प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन्।
विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका हुन्।
शनिबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका छन्।
एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहाल तयार देखिएका छन्।
‘नयाँ गठबन्धनप्रति तपाईँहरूको धारणा के हो? विगतमा सहकार्य गरेका हौँ। सरकारमा सामेल हुनुहोस्। अझै सहकार्य गरेर जाऔँ,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।
नागरिक उन्मुक्ति पार्टीभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच नयाँ राजनीतिक समीकरणका विषयमा तीव्र मतभेद छ। दाहाललाई विश्वासको मत दिने रञ्जिताको निर्णयमा रेशम खुसी छैनन्। त्यस्तै पार्टी केन्द्रको निर्देशन अवज्ञा गरी रेशमले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार विस्तारमा नाउपाका सांसद सहभागी गराएका छन्।
सत्ता गठबन्धन फेरबदलसँगै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाई अयोग्य ठहर गर्दै रञ्जितालाई पुनःस्थापित गरेपछि रेशम कांग्रेससँग सहकार्य गरेर जाने पक्षमा उभिएका छन्।
प्रधानमन्त्री दाहालसँगको छलफल सकारात्मक भएको छलफलमा सहभागी नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौराले बताए।
उनका अनुसार, संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने माग राखिएको छ।
नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ। एमाले नेतृत्वको सत्ता गठबन्धनलाई सुदूरपश्चिममा नाउपाबिना सरकार बनाउन कठिन छ।
सरकारमा सामेल गराउन गठबन्धनका दलहरू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले फेरि यो विषयमा गठबन्धनभित्र छलफल गरेर बताउने आश्वासन दिएका थिए।
संघमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नाउपाले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई नै समर्थन यथावत् राखेको छ। अल्पमतको प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्।
केही दिनअघि रञ्जिताको निर्देशनविपरीत नाउपा सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो। यसबारे पनि पार्टीभित्र छलफल गरेर आधिकारिक धारणा बनाउने नेता डगौराले बताए।
Shares
प्रतिक्रिया