प्रदेश सभा सदस्य चयनका लागि बझाङ प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा १ मा मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसंगै मुचुल्का तयार पारेर मतपेटिका संकलनको काम भइरहेको छ। जिल्ला अदालतमा मतगणनास्थल राखिएको छ। खसेको मतको विवरण संकलन गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।
यकिन विवरण नआए पनि करिब ५० प्रतिशत हाराहारीमा मत खसेको अनुमान छ। यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र छन् भने ६१ हजार ७४८ मतदाता छन्।
सडक यात्राबाट ढुवानी गर्नु पर्ने मतपेटिका ओसार्ने काम सुरु हुन लागेको छ। विकट साइपालको काडा, धुली, न्युना क्षेत्रको मतपेटिका सदरमुकाममा ढुवानी गर्न हेलिकप्टर तयारी अवस्थामा छ।
तर प्रतिकुल मौसमका कारण हेलिकप्टर उढ्न सकेको छैन। साइपालमा पानी परिरहेको जानकारी आएको छ। सबै मतदानस्थलका मतपेटिका संकलन भएपछि मतगणना गर्ने तयारी छ।
शनिबार साइपालका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न नसकिए भोलि बिहानै हेलिकप्टर त्यसतर्फ जानेछ। मतपेटिका संकलनमा समय लाग्ने हुनाले आजै मतगणना हुने सम्भावना कम रहेको छ।
नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन भएको हो।
Shares
प्रतिक्रिया