बैतडीबाट अन्नपूर्ण पोस्ट दैनिकमा रिपोर्टिङ गर्ने पत्रकार कृष्ण विष्ट स्थानीय रेडियो सेभेन स्टारमा पनि काम गर्छन्।
यसै क्रममा शुक्रबार बिहान उनले ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको खबर पाए। तर मृतकको पहिचान खुलिसकेको थिएन। थप विवरण पछि दिनेगरी उनले दुर्घटनाको समाचार तयार पारे। पत्रिकामा पठाए अनि रेडियोमा पनि बिहान ८ बजेको बुलेटिनमा वाचन गरे।
त्यसपछि उनी दुर्घटनाको विस्तृत विवरण लिन मोटरसाइकलमा दुर्घटनास्थल पुगे।
अनि सडकमाथिबाटै दुर्घटनास्थलको तस्बिर खिचे। दुर्घटनास्थलमा भीडभाड थियो। त्यति बेलासम्म पनि कृष्णले दुर्घटनामा आफ्नै बुवा मानबहादुरको पनि मृत्यु भएको कुनै भेउ पाएनन्।
तर जब उनी सडकबाट तल झरेर शव भएकै स्थानमा गए तब उनी छाङ्गाबाट खसेजस्तै भए। किनकि त्यहाँ उनले आफ्नै बुवा लडिरहेको देखे। दुर्घटनाको रिपोर्टिङमा गएका कृष्ण बुवाको निधनले शोकमा डुबेका छन्।
‘दुर्घटनाको समाचार बनाएर बिहानको बुलेटिनमा रेडियोमा पढ्नुभयो। त्यसपछि थप रिपोर्टिङमा दुर्घटनास्थल गएका बेला बुवाको शव देख्नुभयो,’ विष्टसँगै काम गर्ने बैतडीका पत्रकार डम्बरबाबु बोहरा भन्छन्, ‘दुःखद खबरले स्तब्ध छौँ।’
बिहीबार राति बैतडीको पाटन नगरपालिका-८ झौलेकमा से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित पत्रकार विष्टका बुवा ५२ वर्षीय मानबहादुरको पनि मृत्यु भएको हो।
दुर्घटनामा मानबहादुर विष्टसँगै ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीय राजेश चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Shares
प्रतिक्रिया