ad ad

सुदूरपश्चिम


मिसनमा गएर घर बनाउने र छोरीलाई धनगढी पढाउने भन्थे, तामाकोसीमा बिलायो शंकरको सपना

मिसनमा गएर घर बनाउने र छोरीलाई धनगढी पढाउने भन्थे, तामाकोसीमा बिलायो शंकरको सपना

गोकुल जोशी
असोज १५, २०८१ मंगलबार १९:३१, कञ्चनपुर

बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, देउमडाका २६ वर्षीय शंकर चन्द नेपाली सेनाका जवान थिए। दोलखाको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षामा उनी तैनाथ थिए। 

उनले शनिबार बिहान साढे १० बजेतिर आफ्ना बुवाआमालाई सम्पर्क गर्न खोजे। शंकरले आमाबुवासँग कुराकानी गर्न गाउँकै छिमेकी नातेदारलाई सम्पर्क गर्थे। त्यस दिन नातेदार घाँस काट्न गएका बेला परेछ। १२ बजेतिर घर गएपछि मात्र बुवाआमासम्म कुरा पुग्यो।

देउमडास्थित शंकरको घरमा पुगेर फोन सम्पर्क गर्दा उनको मोबाइल ‘स्वीच अफ’ (बन्द) भइसकेको थियो। शनिबार बेलुकासम्म पनि शंकरसँग परिवारको सम्पर्क भएन।

छोराको फोन कुरिरहेका वृद्ध आमाबुवाले बेलुका सुने, शंकर त पहिरोमा पुरिए। एकाएक परिवारमा सन्नाटा छायो। 

‘बेलुका कर्नेल साबले फोन गरेर ऊ (शंकर) पहिरोमा पुरिएर बेपत्ता रहेको दुःखद् खबर सुनाए। आमाबुवालाई सिधै बताउन सकेनौँ,’ शंकरका दाइ चक्रबहादुर चन्दले भने, ‘पछि छोराको पीडादायी दुर्घटना सुनेपछि सम्हालिन सक्नुभएन।’

६० वर्षीय बुवा तेजबहादुर र ५२ वर्षीया आमा मानमती देउमडामा बस्छन्। साइँला छोरा शंकरका ४ दाजुभाइ थिए। दाइहरू धीरेन्द्र र डम्बर, अनि भाइ राजेन्द्र भारतमा काम गर्छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७, बाँसखेडामा तेजबहादुरका छोराको परिवारको बसोबास छ। 

शंकरले तीन वर्षअघि बझाङकी प्रश्नासँग बिहे गरेका थिए। शंकरकी ९ महिने छोरी पनि छिन्। शंकरको प्रश्नासँग शुक्रबार कुराकानी भएको थियो। त्यसबेला उनी माइती घरमा थिइन्। शंकरले श्रीमतीसँग भलाकुसारी गरेका थिए। छोरीको बारेमा सोधेका थिए। 

त्यसको भोलिपल्टै शंकर पहिरोमा च्यापिए।

परिवारका अनुसार, शंकर दसैँमा घर आउने तयारीमा थिए। ९ महिनाअघि छोरी जन्मिँदा मात्र उनी घर आएका थिए। 

यसपाली ४ वटै दाजुभाइले पहाडमा दसैँको बेला पूजाआजा गर्ने घरसल्लाह गरेका थिए। शंकर पनि बिदा मिलाएर पूजाआजामा सामेल हुने सोचमा थिए। तर माथिल्लो तामाकोसीको जलविद्युत आयोजनाको पहिराले शंकरको यो धोको समेत अपूरो रह्यो।

‘बुहारी माइतीबाट घर आउने र दाजुभाइहरू १८-१९ गते दसैँमा पूजाआजाका लागि पहाड जाने तयारी थियो,’ पुष्कर भन्छन्, ‘पहिरोले सबै सपना चकनाचुर गरिदियो।’

घटनापछि शंकरकी श्रीमती प्रश्ना, आमा मानवती विक्षिप्त अवस्थामा छन्। भावविह्वल उनीहरू सम्हालिन सकेका छैनन्।

९ महिने छोरी टुहुरी बनेकी छन्। श्रीमती र आमालाई छरछिमेक, इष्टमित्रले शान्त्वना दिइरहेका छन्।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा परेको पहिरोमा परेर बेपत्ता शंकरको आइतबार क्षतविक्षत अवस्थामा शव भेटिएको थियो।

मंगलबार शव प्राप्त गरेपछि शंकरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित महाकाली घाटमा अन्त्येष्टि गरिएको छ।

शंकरको दुःखान्तपछि बैतडीमा रहेका बुवाआमा र माइतीघर गएकी श्रीमती प्रश्ना फर्किएर कञ्चनपुरको भीमदत्त–१७, बाँसखेडास्थित घरमा छन्। भारतका विभिन्न ठाउँबाट शंकरका दाजुभाइ पनि घर फर्किएका छन्। 

दोलखाको गरुड गण दलमा कार्यरत शंकर ९ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए।

शंकरले धनगढीमा केही वर्षअघि आधा कट्ठा घडेरी किनेका थिए। जागिरबाट कमाएको पैसा र बैंकबाट केही ऋण निकालेर घडेरी जोडेका शंकरले त्यसमा घर बनाउने सपना श्रीमती र बुवाआमालाई सुनाइरहेका हुन्थे। धनगढीमा घर बनाउन पाए पहाडका गाउँमा भन्दा छोरीले शिक्षा पनि राम्रो पाउने उनको तर्क थियो।

९ महिने छोरीले राम्रोसँग बुवा पनि भन्न नपाउँदै शंकर अलप भएका छन्।

‘परिवारको खम्बा थियो। सबैको आशा उसमै थियो,’ पुष्कर भन्छन्, ‘जमिन किन्दा बैंकबाट लिएको ऋण तिर्न बाँकी नै छ। शान्ति मिसनमा विदेश गएर ऋणसापट तिर्ने र घर बनाउने सपना थियो। शंकरसँगै सबै बिलायो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .