अन्तर्राष्ट्रिय महिला फुटबलमा देशकै लागि सर्वाधिक ३८ गोल गरेकी सावित्रा भण्डारी साम्बा महिला राष्ट्रिय लिग हुनुअघि दंग थिइन्।
त्यसका केहि विशेष कारण थिए। घरेलु महिला फुटबल प्रतियोगिताहरुमा सशस्त्र प्रहरीको एपीएफ क्लब सदावहारको दाबेदार हो। राष्ट्रिय टोलीका थुप्रै खेलाडी आबद्ध रहेको क्लब निकै सशक्त टोली मानिन्छ।
सो टोलीको सफलताको मुख्य आधार त्यहि नै मानिन्छ। त्यसमा पनि टोलीको सबैभन्दा केन्द्रमा रहन्छिन् साम्बा।
टोलीलाई उपाधि जिताउने, सके सर्वाधिक गोलकर्ता बन्ने र पहिलो पटक दशरथ रंगशालामा खेल्ने साम्बाका इच्छा थिए। उनको टोली दुई खेलअघि नै च्याम्पियन बन्यो।
४३ गोलसहित उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन्। लिगकै उत्कृष्ट फरवार्डको व्यक्तिगत पुरस्कार पनि जितिन्। तर, दशरथ रंगशालामा खेल्ने उनको धोको भने यसपटक पनि पूरा हुन सकेन।
उनको टोलीले अन्तिम खेल सो रंगशालामा खेल्ने तय भएकोमा उनी त्यसअघि नै घाइते भइन्। देशकै लागी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेकी साम्बाले नेपालको मुख्य रंगशालामै भने अहिलेसम्म कुनै प्रतियोगितामा खेल्न पाएकी छैनन्।
कारण थियो– फागुन ३ गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनको घुँडामा लागेको चोट। चोट समान्य थिएन। एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल), मिनिस्कससहित अन्य चोट पनि लागेको बताइएको छ।
फेरि मैदानमा उत्रनका लागि उनको घुँडाको शल्यक्रिया गर्नुको विकल्प छैन। शल्यक्रियाका लागि अहिले उनी नियमित फिजियो गरिरहेकी छिन्।
लिगका अन्तिम दुई खेल गुमाएकी साम्बाले ती खेल हेर्न वैशाखीको सहारामा खेल मैदान पुगिन्। विपक्षी पोष्टमा दर्जन बढी गोल हान्दै अघि बढेको एपीएफले साम्बा नभएको विराटनगरविरुद्धको खेलमा गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो।
अघिल्लो खेलमा घाइते भएकी साम्बाको अभाव त्यो खेलमा प्रष्टै झल्किन्थ्यो। यद्यपी त्यो खेलअघि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले १–१ को बराबरी खेल्दा एपीएफको उपाधि पक्का भइसकेको थियो।
उपाधिका लागि त्यो नतिजा महत्वपूर्ण थिएन। तर साम्बाबिना फराकिलो जित हासिल गर्न नसक्दा टोलीका अन्य खेलाडीमा केहि दबाब भने पक्कै पर्ने थियो। तुलनात्मक रुपमा आर्मीविरुद्धको खेलमा भने एपीएफको जित ३–० को सहज रह्यो।
महिला लिग एपीएफको योजनाअनुरुप नै सम्पन्न भयो। टोली च्याम्पियन बन्यो। सरु लिम्बु लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिइन्। साम्बा उत्कृष्ट फरवार्ड भइन्। तर, त्यो उत्कृष्ट फरवार्डको पुरस्कार ग्रहण गर्दा र उपाधि उचाल्दा भने साम्बाले वैशाखीको सहारा लिनुपर्यो।
टोलीलाई उपाधि दिलाउने लक्ष्य पूरा गरेकी साम्बालाई आफ्नै खेल जीवनबारे नयाँ चिन्ता सुरु भएको छ। घुँडामा गम्भीर चोट लागेपछि फेरि पूरानै अवस्थामा मैदान फर्कन सक्छु कि सक्दिन भन्ने चिन्ता उनीसामु तेर्सिएको छ।
खेलाडीहरुका अनुसार आर्मीविरुद्धको खेलको सुरुवातमा ड्रेसिङ रुममा साम्बाले खेलाडीको हौसला बढाउँदै थिइन्। त्यतिबेला अरु खेलाडीका आँखा रसाएका थिए। साम्बालाई पनि खेलाडीले खेल्न नपाएको पीडा बिर्साउने प्रयास गरिरहेका थिए। अन्तिम खेलपछि सबै खेलाडीले साम्बालाई मैदानमा निकै ख्याल गरिरहेको दृष्यले धेरैलाई भावुक बनाएको थियो।
लिग सकिएपछि एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले पछिल्ला दुई खेलमा साम्बाको अभाव महसुस गरिएको बताइन्।
‘गोलका लागि हाम्रो मुख्य खेलाडी नै साम्बा हो त्यसैले उनको अभाव खड्कियो,’ थापाले भनिन्, ‘उपाधि जित्यौं त्यसमा सबै खुसी छौं तर साम्बा र हिरा भुजेलजस्ता महत्वपूर्ण खेलाडी घाइते हुँदा खल्लो भयो।’
सुरुमै घाइते भएकी हिराले चोटका कारण १२ मध्ये १० खेल गुमाइन्।
‘लिगको सुरुवात जसरी गरेका थियौं, अन्त्य त्यस्तै सुखद हुन पाएन,’ थापाले भनिन्, ‘यद्यपी उपाधि उचाल्दा साम्बा र हिरासँगै थिए, त्यसमा खुसी छौं।’
चोटले निराश भएकी साम्बाले टोलीले उपाधि जित्दा भने आधा चोट निको भएजस्तो महसुस गरेको बताइन्।
‘कोभिड–१९ का कारण हाम्रो प्रशिक्षण लामो समय हुन सकेन। लिग हुने भएपछि भने हामीले निकै मेहनत गरेका थियौं,’ साम्बाले भनिन्, ‘अहिले चोटका कारण मेरो खेल जीवनकै ठुलो धक्का लागेको छ।’
तर, उपाधि जित्दा ५० प्रतिशत चोट ठिक भए जस्तो लागेको उनको भनाइ छ।
‘टाइटल जित्दा सबै खुसी थिए। खुसी हुनु हाम्रो हक पनि थियो,’ उनले थपिन्, ‘तर मेरो चोटका कारण सबै खेलाडी रोएका थिए। मेरो चोटले टिमलाई समेत कति दुःख लागेको छ भन्ने बुझेँ।’
एकवर्ष मैदानबाहिर
खेलाडीका लागि चोट खेल जीवनकै एउटा पाटो हो। तर कतिपय यस्ता चोट हुन्छन् जसको उपचार राम्रो हुन नसक्दा खेल जीवनकै अन्त्य पनि हुन सक्छ।
क्लबलाई च्याम्पियन बनाउने लक्ष्य पूरा गरेकी साम्बाका लागि अब आफ्नो उपचार कस्तो हुन्छ भन्ने नै मुख्य चिन्ता देखिन्छ। दायाँ घुँडामा जटिल समस्या देखिएपछि त्यसको राम्रो उपचार भई पूर्ववत् अवस्थामा खेलमा फर्किन सक्छु कि सक्दिन भन्ने चिन्ता उनमा देखिएको हो।
कम्तिमा एक वर्ष उनी मैदानबाहिर रहने बताइएको छ। शल्यक्रिया गर्नका लागि पनि पहिला घुँडालाई निश्चित डिग्रीसम्म खुम्च्याउन मिल्ने अवस्थामा ल्याउनुपर्ने बताइएको छ। अहिले उनी फिजियोथेरापिष्ट नवीना श्रेष्ठसँग नियमित फिजियोथेरापी गराइरहेकी छिन्।
शल्यक्रिया र त्यसपछि गरिने फिजियोथेरापीबाट प्राप्त हुने नतिजा नै आउने दिनमा उनका लागि महत्वपूर्ण हुने बताइएको छ। खेलाडीको हकमा शल्यक्रियापछि गरिने फिजियोथेरापी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अब उनी पुरानै अवस्थामा खेलमा फर्किनका लागि उनको निको हुने क्रम कस्तो देखिन्छ त्यसमा भर पर्ने बताइएको छ।
खेलाडीको जीवनमा चोट लाग्नुलाई साम्बा सामान्य मान्छिन्। तर यति गम्भीर चोटबारे भने आफूले कल्पना नगरेको सुनाईन्।
‘चोट लाग्नु खेलाडीको जीवनको एउटा नियमित कुरा जस्तै हो। तर चोट यति ठूलो होला भन्ने लागेको थिएन तर पनि सहज रुपमै लिएको छु,’ उनले थपिन्, ‘लिगकै समयमा घाइते भएँ जसले गर्दा टोलीमाथि केहि दबाब पर्यो। अहिले नियमित फिजियो गराइरहेको छु। अवस्था पहिलेभन्दा सहज हुँदै गइरहेको छ।’
कोरोना महामारीकै कारण राष्ट्रिय महिला टोलीले खेल्ने अन्तराष्ट्रिय खेलको क्यालेन्डर अहिलेसम्म सार्वजनिक भएको छैन। त्यसैले एक वर्ष मैदानबाहिर रहनुपर्दा साम्बाले कुन कुन प्रतियोगिता गुमाउनेछिन् भन्ने टुङ्गो भइसकेको छैन। केहि वर्षदेखि उनी सहभागी हुँदै आएको भारतीय महिला लिग भने उनले गुमाउने निश्चित भएको छ।
कतारमा उपचार
साम्बाको चोटको गम्भीरता र उनको उपचारबारे सम्बन्धित निकाय गम्भीर भएको पाइन्छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले साम्बालाई फोन गरेरै चिन्ता नलिन र एन्फाले उपचारको व्यवस्था मिलाउने बताएपछि उनी अहिले ढुक्क भएकी छिन्।
लिगको समापनका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले एन्फा र राखेपले मिलेर साम्बाको उपचारका लागि कतार पठाउने पहल गरिएको घोषणा गरे। जसबाट साम्बामात्र नभई खेलाडीहरुको वृत्तमै सकारात्मक सन्देश गएको छ।
एन्फा अध्यक्ष शेर्पाले साम्बा जारी लिगमा घाइते हुँदा राष्ट्रिय टोलीलाई ठूलो क्षति पुगेको बताएका थिए।
उनले सावित्राको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाट सक्रिय रहने भनी सामाजिक सञ्जालमार्फत् नै प्रतिबद्धता व्यक्त गरेका थिए।
उनको चोटबाट स्तब्ध भएको खेल क्षेत्र र साम्बाका फ्यानहरुमा अहिले उनको उपचारका लागि जुटेको साथ समर्थन र सक्रियताबाट भने केहि उत्साह थपिएको छ।
घाइते भएका खेलाडीको उपचार राम्रो हुन नसक्दा कतिपय खेलाडी खेलमा फर्कन समेत सकेका छैनन्। राम्रो उपचार पाएका रोहित चन्द लगायतका केहि खेलाडी भने उपचारपछि झनै सशक्तरुपमा खेलमा ‘कमब्याक’ गरेका उदाहरण पनि छन्। नेपालको गोल मेसिन भनेर चिनिने साम्बाको हकमा पनि अहिले धेरैको त्यहि कामना रहेको छ।
प्रतिक्रिया