दार्चुलाको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू विजयी भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार बडूले २८ हजार ५१५ मतसहित बाजी मारेका छन्।
दार्चुलाका मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार बडूका प्रतिस्पर्धी नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गणेश ठगुन्नाले २६ हजार ३८१ मत ल्याएका छन्।
करिब एक दशक (२०७०) पछि बडू र ठगुन्ना दार्चुलामा भिडेका थिए। यो उनीहरुबीच तेस्रो प्रतिस्पर्धा हो।
भत्कियो ‘कम्युनिष्ट किल्ला’
बडूको जितसँगै कांग्रेसले २३ वर्षपछि पुरानो विरासत फर्काएको छ। ०५६ यता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जित्न सकेको थिएन।
०५१ सालको चुनावमा कांग्रेसले दार्चुलामा वर्चस्व गुमायो। ०४८ सालमा चुनाव जितेका कांग्रेसका बडू ०५१ मा एमालेका दिवंगत नेता प्रेमसिंह धामीसँग हारेका थिए।
०५६ को चुनावमा भने दार्चुलामा कांग्रेसले फेरि झण्डा फहरायो। एमालेका वीरबहादुर ठगुन्नालाई हराउँदै कांग्रेसका बडूले चुनाव जिते। त्यसयता दार्चुलामा कांग्रेसले संसदीय चुनाव जित्न सकेको थिएन।
०५६ पछि दार्चुलामा कम्युनिस्ट पार्टीको दबदबा थियो। ०६४ को पहिलो संविधान सभा चुनाव नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जितेका थिए।
दार्चुलामा ०७० को दोस्रो संविधान सभा निर्वाचन र ०७४ सालको चुनाव पनि कांग्रेसले गुमायो। ०७० मा कांग्रेसका बडूलाई उछिन्दै एमालेका ठगुन्ना विजयी भएका थिए।
०७४ सालमा पनि ठगुन्नाले माओवादी केन्द्रको समर्थनमा वाम गठबन्धनको साझा उम्मेदवार बनेर संसद पस्ने मौका पाए।
ठगुन्नाले त्यसबेला २८ हजार ९९८ मत ल्याएका थिए भने कांग्रेसका विक्रमसिंह धामीले २२ हजार २३३ मत ल्याएका थिए। ०७४ को प्रदेश सभा चुनावमा पनि वाम गठबन्धनकै उम्मेदवारले बाजी मारेका थिए। कांग्रेसले दार्चुलामा करिब दुई दशक पुरानो विरासत फर्काएको हो।
मन्त्री बडूको तेस्रो जित
आपूर्तिमन्त्री बडू कांग्रेसको संस्थापन इतर कोइराला निकट मानिन्छन्। ०४८ देखि ०७० सम्म दार्चुलाबाट पाँचपटक प्रत्यक्षतर्फ संसदीय चुनाव लडेका बडूले ०४८ र ०५६ मा गरेर दुईपटक मात्रै जितेका थिए। उनले हारमा ‘ह्याट्रिक’ नै गरेका छन्।
०५१ सालको चुनावमा पहिलोपटक हार ब्यहोरेका बडूले ०६४ र ०७० को चुनाव पनि गुमाए।
०७४ सालको चुनावमा परिस्थिति प्रतिकूल देखेपछि बडू समानुपातिकतर्फ लागेका थिए। त्यसबेला कांग्रेस नेता विक्रम धामीलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनाव लडाइएको थियो।
यो निर्वाचनमा बडूले ०७० को चुनावमा एमालेका ठगुन्नासँग ब्यहोरेको हारको बदला लिएका छन्। त्यति मात्रै होइन, बडूको जितमा ‘ह्याट्रिक’ पनि भएको छ।
‘ह्याट्रिक’मा चुके ठगुन्ना
एमालेका नेता एवम् पूर्वमन्त्री गणेश ठगुन्ना जितमा ह्याट्रिक गर्नबाट चुके। ०६४ सालमा पहिलोपटक संसदीय चुनाव ‘फेस’ गरेका ठगुन्नाले त्यस बेला हार व्यहोरे।
त्यसपछि ०७० र ०७४ को चुनाव भने ठगुन्नाले लगातार जिते। तर यसपटक सत्तारुढ गठबन्धनविरुद्ध जित निकाल्न सकेनन्।
स्थानीय चुनावमा दबदबा, संसदीयमा ‘क्लिन स्वीप’
गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनविरुद्ध एमालेले अद्भूत नतिजा निकालेको थियो।
९ पालिकामध्ये एमालेले शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिका गरेर ५ पालिकाको प्रमुखमा बाजी मारेको थियो।
तर संसदीय चुनावमा यो दबदबा कायम राख्न सकेन। एमालेले दार्चुलामा प्रतिनिधि र प्रदेशमा एउटा पनि सीट जित्न सकेन।
नेकपा एमाले यसपटक दार्चुलामा ‘क्लिन स्वीप’ भएको छ। प्रदेश सभा (१) मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा २ मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन्।
Shares
प्रतिक्रिया