नेदरल्याण्ड्सलाई फाइनलमा १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा भएको पहिलो त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि उचाल्यो।
कोरोना महामारीबीच भएको पहिलो शृंखलामा नेपाली टोलीलाई उपाधि दिलाउन युवा खेलाडीहरुको भूमिका प्रमुख रह्यो। शृंखला मार्फत ४ युवा खेलाडीले डेब्यु गरे।
डेब्यु गरेका ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी प्रर्दशन गरे भने अन्य खेलाडीको उत्कृष्ट व्यक्तिगत प्रदर्शन मद्दतमा नेपालले यो उपलब्धी हासिल गर्यो।
घरेलु मैदानमा पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेलेको यो नै पहिलो त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हो। क्यानको आमन्त्रणलाई मलेसिया र नेदरल्याण्ड्सले स्वीकारेसँगै यो सम्भव भएको हो। समग्रमा नेपालले तेस्रो पटक त्रिकोणात्मक सिरिज खेलेको हो।
नेपालले पहिलो त्रिकोणात्मक सिरिज २०१८ मा लर्डस मैदानमा मेरीलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेलेको थियो। नेपालले दोस्रो टी- ट्वान्टी त्रिकोणात्मक सिरिज गतवर्ष सिंगापुर र जिम्बावेविरुद्ध खेलेको थियो।
नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी- ट्वान्टी विश्वकपसँगै टी–२० अन्तर्राष्ट्रियको मान्यता मान्यता पाएको थियो। नेपालले आफ्नो पहिलो टी–२० आई सिरिज हङकङसँग श्रीलंकामा खेलेको थियो।
नेपालले २०१५ मा नेदरल्यान्ड्सँग उसकै घरेलु मैदानमा चार टी–२० आई सिरिज खेलेको थियो। सो सिरिज नेपालले ३–१ ले गुमाएको थियो।
उक्त सिरिजपछि आयरल्यान्ड र स्कटल्यान्डमा भएको टि–२० विश्वकप छनोट खेलेको नेपालले खराब प्रदर्शन गरेसँगै टी–२० आई मान्यता पनि गुमेको थियो। २०१८ मा ओडिआई मान्यता पाएसँगै टी–२० आई पनि फर्किएको थियो। २०१९ भने आइसिसीले सबै आफ्ना सदस्य राष्ट्रलाई टी–२० आई मान्यता दिएको थियो। नेपालले पहिलो टी–२० सिरिज २०१८ मा यूएईलाई २–१ ले हराउँदै जितेको थियो।
नेपालले घरेलु मैदानमा पहिलो टि–२० आई खेल गतवर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानसँग खेलेको थियो। उक्त खेलमा नेपालले आफ्नो टि–२० आई इतिहासकै सर्वाधिक २ सय ३६ रन जोडेको थियो। सागमा नेपाल, माल्दिभ्स र भुटानको खेलले टी - २० आई मान्यता पाएको थियो।
नेपालले घरेलु मैदानमा पहिलो ओडिआई त्रिकोणात्मक सिरिज भने खेलि सकेको छ।
शतकीय साझेदारी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले विश्व टी–ट्वान्टी आई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाए।
नेदरल्यान्ड्सविरुद्ध १२.४ ओभरमा १ सय १६ रनको साझेदारी कुनै पनि दुई डेब्यू खेलाडीले गरेको पहिलो शतकीय साझेदारी थियो। जुन नेपालबाट टि–२० आईमा ओपनिङमा बनेको सर्वाधिक ठूलो साझेदारी पर्दछ।
टी–२० आईमा दुई डेब्यू खेलाडीले बनाएको उच्च रन ९० थियो। मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए। जुन साझेदारी कुशल र आसिफले तोडेका थिए। तेस्रो स्थानमा दक्षिण अफ्रिका ग्रिम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए।
त्यस्तै दोस्रो खेलमा मलेसियाविरुद्ध ११.१ ओभरमा १ सय २ रनको उत्कृष्ट साझेदारी गरेका थिए। जुन नेपालबाट मात्र नभई टि२० विश्व क्रिकेटमा लगातार दुई खेलमा दुई शतकीय साझेदारी पहिलो पटक बनेको हो।
कुशल पहिलो खेलमा ६२ रनमा आउट हुँदा मलेसियासाग ६१ रनमा अविजित रहेका थिए। आसिफ पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५४ रनमा अविजित रहँदा दोस्रो खेलमा ४२ रनमा आउट भएका थिए।
यसअघि सन् २०१० मा केन्याका ओपनर डेविड ओबुया र स्टिभ टिकलोले स्कटल्यान्डसँग १ सय १० र युगान्डासँग १ सय २६ रनको दुई शतकीय साझेदारी गरेका थिए। तर ती खेल लगातार भने थिएन।
कुशलको लगातार अर्धशतकीय कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले विश्व टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ दुर्लभ कीर्तिमान कायम गरे।टि–२० आइमा नेपालबाट लगातार तेस्रो अर्धशतक पुरा गर्ने कुशल एक्ला खेलाडी हुन्।
सिरिजका तीन खेलमा लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका कुशल आइसीसी टि–ट्वान्टी वरियतामा पहिलो पटक स्थान बनाएका छन्। कुशल ब्याटिङतर्फ ९३ औं स्थानमा छन्।
मंगलबार नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतकका साथ कुशल भुर्तेल डेब्यू खेलपछिका सुरुवाती तीनै खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने। कुशलले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध भएको टि–२० आईमा डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा अविजित हुँदा मंगलबार नेदरल्यान्ड्ससँग ६२ रनको इनिङ खेल्दै दुर्लभ कीर्तिमान कायम गरेका हुन्।
कुशलले एकै सिरिजमा ४ अर्धशतक पुरा गर्ने कीर्तिमानी पनि आफ्नो नाममा गरेका छन्। नेदरल्याण्ड्ससँगको फाइनल खेलमा कुशलले १३ ओभरको चौथो बलमा अर्धशतक पुरा गरेका हुन्। उनले ४३ बलमा अर्धशतक हानेका थिए। फाइनल खेलमा उनले ७७ रनको महत्वपूर्ण योगदान दिए। ५३ बलको सामना गरेका कुशलले ८ चौका र ३ छक्का हाने।
यसअघि टी–२० आईमा यस सफलता कुनैपनि खेलाडीले पाउन सकेका छैनन्। करिअरको सुरुवाती दुई टी-२० आई खेलमा लगातार अर्धशतक इंग्ल्यान्डका ब्याट्सम्यान डेविड मलानले बनाएका थिए। मलानले दक्षिण अफ्रिकाविरुद्ध २०१७ मा टि–२० आईमा डेब्यू गर्दै ७८ रनको इनिङ खेलेका थिए। दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध ५० रन बनाएका थिए।
टी–२० क्रिकेटमा भने लगातार अर्धशतक प्रहार गर्ने कीर्तिमान वेस्टइन्डिजका क्रिस गेल र न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डम म्याकुलमको नाममा छ। गेल र म्याकुलमले टि–२० आईमा लगातार चार अर्धशतक प्रहार गरेका छन्।
सर्वाधिक विशाल योगफल
त्रिदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य विशाल प्रस्तुत गरेको थियो। ओपनर कुशल भुर्तेल, अलराउण्डर कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरिले उच्च प्रर्दशन गर्दा नेपाल विशाल योगफल तयार पार्न सफल भएको हो।
यो लक्ष्य नेपालले टि ट्वान्टी क्रिकेटमा कुनैपनि टोलीलाई दिएको पहीलो सर्वाधिक विशाल योगफल हो।
नेपालले यसअघि घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले भुटानसामु २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो। योभनदा अघि त्यो नै नेपालको सर्वाधिक विशाल योगफल थियो।
ऐरीको पहिलो अर्धशतक
त्रिकोणात्मक सिरिज मार्फत राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरे। काठमाडौमा जारी तीन देश सम्मिलित सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा उपकप्तान ऐरीले अर्धशतक प्रहार गरेका हुन्। नेदरल्याण्ड्स्विरुद्धको खेलमा ऐरि ६० रनको योगदान दिदै पवेलियन फर्केका थिए।
उपकप्तान ऐरीले २८ बलमा ३ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरे। यसअघि ऐरीले सन् २०१९ मा युएईविरुद्धको खेलमा सर्वाधिक ४७ रन जोडेका थिए।
सिरिज मार्फत नै उपकप्तान दीपेन्द्रसिंह ऐरीले टि–२० आई खेलमा आफ्नो करिअरको पहिलो विकेट समेत लिए। सिरिज अन्तर्गत तेस्रो खेलमा मलेसियाविरुद्ध नेपाललाई चौथो सफलता दिलाउनेक्रममा दीपेन्द्रले पहिलो विकेट लिए।
कुशल मल्लको पहिलो अर्धशतक
अलराउण्डर कुशल मल्लले काठमाडौमा जारी त्रिकोणात्मक सिरिजमा अर्धशतक पुरा गरेका छन्। कुशलले आफ्नो करियरको पहिलो अर्धशतक हानेका हुन्। मल्लले २४ बलमा २ चौका र ५ छक्का मद्धतमा अधशतक पुरा गरेका हुन्। उनले १९ ओभरको पहिहो बलमा अर्धशतक पुरा गरेका हुन्।
यो सँगै उनी नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडीको तेस्रो स्थानमा रहे। यसअघि नेपालबाट कप्तान ज्ञानेन्द्र मल्लले मलेसियाविरुद्धको खेलमा २० बलमा अर्धशतक पुरा गरेका थिए।
सन्दीपको सयौं खेल
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ट्वान्टी ट्वान्टी क्रिकेटमा आफ्नो करियरको एक सयौं खेलको कोशेढुङगा पार गरे।
गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलबाट सन्दीप एक सयौं टी–ट्वान्टी खेल्ने पहिलो नेपाली क्रिकेटर बने। आफ्नो ऐतिहासिक एक सयौं खेलमा सन्दीपले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ४२ रन खर्चेर ३ विकेट लिएका थिए।
सन् २०१८ को १२ मे मा इण्डियन्स प्रिमियर लिग (आईपीएल) बाट ट्वान्टी ट्वान्टी खेल्न सुरु गरेका सन्दीपले हालसम्म ९९ खेल खेलिसकेका छन्। सन्दीपले नेपालबाट हालसम्म २५ र टेष्ट देशको फ्रेन्चाइज लिगमा कुल ७५ खेल खेलेका छन्।
सन्दीपले दिल्ली क्यपिटल्सबाट रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै टी–२० मा डेब्यु गरेका थिए। सन् २०१८ कै ३१ मे मा आइसीसी विश्व ११ बाट वेस्टइन्डिजविरुद्ध खेल्दै टि ट्वान्टी आईमा डेब्यू गरेका हुन्। सन्दीप आफ्नो देशबाट नभएर संयुक्त टोलीबाट टी ट्वान्टी अन्तराष्ट्रिय डेब्यू गर्ने पहिलो खेलाडी पनि हुन्।
डेब्युकर्ता कमलको ३ विकेट
तीन देश सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्धको खेलबाट टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर कमल सिंह ऐरिले ३ विकेट लिए। ३ ओभर १ बलिङ गरेका कमलले डेब्यु खेलमै १६ रन खर्चेर ३ विकेट लिए।
कमलले यसअघि २०७६ को माघमा आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्ध डेब्यू गरेका थिए। त्यो बेला कमललाई नेपालको २३ औं ओडीआई क्याप कप्तान ज्ञानेन्द्र मल्लले दिएका थिए।
सन् २०१६ मा श्रीलंकामा भएको यू–१९ एसिया कपबाट यात्रा अघि बढाएका कमलले गत सेप्टेम्बरमा श्रीलंकामा नै भएको यू–१९ एसिया कपबाट उमेर समूहको यात्रा सकाएका थिए।
उमेर समूह र घरेलु क्रिकेट खेल्दै आएका कमलले तल्लोक्रममा ब्याटिङ सम्हाल्ने क्षमता समेत राख्छन्। श्रीलंकासँग यू–१९ टोलीसँग डेब्यू गर्दै ३ विकेट लिनुको साथै ९ रन बनाएका थिए।
एकै खेलमा दुई अर्धशतक
नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले एकै खेलमा २ अर्धशतक प्रहार गरेको छ। ओपनर कुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह ऐरिले अर्धशतकीए पारी खेले। टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली दुई खेलाडीले अर्धशतक प्रहार गरेको पहिलो पटक हो।
नेपालले २ सय ७ रनको योगफल दिएपनि नेदरल्याण्ड्सले ३ बल अगावै ३ विकेटले जित निकालेको हो।
ओपनर कुशलले ६२ रनको योगदान दिए। ४६ बलको सामना गरेका कुशलले ८ चौका र १ छक्का प्रहार गरे। सो खेलमा उनी लङ सट खेल्ने धुनमा क्याच आउट हुन पुगे। उपकप्तान ऐरिले ६० रन थपे। ३० बलमा ऐरीले ५ छक्का र ३ चौका हाने।
Shares
प्रतिक्रिया