भारतीय भूमिमा क्रिकेट सिकेर स्वदेश फर्केका अधिकांश खेलाडीले राम्रो प्रभाव छाड्ने गरेका छन्। शक्ति गौचन, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, सुनिल धमला त्यस्ता केही उदाहरण हुन्।
भारतमै क्रिकेट सिकेर नेपाल आएका अर्का एक किशोरले नेपाली क्रिकेटमा उदाउने संकेत देखाएका छन्। हुन त उनले आफूलाई स्थापित गर्न बाँकी नै छ र अहिले नै उनीबारे निचोडमा पुग्नु हतारको निष्कर्ष पनि हुनसक्छ।
तर कलिलो उमेरमा अर्जुन कुमालको प्रदर्शनले भने धेरैको ध्यान जबर्जस्त रुपमा तानेको छ।
गुल्मी स्थायी घर भएका अर्जुन भर्खर १५ वर्षमा टेकेका छन्। मेघबहादुर र विष्णु कुमालका छोरा अर्जुनको जन्म भारतमै भएको हो। उनका हजुरबुबा र हजुरआमा भने गुल्मीमै छन्। नयाँ दिल्लीमा हुर्केका अर्जुनले क्रिकेट खेल्न सुरु गरेकै ७ वर्ष भइसकेको छ।
उमेर समुहमा गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिरहेका अर्जुनले काठमाडौमा शुक्रबार सुरु भएको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमै धेरैको ध्यान खिचे।
त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दै राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका अर्जुनले ३६ रन बनाएका थिए। दीपेश खत्रीसँग ओपनिङ गरेका अर्जुनले ५६ बल खेल्दै ६ चौका प्रहार गरे।
२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीले खेल त जितेन तर अर्जुनले भने धेरैको मन जिते। उनले आफूमा रहेको सम्भावनालाई केहि हदसम्म उजागर गर्ने मौका पाए।
पहिलो चौका हानेपछि आत्मविश्वास बढेको र डेब्यु खेलमै राम्रो गर्न सकेको उनको अनुभूति छ।
‘राष्ट्रिय प्रतियोगितामा पहिलो पटक ब्याटिङ गर्न पाउँदा निकै खुसी लाग्यो,’ खेलपछि अर्जुनले भने, ‘पीएम कपमा पहिलो पटक आफ्नो नाम आउँदा एकदमै खुसी लाग्यो। रन बनाउने र ५० ओभर खेल्ने भनेर क्रिजमा गएको थिएँ। बाँकी खेलमा पनि प्लेईङ सेटमा परेँ भने धेरै रन बनाउने प्रयास गर्नेछु।’
पीएम कपको गण्डकी प्रदेश छनोटमा अर्जुन ब्याट्सम्यानको रुपमा उत्रेका थिए। छनोट खेलमा राम्रो गरे।
‘सिनियर लेभलमा खेल्दा आत्मविश्वास बढेको छ,’ उनले भने, ‘इण्डियामा गरेको मेहनतले पनि राम्रो गर्न सके जस्तो लाग्छ।’
यो प्रतियोगतामा धेरै रन बनाउन सके थप मौका पाउनका लागि आधार तयार हुन्छ भन्ने उनलाई लागेको छ।
उमेर समूहमै अब्बल
अर्जुनले नयाँ दिल्लीको बालभवन इन्टरनेसल स्कुल द्वारिकामा क्रिकेटको आधारभूत कुरा सिकेका हुन्।
‘सात–आठ वर्षको हुँदा नै पापाले मलाई क्रिकेट सिकाउन लानुभएको थियो,’ उनले सम्झे।
नेपाली अन्डर–१६ टोलीका कप्तान विशाल बिक्रम केसी र अर्जुनले एउटै स्कुलबाट क्रिकेट सिकेका हुन्। दुई वर्षअघि दिल्लीबाट पोखरा पुगेर उनले छनोट प्रतियोगितामा भाग लिएका थिए।
प्रशिक्षक राहुल शर्मामार्फत उनले छनोट हुँदैछ भन्ने थाहा पाएका थिए।
अन्डर–१६ छनोट खेलमा गण्डकी प्रदेशबाट खेलेका उनको टोली समूह चरणबाटै बाहिरिएको थियो। तर अर्जुन प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए।
थाइल्याण्डमा भएको अन्डर–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटको रुपमा हेरिएको सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अर्जुनले प्रारम्भिक छनोट हुँदै अन्तिम टोलीमा स्थान बनाएका थिए। इस्टर्न रिजन यू–१६ प्रतियोगितामा राम्रो छाप छाड्न उनी सफल भए।
राष्ट्रिय टोलीबाट खेल्ने सपना
अन्डर–१६ पछि अब अन्डर–१९ हुँदै सिनियर राष्ट्रिय टोलीबाट खेल्ने उनको सपना छ। त्यहिअनुसार आफूले मेहनत गर्ने उनको योजना छ।
स्पिनर सन्दीप लामिछाने उनका मनपर्ने खेलाडी हुन्। अन्तर्राष्ट्रिय स्तरमा भने भारतीय टोलीका पूर्वकप्तान सचिन तेन्दुलकर र कप्तान विराट कोहलीको खेल उनलाई राम्रो लाग्छ।
व्यावसायीक क्रिकेटमा भने उनले रोयल च्यालेन्जर्स बेंगलोरबाट इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने सपना देखेका छन्।
‘यू–१६ र राष्ट्रिय प्रतियोगितामा खेल्ने लेभल धेरै फरक रहेछ,’ अर्जुनले आफ्नो अनुभव सुनाए, ‘त्यसैले मेहनत पनि उत्तिकै गर्नुपर्ने हुन्छ। राष्ट्रिय टोलीका खेलाडीसँग खेल्दा एकदमै खुसी लागेको छ।’
Shares
प्रतिक्रिया