ad ad

सुदूरपश्चिम


बाढीपीडित सुकुमवासीको बिचल्ली : जंगलमा बास, खान छैन गाँस

बाढीपीडित सुकुमवासीको बिचल्ली : जंगलमा बास, खान छैन गाँस

गोकुल जोशी
असोज २, २०७९ आइतबार १२:५०, कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका–११, वनहरा सुकुमवासी बस्तीका रामबहादुर सुनार नजिकैको जंगलमा टहरा बनाइरहेका छन्। शुक्रबार राति वनहरा नदीको बाढी बस्ती पस्दा उनको घर, भित्र रहेका लत्ताकपडा, खाद्यान्न सबै बगायो।

नदीमा बाढी घट्दै गएपछि वनहरा बस्तीमा फर्किएर उनले राति ओत लाग्न त्रिपाल राखिरहेका हुन्। वनहरा सुकुमवासी बस्तीका बाढीपीडित कोही नजिकैको सरस्वती माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन्।

कोही बस्तीनजिक बस्नका लागि त्रिपाल टाँगिरहेका छन् भने कोही त बाढीले क्षति पुर्याएको घरमा खाना पकाउन भाँडाकुडा भेटिन्छन् कि भनेर खोजिरहेका छन्।

शुक्रबार राति वनहरा नदीको बाढीले बस्ती तहसनहस पारेको छ। 

‘दिनमा पानी पर्ने/रोकिने गरेको थियो, राति ११ बजेदेखि फेरि पानी पर्न सुरु भयो, १ बजेतिर खोला पूरै भरियो’, रामबहादुरले भने, ‘हरेक वर्ष खोला त आउँछ, केही नहोला सोचेका थियौँ, त्यसपछि एक्कासि बाढी बस्तीमा पस्यो, लत्ताकपडा खाद्यान्न, भाँडाकुडा केही बचाउन सकेनौँ, धौधौ भागेर ज्यान जोगाउन सफल भएका छौँ।’

बाढी प्रभावित वनहरा शिविरका सुकुमवासी बिचल्लीमा परेका छन्। वि.सं. २०६२ देखि बसोबास गरिरहेका बस्तीमा ३० परिवार बस्छन्। जसमध्ये २६ घर बाढीले बगाएको छ।

‘नदीले उताबाट धकेल्छ, याताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने हामी,’ स्थानीय बहादुर कामीले भने। 

बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुमवासीको गुनासो छ। वनहरा शिविरका स्थानीयहरू अहिले बस्ती नजिकै जंगलमा त्रिपाल टाँगेर बसेका छन्।

बाढीले तहसनहस बनेको ठाउँनजिकै जंगलमा वनहरा शिविरकी देवकी विष्टले त्रिपाल टाँगेकी छन्। तर उनीसँग न ओढ्न÷ओछ्याउन कपडा छन् न त खान खाद्यान्न नै। 

‘राति एक्कासि बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन’, उनले भनिन्, ‘बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जंगलमा बस्नुपरेको छ, खानलाई अन्न छैन।’

माटोले भरिएर बस्तीमा बाँकी रहेका घरमा समेत बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताउँछन्। उनका अनुसार वनहरा नदीमा तटबन्ध नहुँदा बाढी बस्तीमा पसको हो।

‘बस्तीतिर तटबन्ध छैन, उतापट्टि तटबन्ध छ, त्यसैले बाढी बस्ती पस्यो’, उनले भने, ‘हेर्नका लागि सबै आउँछन् तर अहिलेसम्म हामीहरूको पीडा कसैले सुनेको छैन।’

केही संघ/संस्था थोरै चामल, दाल दिए पनि पकाउने भाँडाकुडा नभएको स्थानीयको गुनासो छ। चामल पाएका छौं, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने? कसरी पकाउने? बस्तीमा पानी पनि छैन’, माध्वजले दुखेसो पोखे। 

बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताउँछिन्। ‘बर्सेनि बाढी आउँथ्यो, तर यसपटकको जस्तो बाढी कहिल्यै देखेनौं’, उनले भनिन्।

आम्दानीको स्रोत अटोमा बाढीले क्षति पुर्याउँदा रोजिरोटी गुमेको लक्ष्मण विष्ट बताउँछन्। 

‘लत्ताकपडा, खाद्यान्न सबै बाढीले बगाउँदा घरबारविहीन हुनुपरेको छ, अहिले विद्यालयमा आश्रय लिएका छु’, उनले भने, ‘अटो चलाएर परिवार पालिरहेका थिए, बाढीले त्यो पनि राखेन, अब के गर्ने?’

बाढीले घरबारविहीन बनाउँदाको पीडासँगै उनलाई अटो किन्न साहुबाट लिएको ऋणको चिन्ताले पिरोलेको छ। ‘मजदुरी गरेर एक लाख जम्मा गरेको थिएँ, दुई लाख ऋण लिएर अटो किनेँ, मासिक ६ हजार रुपैयाँ ऋणको ब्याज बुझाउनुपर्छ’, उनले भने, ‘कमाइ गर्ने स्रोत नै बाढीले नराखेपछि समस्या भएको छ।’

वनहरा नदीमा आएको बाढीले शुक्लाफाँटामा ठूलो क्षति गरेको मेयर रणबहादुर महराले बताए। 

‘बाढीले भौतिक रूपमा ठूलो क्षति गरेको छ, वडा नं. १२ मा झोलुंगे पुल बगाएको छ, खेतबाली नष्ट गरेको छ, वनहराको सुकुमवासी बस्ती तहसनहस भएको छ’, उनले भने, ‘वडा नं. ८ मा ३० वटा बिजुलीका पोल बगाएको छ, खेत र सडक कटान गरेको छ।’ 

बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। ‘वनहरा र वडा नं. १२ का बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौं’, उनले भने, ‘उनीहरूको खाने, बस्ने व्यवस्था मिलाएका छौं, प्रदेश र संघ सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .