सत्तापक्षीय गठबन्धन एउटा मात्र प्रतिनिधि सभा क्षेत्र रहेको बैतडी नेकपा माओवादी केन्द्रलाई दिन सहमति नजिक पुगेपछि नेपाली कांग्रेसका स्थानीय नेता बिरोधमा उत्रिएका छन्।
कांग्रेसभित्र टिकटको हानथाप बढेपछि आआफ्नो पक्षमा माहोल बनाउन काठमाडौं गएका नेताहरु टिकट माओवादीलाई मिल्ने संकेत पाएपछि सशंकित छन्। बैतडी कांग्रेसले आफू बाहेक गठबन्धनका अन्य कुनै दलले टिकट पाएमा गठबन्धन नहुने जनाएको छ।
टिकटका लागि नेताहरुको घर–घरमा धाइरहेका जिल्लाका कार्यकर्ताहरुले काठमाडौंमै बैठक गरेर गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णयसमेत गरेका छन्।
‘‘जनमतका आधारमा संघीय सांसदको टिकट कांग्रेसले पाउनु पर्छ, अन्यथा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ,’ कांग्रेसका जिल्ला सचिव देवराज जोशीले भने।
बैतडीमा कांग्रेसको संगठन बलियो रहेको भन्दै गठबन्धन नगर्दा पनि आफूहरूको विजय सुनिश्चित भएको दाबी जोशीको छ।
गठबन्धनबाट माओवादी नेता नरेन्द्र कुवर ९विजय सुन्दर० ले टिकट पाउने सम्भावना बढी छ। उनी २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा विजयी भएका थिए।
प्रतिनिधि सभा तर्फ एक मात्रै क्षेत्र रहेको बैतडीमा नेकपा एमालेका तर्फबाट दामोदर भण्डारी उम्मेदवार हुने लगभग निश्चित छ। सुदूरपश्चिम अध्यक्षसमेत रहेका भण्डारी प्रचारप्रसारमा जुटिसकेका छन्।
०७४ मा तत्कालिन बाम गठबन्धनका तर्फबाट एमालेका भण्डारी विजयी भएका थिए। कांग्रेसबाट टिकटका लागि जिल्ला सभापति चतुरबहादुर चन्द प्रवल दाबेदार मानिएका छन्।
उनकै अध्यक्षतामा बसेको बैठकले कांग्रेसले टिकट नपाए बिद्रोह हुनसक्ने चेतावनी दिएको हो। उनी कांग्रेसको संस्थापन इतर समूह निकट मानिन्छन्।
Shares
प्रतिक्रिया