ad ad

बागमती


काठमाडौँको सुरक्षा थप बलियो पार्न निस्कियो ‘जीपीएस’सहित ‘क्विक रेस्पोन्स टिम’

२४सै घण्टा फिल्डमा
काठमाडौँको सुरक्षा थप बलियो पार्न निस्कियो ‘जीपीएस’सहित ‘क्विक रेस्पोन्स टिम’

नेपालखबर
फागुन २४, २०८० बिहिबार १०:१६, काठमाडौँ

काठमाडौँ  उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्विक रेस्पोन्स टिम (ई-क्यूआरटी) परिचालन गरिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउन ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न ई-क्यूआरटी परिचालन गरेको हो।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्विक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए। 

पहिलो चरणमा काठमाडौँ जिल्लाभरिका ६०  टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त/प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ।

टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम/कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालित रूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६०  क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ। 

उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीका रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताए। उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउन टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौँ उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताए।

उनले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .