कैलालीको धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केसी अनसनस्थल धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन्।
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए।
‘मुटुको चालमा गडबढ छ, ब्लड प्रेसर घटेको छ, रिंगटा आउने, श्वासप्रश्वासमा अप्ठ्यारो भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, हिँडेर शौचालयसम्म पनि जान सक्नु हुन्न ।’
स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधी प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन्। उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधी प्रयोग नगर्ने अडान लिएका छन्।
धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औँ सत्याग्रह
‘चिकित्सकहरुले स्वास्थ्य औषधी लिन भने पनि उहाँले मान्नु भएको छ, सादा सलाइन पानी बाहेक केही लिनु भएको छ।’ जैसीले भने। अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले माग सम्बोधनमा ढिलाइ गरिरहेको उनले बताए।
‘स्वास्थ्य अवस्थामा बिग्रिदै गएपनि अहिलेसम्म सरकारले माग सम्बोधनमा कुनै तदारुकता देखाएको छैन, एक साता भइसक्दा पनि सरकार वार्तामा नै बसेको छैन,’ उनले भने, ‘यस्तो लापरबाहीले ज्यान तलमाथी हुनसक्छ, मुटुमा अट्याक आयो भने समस्या हुनसक्छ, यहाँ सेवा सुविधा पनि राम्रो छैन, काठमाडौँ लैजानु पर्ने हुन्छ ।’
भदौ २७ गतेदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिए पछि २९ गते बेलुका अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनु पर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नु पर्ने केसीको माग छ।
धनगढीमा अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना
केसीले उठाएका मागबारे वार्ता गर्न सरकारले बनाएको वार्ता टोलीले आइतबार अनसनरत पक्षसंग आइतबार पहिलो चरणको वार्ता गर्दैछ।
संघीय राजधानी काठमाडौँमा आइतबार बिहान १० बजे सरकारी पक्षसंग पहिलो चरणको वार्ता हुने सहयोगी जैसीले बताए।
‘आज काठमाडौँमा पहिलो चरणको वार्ता हुन्छ, त्यहाँ सहमति भएपछि सरकारी वार्ता टोली यहाँ आउँछ ।’ उनले भने । केसीका पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. लिजन महर्जन, ओमप्रकाश अर्याल लगायत वार्तामा बस्ने छन्।
Shares
प्रतिक्रिया