नेकपा एमाले कैलाली जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनमा आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचन गर्ने तयारी भइरहेको छ।
तर सहमतिको अन्तिम प्रयास जारी छ।
आइतबार अधिवेशन उद्घाटनपछि अध्यक्ष केपी शर्मा ओलीले त्यही दिन रातिसम्म सहमतिको प्रयास गर्न र सहमति नभए भाेलिपल्ट बिहानै चुनाव गर्न निर्देशन दिएका थिए।
तर, आजा पाँचौँ दिनमा पनि सहमतिको प्रयास जारी राख्दै मतदानको समय धकेलिँदै छ।
आज बिहान ८ बजे मतदान सुरु गर्ने भनिएको भए पनि सहमतिको अन्तिम प्रयास जारी राखिएकाले दिउँसोसम्म मतदान हुनसक्ने अधिवेशनस्थलमा रहेका एक नेताले नेपालखबरसँग बताए।
पदका आकांक्षीबीच सहमति नजुटे प्यानलसहित एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने छ।
एमाले कैलाली नेतृत्वका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगाना, एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेले प्यानल खडा गरेका छन्।
नेकपा एमाले केन्द्रीय सचिव लेखराज भट्टले कार्यवाहक अध्यक्ष जोशीलाई अध्यक्षमा अघि सारेका छन्।
स्थायी कमिटी सदस्य कर्ण थापाले सचिव पाण्डेलाई अघि सार्दा केन्द्रीय सदस्य एंवम् निवर्तमान प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले ढुंगानालाई अध्यक्षमा अघि सारेका छन्।
एमाले कैलालीका नेताहरुका अनुसार उपाध्यक्षमा ढुंगानाको प्यानलबाट दलबहादुर विष्ट, जोशी प्यानलमा विष्णु चौधरी र पाण्डे प्यानलमा लोकेन्द्र शाही छन्।
यस्तै उपाध्यक्षमा गजेन्द्र स्वार, मदन ओझा र वीरेन्द्र बहादुर रावलको पनि उम्मेदवारी छ।
सचिव पदमा ढुंगानाको प्यानलबाट विष्णुकुमार चन्द, जोशीको प्यानलबाट दानबहादुर विश्वकर्मा र पाण्डेको प्यानलबाट ममताप्रसाद चौधरी उम्मेदवार छन्।
उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजाल उम्मेदवार छन्। महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी र शान्ति देवी सिंहले उम्मेदवारी दिएका छन्।
एमाले कैलालीले पहिलोपटक अधिवेशनअगाडि नै सहमति खोज्ने प्रयत्नका रुपमा आकांक्षीहरुलाई इच्छा पत्र पेस गर्नुपर्ने विधि बनाएको थियो। यद्यपि आकांक्षीबीच सहमति नजुट्दा एमाले कैलालीको नेतृत्व चयन चुनावतर्फ मोडिएको हो।
आइतबारदेखि जारी अधिवेशनले ५ पदाधिकारीसहित १५० सदस्यीय कमिटी चयन गर्नेछ। अधिवेशनमा ५६० प्रतिनिधि छन्।
Shares
प्रतिक्रिया