ad ad

अटो


सुन्दर यातायातका ७ वटा विद्युतीय बस आइपुगे, बुटवल र भैरहवामा पनि सञ्चालन गरिने

सुन्दर यातायातका ७ वटा विद्युतीय बस आइपुगे, बुटवल र भैरहवामा पनि सञ्चालन गरिने

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ७:५०,

सुन्दर यातायात प्रालिले थप सातवटा विद्युतीय बस नेपाल ल्याएको छ। काठमाडौं र भैरहवामा विद्युतीय बस सञ्चालनको लागि थप बस भित्र्याएको हो।

कम्पनीका अध्यक्ष भेष बहादुर थापाले आइतबार सातवटा विद्युतीय बस वीरगञ्ज आइपुगेको नेपालखबरलाई जानकारी दिए। उनका अनुसार सातवटा विद्युतीय बसमध्ये तीनवटा काठमाडौंमा सञ्चालन गर्ने र बाँकी बुटवल–भैरहवामा सञ्चालन गर्ने बताए।

‘काठमाडौंमा तत्कालै विद्युतीय बस सञ्चालन गर्न कम्पनीलाई गाह्रो छैन किनकि हाम्रो आफ्नै चार्जिङ स्टेसन छन्। तर उपत्यकाबाहिर विद्युतीय बसको लागि कुनै पूर्वाधार नभएकाले सञ्चालन गर्न केही समय लाग्छ’, उनले भने।

सुन्दर यातायातले हाल काठमाडौंका तीन ठाउँमा चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ। सीतापाइला, सुकेधारा र भत्केको पुलमा कम्पनीको आफ्नै चार्जिङ स्टेसन छ।

‘बुटवल–भैरहवामा रुटमा पुस १५ भित्र चार्जिङ स्टेसन निर्माण गर्ने तयारीमा छौं। त्यसको केही समयपछि बुटवल–भैरहवामा पनि विद्युतीय बस सञ्चालन हुन्छ’, अध्यक्ष थापाले भने। सार्वजनिक विद्युतीय सवारीको लागि विद्युतीय चार्जिङ स्टेसन निर्माणमा सरकारले कुनै चासो नदिएको गुनासो गरे।

चक्रपथमा चारवटा विद्युतीय बस सञ्चालनमा
सुन्दर यातायातले काठमाडौंको रिङरोड (चक्रपथ)मा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ। कम्पनीले चिनियाँ कम्पनी बीएकेले निर्माण गरेको बस चालकसहित ४५ सिट क्षमताको रहेको छ। गाडीमा सीसी क्यामरा, जीपीएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री सुविधाका रहेका छन्।

अब आफ्नै प्लान्ट
यसैबीच, कम्पनीले बीएके चाइनिज कम्पनीको सहकार्यमा नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने प्लान्ट बनाउने भएको छ। रूपन्देहीको मोतिपुरमा प्लान्ट निर्माण गर्न लागिएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले बताए। कुल एक अर्बको लगानीमा निर्माण हुनलागेको उक्त प्लान्ट १२ बिघा क्षेत्रफलमा रहनेछ।

प्लान्टमा ७५ प्रतिशत चिनियाँ कम्पनीको र २५ प्रतिशत नेपालीको लगानी रहनेछ। उक्त प्लान्टबाट सुरुमा ५० वटा गाडी एसेम्बल गरिनेछ। तर प्लान्टको क्षमता भने वार्षिक १ हजार गाडी उत्पादन गर्न सकिने रहेको कम्पनीको भनाइ छ। एक वर्षभित्र गाडी उत्पादन थालिसक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .