ओमकृष्ण भण्डारी त्रिवि क्रिकेट मैदानमा हुने नेपाली टोलीको हरेकजसो खेल हेर्न पुगेका हुन्छन्।
दोलखा स्थायी घर भएका भण्डारी मूलपानीमा बस्छन्। उनको नेपाली क्रिकेटलाई हौसला दिने तरिका भने बेग्लै छ। दौरा सुरुवाल र ढाकाटोपीमा ठाँटिएर उनी मैदान पुग्छन् र शंख फुक्छन्।
तर, कोरोना संकटका कारण यसपटकको त्रिदेशीय सिरिजका सबै खेल उनले मैदानमा बसेर हेर्न पाएनन्। सरकारले २५ जनाभन्दा बढीको भीड जम्मा गर्न नपाइने निर्देशन गर्यो। दर्शक बस्ने ठाँउमा प्रवेश निषेध गरेपछि पनि उनले चोभार एन्डको पर्खालबाहिर बसेर नेपाली टोलीको खेल हेरे र शंख फुकेर नेपाली टोलीको हौसला बढाए।
सरकारको निर्णयको बेवास्ता गर्दै पर्खालबाहिर बसेर ४ घन्टा भन्दा लामो समय खेल हेर्ने भण्डारी एक्ला भने थिएनन्। सयौँ दर्शकले त्यसरी नै समूह चरण र फाइनल हेरका थिए।
‘क्रिकेटलाई सम्मान गर्ने, सपोर्ट गर्ने तर अलि युनिक तरिकाले भनेर नेपाली पोसाक लगाउँछु अनि शंख फुक्छु। शंख आफ्नो कर्मको आधार पनि हो, संस्कृतिको जगेर्ना गर्न पनि यसले सहयोग गर्छ,’ भण्डारी भन्छन्।
भण्डारी कुनै समय क्रिकेटर बन्न चाहन्थे। त्यो चाहना पुरा नभएपनि उनी खेलाडीहरुको उत्साह भने बढाउन चाहन्छन्।
‘क्रिकेटप्रति मेरो लगाव र भोक छ। मलाई पनि क्रिकेटर बन्ने रहर थियो तर समय र परिस्थिति त्यस्तो बन्न सकेन,’ उनले भने, ‘खेलाडी बन्न नसके पनि समर्थकका रुपमा त आउन सक्छु नि।’
महामारी रोक्न भीड नियन्त्रण गर्नु ठिक भए पनि आफ्नो इच्छा मार्न नसकेर खेल हेर्न आएको उनले बताए।
‘हामीले जसरी पनि देशको सपोर्ट गर्ने हो। चाहे मैदान भित्र बस्न पाऊँ वा नपाऊँ। भित्र जान नदिने भएपछि दर्शक कम आउँछन् तर जति आउँछन् ती क्रिकेटका साँच्चैका समर्थक हुन्,’ उनले थपे।
घरेलु दर्शकको उपस्थितिले आफ्नो टोलीलाई फाइदा पुग्ने विश्वास भण्डारीलाई छ।
‘मैदान भित्र छिर्न नदिँदा पनि बाहिरबाट पनि समर्थकले साथ दिने रहेछन् भन्ने सन्देश गयो होला,’ उनले भने।
उसो त दर्शक खेलको प्रमुख आकर्षण नै मानिन्छन्। अझ फुटबलमा त दर्शकलाई १२ औँ खेलाडीको संज्ञा दिइन्छ। नेपालको हकमा पनि खासगरी फुटबल, क्रिकेट र भलिबलमा उल्लेख्य दर्शक हुने गरेका छन्। नेपाली टोलीले अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरिरहेको छ भने दर्शकको उपस्थिति झनै बाक्लो हुने गरेको छ। नेपाली दर्शकको जोसलाई विदेशी खेलाडीहरुले पनि प्रशंसा गर्ने गर्छन्।
मलेसियाविरुद्वको खेलमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले कीर्तिमानी शतक बनाएका थिए। नेपालविरुद्धको पहिलो खेलमा भने उनी चल्न सकेनन्। उनले घरेलु दर्शकका कारण आफूले राम्रो प्रदर्शन गर्न नसकेको बताएका थिए।
‘नेपालविरुद्धको खेलमा दर्शकको जस्तो उपस्थिति थियो, मैले आफ्नो करिअरमा कहिल्यै त्यस्तो अनुभव गरेको थिइनँ,’ उनले भनेका थिए, ‘खेललाई लिएर समर्थकहरुको लगाव प्रशंसनीय थियो।’
शनिबार नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेर इतिहास रच्यो। नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनले हराउँदै ११ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको थियो। सो खेलमा निषेध गरिए पनि पर्खालबाहिर थुप्रै दर्शकको उपस्थिति थियो। कतिपय रुखमा चढेर हेरिरहेका थिए। उभिएर, घाँटी तन्काएर खेल हेर्दा पनि उनीहरुको जोसमा कुनै कमी थिएन।
राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले समर्थकहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए।
‘सरकारले भित्र आउन दिँदैन तर पनि बाहिर बसेर भीडमा यसरी सपोर्ट गर्नुहुन्छ त्यो देख्दा भने अलिक नरमाइलो लाग्छ। बरु भित्रै छुट्टाछुट्टै राखेर हेर्न दिए हुन्थ्यो,’ उनले भनेका थिए, ‘तर कोभिड संक्रमण फैलने खतरा भएकोले सरकारको निर्देशनको पनि पालना गर्नपर्यो।’
कीर्तिपुरकी चन्द्रा पौडेल पनि नेपालको खेल हेर्न मैदान पुगेकी थिइन्। कम दर्शकलाई भित्र पस्न दिइएको भए राम्रो हुने उनको भनाइ थियो।
कुमार मैनाली पहिलो पटक यही सिरिज हेर्न मैदान पुगेका थिए।
‘सुरुको दिन भित्रै बसेर हेरेँ, त्यसपछि सरकारको निर्देशनपछि बाहिर बसेर हेरेका छौँ। भित्र हुँदा पुरै हेर्न पाइन्थ्यो। यहाँ बाहिर उभिएर हेर्नपर्छ। यहाँ केही घर र क्यामेराले हेर्न अलिकति गाह्रो हुन्छ,’ उनले भने, ‘युवा खेलाडीहरुले राम्रो प्रर्दशन गरिरहेका छन्। हामी दर्शकहरु यो पटकको नेपाली टोलीको प्रर्दशनबाट खुसी छौँ।’
मूलपानी बस्ने भण्डारीले पनि प्रशिक्षक डेभिड वाटमोरको आगमनले नेपाली टोली बलियो भएको भन्दै सन्तुष्टि व्यक्त गरे।
Shares
प्रतिक्रिया