कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया २ वर्षअघिसम्म भारतमा काम गर्थे। परिवार पाल्न होटलमा काम गर्ने उनी २ वर्षअघि घर फर्किए।
उनका बुवा सुन्दरनगरमै परबल खेती गर्थे। भारतबाट फर्किएपछि प्रेमले पनि आफ्नै ठाउँमा कृषि उद्यम गर्ने सोच बनाए।
‘विदेशमा बाह्र घण्टासम्म काम गर्नुपर्ने त्यसमा मालिकको पनि किचकिच खेप्नुपर्थ्यो,’ प्रेम भन्छन्, ‘अर्काको काम गर्नु भन्दा त स्वदेशमै केही काम गर्ने भनेर गाउँमै कृषि गर्न थालेको हो।’
महाकाली नदी पारि दोधारा चाँदनी नगरको जोगबूढा नदीले घेरेको बिरानो बस्ती हो, सुन्दर नगर। प्रेम भारतसँग जोडिएको पुछारको नेपाली बस्तीको उर्वरभूमिमा कृषि कर्ममा जमेका छन्।
दोधारा चाँदनीको टापुमा कृषि उब्जाउ गरेर सदरमुकाम महेन्द्रनगरलगायत क्षेत्रमा उनी बिक्री गर्ने गरेका छन्।
प्रेमले पुष्प व्यवसाय र तरकारी खेती गरेका छन्। सुन्दरनगरमा प्रेमले १० कट्ठा जमिनमा सयपत्री फूलको खेती गरेका छन्।
फूलसँगै तरकारी खेती पनि गर्ने उनले कृषि उद्यमबाट नै जीविकोपार्जन गर्दै आएका छन्। भारतबाट फर्किएपछि सुरुमा प्रेमले ५ लाखको लगानीमा बंगुरपालन गरे।
बंगुरपालन उनलाई फापेन। बजार नपाउँदा घाटा लागेर बंगुरपालन छोड्नु पर्यो। त्यसपछि पनि उनी हरेश नमानेर स्वदेशमै उद्यम गर्ने सोचबाट पछि हटेनन्।
बंगुरपालन छोडेर उनी पुष्प खेतीमा जोडिए। तर उनलाई पुष्प खेती सम्बन्धी कुनै ज्ञान, सीप थिएन। अनलाइन प्लेटफर्म युट्युबबाट फूल खेती सम्बन्धी सीप सिकेको प्रेम बताउँछन्।
‘बंगुरपालन निकै घाटा लागेपछि पुष्प खेतीतिर डोरिएँ। तर त्यसबारेमा केही थाहा थिएन’, उनले भने, ‘अनलाइनमा युट्युब हेरेर पुष्प खेती सम्बन्धी सीप सिकेँ। पुष्प खेतीमा युट्युबले निकै सघाउ पुर्यायो।’
१० कट्ठा जमिनमा सयपत्री खेती गरेका उनी अझै ४ कट्ठा जमिनमा पुष्प खेती विस्तार गर्ने योजनामा छन्।
उनका अनुसार सुरुवातमा भारतको कलकत्ताबाट फूलको बिउ मगाएर आफैंले बेर्ना उत्पादन गरेका थिए।
‘अब बिउ ल्याउनु पर्ने अवस्था छैन। फूलको बेर्ना आफैंले खेतमा उत्पादन गर्ने गरेको छु’, उनी भन्छन्, ‘फूल र माला बेचेर वार्षिक एक लाख भन्दा बढी आम्दानी हुन्छ। यसैबाट परिवारको गुजारा चलेको छ।’
अहिले उनले बारीमा उत्पादन गरेको सयपत्री फूलका बेर्ना खेतमा सारिसकेका छन्। उनका अनुसार असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ। खेतमा सारेको अढाइ तीन महिनाभित्र फूल बिक्रीका लागि तयार हुने गरेको छ।
फूल र माला उनेर बिक्री हुने गरेको प्रेमको भनाइ छ। उनका अनुसार दसैँ तिहारमा दुई सय ५० रुपैयाँ प्रति किलोग्राम माला र एक सय रुपैयाँ फूल मात्रै बिक्री हुने गरेको छ।
यस्तै, दसैँ तिहार बाहेकको समयमा प्रति किलोग्राम पाँच सयका दरले माला र दुई सय रुपैयाँको प्रतिकिलोग्राम फूलले मोल पाउने गरेको छ।
गतवर्ष उत्पादित फूल र माला दोधारा चाँदनी क्षेत्रमै बिक्री गरेर एक लाख १५ हजार आम्दानी गरेको उनले बताए।
‘गतवर्ष दोधारा चाँदनीमै खपत भयो। माग धेरै हुने भएकाले पूर्ति गर्न हम्मे हम्मे पर्छ,’ उनले भने, ‘यस पटक महेन्द्रनगर र धनगढीसम्म फूल र माला पुर्याउने योजना बनाएको छु।’
उनले १० कट्ठा जमिनमा तने बोडी, फर्सी, लौकीलगायत तरकारी पनि खेती गरेका छन्। उनको परिवारमा श्रीमती र दुई छोराछोरी छन्।
फूल खेतीमा श्रीमती, दिदीले पनि सघाउँदै आएका छन्। आवश्यक परेका बेला मजदुर लगाएर पनि खेतमा काम गर्ने गरेको प्रेमको भनाइ छ।
आम्दानीको स्रोतको रुपमा रहेको फूल र तरकारी बिक्री गरेर उनले घरखर्च र बालबालिकाको विद्यालय खर्च जोहो गर्दै आएका छन्।
फूल खेतीमा ४० हजारसम्म खर्च लाग्ने गरेको छ। तरकारी र फूल खेतीबाट लगानी कटाएर वार्षिक तीन लाखसम्म बचत गर्न सकिएको प्रेमले बताए।
Shares
प्रतिक्रिया