्ञानेन्द्रले नेतृत्व गरेका थिए।
पारस अस्वस्थ हुँदा २०१७ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेलमा पनि ज्ञानेन्द्रले नै कप्तानी सम्हालेका थिए।
कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा ५ विकेटले पराजित नेपालले अर्को खेल ७ विकेटले जितेको थियो।
त्यही वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कप यस्तो प्रतियोगिता थियो, जहाँ ज्ञानेन्द्रले एउटा प्रतियोगिता भरि नै पहिलोपल्ट कप्तानी गरेका थिए।
त्यही प्रतियोगितामा पाकिस्तान र बंगलादेशको यू–२३ टोलीसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
पूर्ण कप्तान बनेपछि ज्ञानेन्द्रले आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि केहि सुधार पनि गरेका छन्। तर, उनीबाट जति अपेक्षा गरिएको छ, त्यसमा खरो उत्रन भने अझै सकेका छैनन्। कप्तानीका रुपमा उनको पूर्ण मुल्याङ्कन गर्न भने केहि समय कुर्नैपर्ने देखिन्छ।
Shares
प्रतिक्रिया