कैलालीको धनगढीमा ९ दिनदेखि अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ।
सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका केसीलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।
‘सेती अस्पतालले स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले रेफर गर्नु भनेको थियो। उहाँ (केसी)लाई काठमाडौँ लैजाने तयारी भइरहेको छ,’ उनले भने, ‘त्यसका लागि काठमाडौँबाट सेनाको हेलिकप्टर आउँदैछ, केहीबेर अघि हेलिकप्टर हिँडेको जानकारी आएको छ।’
डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए।
केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शंका भएकाले थप जटिलता आउन सक्ने हुँदा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया