ad ad

सुदूरपश्चिम


यी ३ सांसद काठमाडौँबाट आज नफर्किए सुदूरपश्चिम सरकार ढल्ने निश्चित

यी ३ सांसद काठमाडौँबाट आज नफर्किए सुदूरपश्चिम सरकार ढल्ने निश्चित

नेपालखबर
चैत २२, २०८० बिहिबार १३:४१, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार (आज) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत माग्ने भएका हुन्। 

तर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच गठबन्धनका विषयमा उत्पन्न विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ। 

नाउपामा विश्वासको मतका विषयमा अध्यक्ष श्रेष्ठ र सुदूरपश्चिम संसदीय दलले छुट्टाछुट्टै ह्विप जारी गरेका छन्। रञ्जिताले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् भने नाउपा प्रदेश संसदीय दलले पक्षमा मत दिन ह्विप जारी गरेको छ। 

नाउपाका ७ सांसदमध्ये ५ जना रेशमको जोडबलमा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छन्। राज्यमन्त्री इन्द्रिरा गिरीलाई अध्यक्ष रञ्जिताले कारबाही गरिसकेकी छन्।

रञ्जितानिकट दुई प्रदेश सांसद टीका थापा र कैलाश चौधरी यतिबेला केन्द्रीय राजधानी काठमाडौँमा छन्। उनीहरू सरकारलाई विश्वासको मत नदिने अडानमा छन्।

‘हामी अध्यक्षज्यूको ह्विप मान्छौँ। विश्वासको मत नदिने भएकाले धनगढी फर्किन गाह्रो छ,’ नाउपाकी सांसद टीका थापा भन्छिन्। 

यस्तो अवस्थामा कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्नेछ। यद्यपि कांग्रेस नेताहरू नाउपा संसदीय दलको ह्विपअनुसार अन्तिम समयसम्म पनि आएर सम्पूर्ण प्रदेश सभा सदस्यले विश्वासको मत दिने झिनो आशामा छन्। 

यसपछि स्वतन्त्र र राप्रपा सांसदले विश्वासको मत दिने र सरकार जोगिने उनीहरूको भनाइ छ। तर स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी पनि अहिले काठमाडौँमै छन्। नाउपाकै सबै सांसदले विश्वासको मत दिने सम्भावना नदेखिएकाले धनगढी नफर्किएको उनले बताए। 

अन्तिम समयसम्म पनि नाउपाका दुई सांसद काठमाडौँबाट धनगढी नफर्किए विश्वासको मत नलिएर मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी पनि गरेका छन्। मुख्यमन्त्री नाउपाका दुई सांसद र स्वतन्त्र सांसद जोशीको पर्खाइमा छन्। 

आजै बिहान बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गर्दै परिस्थिति हेरेर राजीनामा दिने वा संसद् फेस गर्ने, निर्णय गर्ने अधिकार मुख्यमन्त्री शाहलाई नै दिएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि २७ सांसद आवश्यक पर्छन्। तर नेपाली कांग्रेससँग १८ र नाउपासँग ७ सांसद मात्र छन्। नाउपाका सांसद एक भएका खण्डमा पनि मुख्यमन्त्री शाहलाई अझै २ जना पुग्दैन। यसैले उनलाई राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले मत दिनुपर्ने हुन्छ। 

२१ फागुनमा सत्ता गठबन्धन फेरबदल भएपछि  तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले शाहले संवैधानिक व्यवस्थाबमोजिम एक महिनाभित्र विश्वासको मत लिन लागेका हुन्।

नभए सरकार ढलेर संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थाका प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रसँग सभामुखसहित ११, नेकपा एमालेसँग १० र नेकपा एकीकृत समाजवादीसँग ४ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .