व्यस्त बजारको नजिकै खुला मैदान। न तारबार छ नत पर्खाल। उवडखावड ठूल–ठूला खाल्डाखुल्डी। केही भाग जाली लगाएर छुट्याइएको छ। क्रिकेटमा भविष्य खोज्ने खेलाडीहरु त्यहाँ अभ्यास गर्छन्।
महेन्द्रनगर बजार नजिकै पर्ने कबर्ड हल मैदान यस क्षेत्रको एक्लो गतिलो मैदान मानिन्छ। कबर्ड हल क्षेत्रमै अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान बन्नु पर्ने हो। तर मैदानको सपना बाँडेको वर्षौं भइसक्दा पनि मैदान बनेको छैन।
क्रिकेट मैदानका लागि कबर्ड हल क्षेत्रको १५ बिगाह बढी जमिनमध्ये करिब ४ बिगाह जमिन छुट्याइको थियो। वि.सं. २०६१ सालमा सो जमिन माछापालनका लागि जिल्ला खेलकुद विकास समितिले लिजमा दियो।
माछा पोखरी निर्माणका लागि जमिनमा खाल्डा पारिए। लिजमा लिएको दुई÷तीन वर्षपछि माछा पोखरी हटाइयो। पोखरीका खाल्डाखुल्डी पुरिएनन्।
मैदान निर्माणका लागि आएको करोड बढी बजेट अहिले तिनै पोखरी पुर्नमा खर्च भइरहेको छ। डेढ करोड खर्च भइसक्दा पनि अझै पोखरीमा माटो भरानको काम सकिएको छैन।
‘खेलकुद विकास समितिले आयआर्जन गर्ने उदेश्यले माछा पोखरीका लागि लिजमा दियो, सम्झौता अनुसार छोड्दा पोखरी पुर्नपर्थ्यो,’ महाकाली स्पोट्र्स सोसाइटीका अध्यक्ष सुमन भट्टले भने, ‘अहिले माटो भरानमा यत्रो रकम खर्च हुँदैनथ्यो, प्रतिभावान खेलाडी भएपनि मैदान अभाव छ।’
रातो किताबमै समेटिएको क्रिकेट मैदान निर्माणका लागि २/३ वर्षयता प्रत्यर्क वर्ष बजेट विजियोजन हुने गरेको छ।
मैदान निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्मार्फत सुरुआतमा एक करोड बजेट आएको थियो। त्यसपछि अर्को वर्ष आएको ७५ लाख बजेट फ्रिज गएको थियो।
गत आर्थिक वर्षमा मैदानका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर निकाल्न नसकेपछि अन्तिम समयमा उपभोक्ता समिति बनाएर काम अघि बढाइएको हो।
अहिलेसम्म माटो भरान र चेन्जिङ्ग रुम निर्माण भएको कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र चन्द बताउँछन्।
‘लोल्याण्ड सीमसार क्षेत्र हो, निर्माण भएका पोखरी पुर्ने काम भइरहेको छ, अब दुई वटा ठूला पोखरी मात्रै पुर्न बाँकी छ,’ उनले भने, ‘यस वर्ष बजेट आएको छैन, मैदान निर्माणमा बजेटको अभाव छ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा तुलनात्मक रुपमा कञ्चनपुरका खेलाडी धेरै समेटिन्छन्। विश्व कीर्तिमान बनाएका दीपेन्द्र सिंह ऐरी, भीम सार्की, सन्दिप जोरा र विनोद भण्डारी सिनियर राष्ट्रिय टोलीमा हाल परिरहन्छन्।
कुनै समय चन्द्र साउँद, सुरेन्द्र चन्द, प्रदीप ऐरी, प्रेम तामाङ, सन्तोष भट्ट, नरेश बुढाऐरलगायत दर्जनौं खेलाडीले राष्ट्रिय टोलीबाट क्रिकेट खेलिसकेका छन्।
क्रिकेटको उर्वरा भूमिका रुपमा रहेको कञ्चनपुरमा पूर्वाधारको अवस्था भने नाजुक छ। गतिलो मैदान नहुँदा खेलाडीहरु खुला चौर, खोला किनार तथा खेतखलियानमा क्रिकेट अभ्यास गर्न बाध्य छन्।
अभ्यासका लागि मैदानका साथै क्रिकेट पूर्वाधार नहुँदा नवप्रतिभावान खेलाडी पलायन भइरहेको कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले बताए।
‘क्रिकेट अभ्यास गर्नका लागि हामीसँग गतिलो मैदान छैन, कबर्ड हलको मैदानमा म्याट राखेर पिच बनाएका छौँ,’ उनले भने, ‘अभ्यास गराउनै गाह्रो छ, खेलाडी पलायन भइरहेका छन्।’
खेलकुदको पूर्वाधारमा सुधार आउँदै गएको जिल्ला खेलकुद विकास समिति महेन्द्रनगर कार्यालयका प्रमुख गोपालदत्त भट्ट दाबी गर्छन्।
‘विगतभन्दा खेलकुद पूर्वाधारमा अहिले सुधार आएको छ, विगतमा अभ्यास गर्नलाई निकै अप्ठ्यारो थियो,’ उनले भने, ‘हाल कबर्ड हलको मैदानमा क्रिकेट खेलाइन्छ, दिनप्रतिदिन व्यवस्थित हुँदै गएको छ।’
पर्याप्त खेल संरचना र खेलकुद प्रतियोगिताको अभावमै उदयमान खेलाडीले नेपाली क्रिकेटको उज्ज्जव भविष्य कोरिररहेका छन्।
कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रमा थुप्रै नवप्रतिभावान खेलाडी छन्। त्यस्ता खेलाडीलाई मूलधारमा ल्याउनुका साथै क्रिकेटको विकासका लागि तीनै तहका सरकारले ध्यान दिनु पर्नेमा खेलप्रेमीको जोड छ।
Shares
प्रतिक्रिया