दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवारलाई प्राकृतिक विपत्तिले पछ्याइरहेको छ। कुनैबेला जाजकोटबाट पहिराले लखेटिएको उनको परिवारलाई अझै विपत्ति कम छैन।
उनलाई जहाँ गयो त्यहीँ विपत्तिले सताइरहेको छ। चार दशकअघि उनको परिवार जाजरकोटमा बस्थ्यो। त्यहाँ पहिरोले परिवारको उठीबास लगायो।
खड्केका बुवा परिवार लिएर बस्ने ठाउँको खोजी गर्दै वि.सं. २०३९ सालमा कुतियाकर पुगे। त्यस बेला १२ वर्षका मात्रै थिए, बुढा। कुतियाकबरमा बसेको एक वर्षपछि महाकालीमा ठूलो बाढी आयो।
उनको करिब अढाई बिगाह जमिन र घरभित्रको अन्नपात महाकालीको बाढीले बगाएको थियो। ‘सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, हामीले धौ धौ ज्यान जोगायौँ,’ ४० वर्षअघिको बाढी सम्झदै बुढा भन्छन्, ‘त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन।’
वर्षौदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने चिन्ता छ। उनको करिब ४÷५ बिगाह जमिन बर्सेनी आउने बाढीले कटान गरिसकेको छ।
अब खेतीपाती गर्नका लागि जमिन छैन। नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै उनको बाँकी छ।
‘सबै जमिन बगाएर घर मात्रै बाँकी छ, यो पनि अब कहिले बगाएर लैजान्छ भन्ने चिन्ता छ’, बुढा भन्छन्, ‘यस्तै रह्यो भने यहाँ कसरी बस्न सकिन्छ ? विस्थापित हुनुको विकल्प छैन।’
उनी अहिले लिजमा जमिन लिएर खेतीपाती गर्दै आएका छन्। कुतियाकबरकै लालबहादुर खड्काको पनि करिक तीन बिगाह जमिन महाकालीले बगायो।
डोटीबाट दशकअघि कुतियाकबर झरेका थिए, खड्का। ‘सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती बसाएपछि बुवा यहाँ जंगल फाडेर बस्नुभएको हो,’ उनले भने, ‘डेढ÷दुई बिगाह जोगबूढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि, कति परिवारको उठीबास भएको छ, अब उठीबासको पालो हाम्रो जस्तो छ।’
कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भएको छ। त्यहाँका स्थानीय विस्थापित भइरहेका छन्।
वि.सं. २०२४ सालदेखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो। त्यस बेला करिब एक सय भन्दा बढी परिवार कुतियाकबरमा बस्थे। अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवार मात्रै छन्।
नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो, कुतियाकबर। सदरमुकामबाट टाढा रहेको बिरानो यो भूभागका स्थानीयले राज्य भएको अनुभुति गर्न पाएका छैनन्।
जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई वर्षेनि बाढीले सताउने गरेको छ। बाढीले सीमामा नेपाली भूमि बगरमा परिणत भइरहेको छ।
सयौँ बिगाह जमिन बगर बनिसकेको छ। कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल। नौजलियामा उनीसंग खेतीका लागि जमिन छैन। बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ।
उनले जीविकोपार्जनको गन्तव्य बनाए, कु्तियाकबरलाई। महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उनी बताउँछन्।
बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन्। महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू।
पानी परेको रात जाग्राम बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ।
‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाब हेरिरहनु पर्छ’, कुतियाकबरका स्थानीय बसन्ती सुनारले भने, ‘बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन।’
कुतियाकबरवासीलाई वर्षेनि पर्ने विपत्ति बाढीको समस्या समाधानमा जनप्रतिनिधिहरूले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
वर्षौदेखि चुनावमा डुबान र कटानको समस्या समाधान गर्ने आश्वासन दिने नेताहरु जितेपछि सो आश्वासन बिर्सिने गरेको उनीहरुको गुनासो छ ।
‘सीमा रक्षक बनेर बसेका हामीहरूलाई सरकारले कहिल्यै हेरेन, चुनाव जित्नलाई समस्या समाधान गर्ने आश्वासन दिन्छन्, पछि बिर्सिन्छन्,’ स्थानीय बिनोद सुनारले भने, ‘महाकाली उच्चो भइसक्यो, हामी होचो भूभागमा छौँ, कुनै बेला पनि नदी गाउँ बस्न सक्छ।’
प्रतिक्रिया