सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।
एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा नेकपा एकीकृत समाजवादी सामेल भएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकारबाट बाहिरिएको हो।
एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री नरेश शाही सरकारबाट फिर्ता भएका छन्।
शाहीले मुख्यमन्त्री कमल बहादुर शाहसँग भेट गरेको तस्बिर फेसबुकमा राख्दै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन्।
१४ महिना आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सन्तोषजनक अनुभव रहेको बताउँदै शाहीले मन्त्रीको जिम्मेवारीबाट निक्लिरहँदा सुदूरपश्चिमको विकासमा थप पैरवी गर्ने क्षेत्र र दायरा फराकिलो भएको महसुस गरेको बताए।
नेकपा एकीकृत समाजवादी केन्द्रीय सरकारमा दुई मन्त्रीसहित सामेल हुँदै एमाले नेतृत्वको गठबन्धनको कित्तामा उभिएसँगै अब सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारीमा छ।
योसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा पर्ने छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन्।
अहिले कांग्रेससंग १८ सांसद छन्। सुदूरपश्चिममा अहिले निर्णायक शक्ति रहेको नागरिक उन्मुक्तिले नयाँ गठबन्धनमा जाने नजाने निष्कर्षमा पुगिसकेको छैन।
सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति सामेल नै छ। नाउपासँग ७ सांसद छन्।
सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादीसंग सभामुखसहित ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।
Shares
प्रतिक्रिया