नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसको संसदीय दलको नेता छान्न बसेको प्रदेश सभाका सांसदहरुको बैठक निष्कर्षविहीन भएको छ। सो बैठकले संसदीय दलको नेता चयन गर्न सकेन।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता बन्न आकांक्षी बढी देखिएपछि सर्वसम्मत नेता चयन गर्न नसकिएको एक सांसदले बताए।
‘साथीहरु आज भेला भएका थियौं, संसदीय दलको नेता छान्ने विषयमा छलफल भयो,’ ती सांसदले नेपालखबरसँग भने, ‘संसदीय दलको नेताका लागि आकांक्षी बढी हुँदा नेता चयन गर्न सकेनौं।’
ती सांसदका अनुसार बैठकमा ६ जना सांसदले संसदीय दलको नेतामा दाबी गरेका छन्।
कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका कैलालीबाट निर्वाचित प्रकाश देउवा, कमलबहादुर शाह, अछामबाट निर्वाचित मेघराज खड्का र बैतडीका शिवराज भट्टले संसदीय दलको नेतामा दाबी गरेका छन्।
बैठकले बुधबार (भोलि) बिहान १० बजेसम्म उनीहरुलाई सहमति जुटाउन समय दिएको छ।
‘भोलि बिहानसम्म दाबेदारबीच सहमति खोज्न समय दिइएको छ, सहमति नभए निर्वाचन प्रक्रियाबाट नेता चयन गरिन्छ,’ ती सांसदले भने।
संसदीय दलको नेताका आकांक्षीहरु सहमतिका लागि मंगलबार (आज) बेलुकी छलफल गर्ने तयारीमा छन्। ‘सहमतिको लागि हामीहरु छलफल गर्छौं, नभए चुनावमा हुन्छ,’ संसदीय दलको नेताका दाबेदार दिवानसिंह विष्टले भने।
संसदीय दलको नेताका आकांक्षी रहेका ६ जनामध्ये ५ जना संस्थापन पक्षका रहेका छन्। संस्थापन इतर समूहबाट कञ्चनपुरका दिवानसिंह विष्ट मात्रै संसदीय दलको नेताका एक्ला दाबेदार छन्।
सहमतिमै संसदीय दलको नेता चयन हुने एक सांसदको दाबी छ।
नेपाली कांग्रेस बाहेक नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादीले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेको छ।
Shares
प्रतिक्रिया