कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पन्तले १ हजार ७४ मतान्तरले नेकपा एमालेका नारदमुनि रानालाई पराजित गरेका हुन्।
कांग्रेसका पन्तले २१ हजार ३९२ मत ल्याए। उनका प्रतिस्पर्धी एमालेका रानाले २० हजार ३१८ मत मात्रै ल्याउन सके। यस्तै, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३४९ मत प्राप्त गरे।
यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा चुनाव लड्न चाहेकी थिइन्। त्यसका लागि उनी एकल सिफारिसमा समेत परिन्।
नेपाली कांग्रेसबाट ०७४ मा कैलाली ५ बाट स्पर्धा गरेकी राणा त्यस बेला एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। त्यस बेला कांग्रेसबाट पुष्करनाथ ओझाले पनि चुनाव लड्न चाहेका थिए। तर, अन्तिममा टिकट नपाएपछि असन्तुष्ट बनेका थिए।
ओझाको अन्तर्घातका कारण आरजु पराजित हुनुपरेको आरोप लगाउँदै कांग्रेसले ओझालाई कारबाही गरेको थियो। यसपटक उनै ओझाले समस्या गर्ने आकलन सहित अन्तिममा आरजु समानुपातिकतर्फ लागेकी थिइन्।
आरजुले कैलाली ५ छोड्दा गठबन्धनको साझा उम्मेदवार बन्ने मौका पाए, कांग्रेसका डिल्लीराज पन्तले। उनले चुनाव पनि जितेका छन्।
०७४ मा आरजुलाई पराजित गर्ने एमालेका नारदमुनिलाई रोक्दै डिल्लीराज संघीय संसद उक्लिएका हुन्।
एमालेले ०७४ को विरासत जोगाउन सकेन। डिल्लीराज ०७४ को चुनावमा कैलाली क्षेत्र नं. ५ को प्रदेश सभा २ मा जितेका थिए।
Shares
प्रतिक्रिया