सफलता त्यसै हासिल हुँदैन। दृढ अठोट र आत्मविश्वासले सफलतातर्फ डोर्याउँछ। त्यसकै अनुपम उदाहरण बनेका छन्, बझाङका ३३ वर्षीय सुशील थापा।
बझाङको खप्तडछान्ना गाउँपालिका–२ लामातोलीका सुशील जन्मजातै दृष्टिविहीन हुन्। दुवै आँखा नदेख्ने उनलाई हिँडडुल गर्न पनि सहायता चाहिन्छ।
तिनै सुशील शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षकको खुलातर्फ पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन्।
शिक्षक सेवा आयोगले फागुन २६ मा सार्वजनिक गरेको अन्तवार्ताको नतिजामा सुशीलको नाम पहिलो नम्बरमा छ।
बझाङबाट शिक्षक सेवाको प्राथमिक तहमा प्रतिस्पर्धा गरेका थिए, सुशीलले। उनलाई अहिले बधाई थाप्न भ्याइनभ्याइ छ। शिक्षक सेवा आयोगले लिने तीनै तहका पत्र उत्तिर्ण गरेका सुशील अहिले नियुक्तिको पर्खाइमा छन्।
वि.सं. २०४७ साल असोज २२ गते जन्मिएका सुशीलले प्राथमिक तहसम्मको अध्ययन बझाङस्थित चक्रेश्वर प्राथमिक विद्यालयमा गरे। त्यही विद्यालयमा ब्रेनलिपीबाट उनले अक्षर चिन्न सिके।
‘कक्षा एकमा ब्रनेलिपीमार्फत पढाइन्थ्यो। त्यहीँबाट अक्षर चिन्न सिकेँ। त्यस बेला हामी दृष्टिविहीन १० जना विद्यार्थी थियौँ,’ नेपालखबरसँगको कुराकानीमा सुशील भन्छन्, ‘अक्षर चिन्न थालिसकेपछि माथिल्लो कक्षामा सामान्य विद्यार्थीसँगै बसेर पढियो। निकै गाह्रो हुन्थ्यो।’
सुशील विद्यालयमा पढ्दादेखि नै मेधावी विद्यार्थी थिए। उनी कक्षामा सधैँ प्रथम, द्वित्तीय स्थान हासिल गर्थे। बझाङमा कक्षा ५ उत्तिर्णपछि सुशील माथिल्लो कक्षा अध्ययनका लागि तराई झरे।
उनले कक्षा ६ देखि १० सम्मको अध्ययन कैलालीको धनगढीस्थित पञ्चदेवल माध्यमिक विद्यालयबाट गरे। सुशीलले वि.सं. २०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका थिए।
‘पाँचसम्म पढ्दाका दृष्टिविहीन साथीहरू कसैले विद्यालय छोडे। कसैले १२ सम्म पढेँ’ सुशील भन्छन्, ‘त्यसबेला पढ्दा निकै कठिनाइ हुन्थ्यो। सुनेकै भरमा अध्ययन गर्नुपर्यो।’
कक्षा ११ मा पढ्दा पनि सुशील कक्षा प्रथम भएका थिए। वि.सं. २०६६ सालमा कक्षा १२ उत्तिर्ण गरेका उनले वि.स. २०७० सालमा स्नातक तह उत्तिर्ण गरेका थिए।
सुशीलले स्नातकसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयको आंगिक सानोठिमी शिक्षा क्याम्पसबाट गरे। शिक्षाशास्त्र संकायबाट अंग्रेजी मूल विषयमा सुशीलले स्नातक तहसम्मको अध्ययन गरेका हुन्।
अहिले उनी आरआर क्याम्पसमा समाजशास्त्र मूल विषय लिएर स्नातकोत्तर अध्ययरत छन्।
‘ब्याचलर पढ्दासम्म निरन्तर उत्तिर्ण भइयो। कहिल्यै फेल भएन,’ उनी भन्छन्, ‘किताबहरू पाइँदैन्थ्यो। अडियो सुनेकै भरमा पढाइ गर्ने गरिन्थ्यो।’
बुवाबाट प्रेरित भएर पनि सुशीललाई शिक्षण पेशातर्फ आकर्षित गरेको हो। उनीहरू बुवा–छोराबीच संयोग जुरेको छ, शिक्षण पेशामा आगमन र बिदाइको।
बुवा झमबहादुर बझाङमै प्राथमिक तहका शिक्षक थिए। उनी फागुन १ गते सेवानिवृत्त भए। फागुन अन्तिम साता नै जेठा छोरा सुशीलले शिक्षकको स्थायी जागिर पाए।
सुशीलले स्नातकसम्मको अध्ययन सकेपछि अध्यापन कार्यमा पनि लागे। उनी वि.सं. २०७१ सालदेखि केदारस्युँ गाउँपालिकास्थित नवदेउ प्राथमिक विद्यालय मल्लेसीमा प्राथमिक तहको राहात अनुदानमा कार्यरत थिए।
‘सानैदेखि शिक्षक बन्ने रुची थियो। सफल हुँदा निकै खुसी छु’, सुशील भन्छन्, ‘प्रविधिले गर्दा अहिले हामीजस्तालाई अध्ययन गर्न निकै सहज भएको छ।’
सुशीलले प्रविधिको सहायताले अध्ययन गरेर शिक्षकको तयारी गरे। शिक्षक सेवाको तयारी गर्न गत चैत्रमा काठमाडौँ गएका उनले अनलाइन कक्षा लिए। मोबाइलमा विभिन्न एप्सहरूबाट नोटहरू अध्ययन गरेको उनी बताउँछन्।
‘अनलाइन कक्षा लिएँ। लेखेको पढेर सुनाउने विभिन्न एप्सहरू पाइन्छन्। तिनैबाट सुनेर तयारी गरियो,’ सुशील भन्छन्, ‘आँट र साहस राख्यो भने सफलता मिल्छ। असफल भइयो भनेर निरुत्साहित हुनुहुँदैन। बलियो आत्मविश्वासका साथ निरन्तरता दिनुपर्छ।’
सुशीलले पहिलो पटक वि.सं. २०७० सालतिर शिक्षक सेवामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला उनी पहिलो चरणमै असफल भएका थिए।
दृष्टिविहीनले परीक्षामा लेखन सहयोगी राख्न पाउने व्यवस्था छ। सुशीलको पहिलो पत्रमा कक्षा १० मा अध्ययन गर्ने उनकै भान्जा निशान्त वली लेखन सहयोगी थिए। दोस्रो पत्रमा कक्षा १० मै अध्ययन गर्ने बैतडीका सुमन भट्टलाई सुशीलले लेखन सहयोगी राखेका थिए।
कडा मिहेनत र आत्मविश्वासले सफल बनेका सुशील समाजमा शारीरिक असशक्तहरूप्रति हेर्ने दृष्टिकोण अझ परिवर्तन हुन नसकेको गुनासो गर्छन्।
‘समाजमा हामीप्रतिको दृष्टिकोण सकारात्मक छैन। धेरै चुनौती छन्। ती चुनौतीलाई छिचोल्दै संघर्ष गर्दै अघि बढ्ने हो,’ उनी भन्छन्, ‘अब माथिल्लो तहको तयारी छु।’
कठोर संघर्ष छिचोल्दै दृष्टिविहीन सुशीललाई शिक्षणमार्फत शिक्षाको ज्योति भर्ने अवसर मिलेको छ।
Shares
प्रतिक्रिया