ad ad

अटो


कोरोनाले पिरोलेको वर्ष अटो क्षेत्रमा ६५ अर्बको आयात, कुन सवारीसाधन कति भित्रिए?

कोरोनाले पिरोलेको वर्ष अटो क्षेत्रमा ६५ अर्बको आयात, कुन सवारीसाधन कति भित्रिए?

वसन्त अर्याल
साउन १२, २०७७ सोमबार ११:४१,

गत वर्ष दैनिक औसतमा ५ सय ७२ वटा दुईपांग्रे सवारीसाधन नेपाल आयात भएका छन्। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार औसत ५ सय ७२ वटा दुईपांग्रे सवारी आयात भएका हुन्।

२०७६ साउनदेखि २०७७ असार मसान्तसम्म २ लाख ८ हजार स्कुटर तथा मोटरसाइकल आयात भएको तथ्यांकमा उल्लेख छ। जुन आर्थिक वर्ष २०७५/०७६ को तुलनामा कम हो। २०७५/०७६ मा २ लाख ७२ हजार मोटरसाइकल तथा स्कुटर आयात हुँदा दैनिक औसतमा ७ सय ४५ वटा हुन्छ।

गत आवमा कोभिड १९ का कारण समग्र अटो सामग्री तथा साधन आयात २६ अर्बले घट्दा दुईपांग्रे सवारीमा पनि यसको प्रभाव परेको छ। विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ९१ अर्ब ३१ करोडको सवारीसाधन आयात भएकोमा २०७६/०७७ मा आवमा ६५ अर्ब २ करोडको मात्रै आयात भएको छ।

गत आर्थिक वर्षमा ५० देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीसाधन सबैभन्दा बढी आयात भएका छन्। इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटर २ लाख ७ हजार वटा आयात भएका छन् भने विद्युतीय मोटरसाइकल तथा मोपेड ६७ वटा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

दुईपांग्रे मात्रै १८ अर्ब ६५ करोड बढीको आयात भएको हो। विशेषगरी नेपालको तराईमा बढी प्रयोग हुने साइकल मात्रै २ लाख ९२ हजार आयात भएका छन्। जसको आयातित मूल्य १ अर्ब १३ करोड रहेको छ।

करिब १ अर्बका तीनपांग्रे सवारी
गत आर्थिक वर्ष करिब १ अर्बको मात्रै तीन पांग्रे सवारी आयात भएको छ। पेट्रोलबाट चल्ने र विद्युतीय गरी १ अर्ब रुपैयाँबराबरका यी सवारी आयात भएका हुन्।

पेट्रोलबाट चल्ने तीनपांग्रे अटो रिक्सा ६ हजार ३ सय ५० वटा एकै वर्षमा आयात भएका छन्। त्यस्तै तीनपांग्रे विद्युतीय रिक्सा ८३ वटा र पार्टपुर्जा यहीँ ल्याएर जोडिएका (अनएसेम्बल्ड) तीनपांग्रे सवारीसाधन १२५ वटा आयात भएको विभागको तथ्यांक छ।

त्यस्तै, पेट्रोलबाट चल्ने ९६ करोड ६३ लाख, विद्युतीय अनएसेम्बल्ड रिक्सा १ करोड २७ लाख र ६३ लाख रुपैयाँको एसेम्बल्ड रिक्सा आयात भएको छ।

१३ सय बढी बस भित्रिए
गत आर्थिक वर्षमा १३ सयभन्दा धेरै बस मात्रै आयात भएका छन्। जसमा सबैभन्दा बढी २५ सिटभन्दा माथिका ठूला बस छन् । २५ सिटभन्दा माथिका ५ सय ९ वटा बस आयात भएका छन्। यी बसको मूल्य करिब १ अर्ब रहेको छ।

सार्वजनिक यातायातको लागि प्रयोग हुने सवारीमा मिनीबस कम आयात हुने गरेको छ। उक्त वर्ष ४८ करोड ७३ लाख मूल्यका २६० वटा मिनी बस आयात भएका छन्।

विशेषगरी छोटो दूरीमा चल्ने माइक्रो पनि ४ सय ४६ वटा आयात भएका छन्। यी माइक्रोको आयातित मूल्य ३७ करोड ६१ लाख रुपैयाँ छ।

सिंगल क्याब पिकअपको आयात उच्च
सामग्री ढुवानीका साधन वर्षभरिमा ८ हजार ५ सय २३ वटा आयात भएका छन्। जसमा सामग्री ढुवानीका सिंगल क्याब पिकअप करिब ३ हजार आयात भएका छन्।

ड्राइभरसहित २ सिट क्षमताका सिंगल क्याबका २ हजार सीसीसम्मका २ हजार ९ सय ४६ वटा यस्ता सवारीसाधन आयात भएका छन्। यी सवारीसाधनको मूल्य १ अर्ब ७८ करोड रुपैयाँबराबर रहेको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी सामग्री ढुवानी र २ जनाभन्दा बढी मानिस बोक्ने २ हजार सीसीसम्मका २ हजार ४९ वटा सवारीसाधन आयात भएका छन्। जसको मूल्य २ अर्ब ६८ करोड रहेको छ। ६ देखि २० टनसम्मका ढुवानीका साधन ६ सय ७७ वटा आयात भएका छन्। यसको मूल्य १ अर्ब १८ करोड रहेको छ।

त्यसैगरी क्रेन ११ वटा, फायर फाइटर भेहिकल (दमकल) १८ वटा, कन्क्रिट मिक्स्चर लरीहरु १ सय ३० वटा, ब्रुमर ५ वटा र निर्माणकार्यमा प्रयोग हुने विशेष उद्देश्यका सवारीसाधन ४४ वटा आयात भएका छन्।

त्यस्तै सरकारले भन्सार छुट दिँदै आएको एम्बुलेन्स र शववाहन पनि ६० वटा भित्रिएका छन्।

१५ सय सीसीसम्मका सवारीसाधन आयात बढी
भन्सार विभागले जिप-कार-भ्यानसहित ठूला सवारीसाधनलाई सीसीका आधारमा आयात गर्दै आएको छ। १५ सय सीसीसम्मका सवारीसाधन ६ हजार ६ सय ६१ वटा आयात भएका छन्।

त्यसैगरी ३ हजार सीसीसम्मका १ हजार ८ सय १८ वटा सवारीसाधन आयात भएका छन्। डिजेल इन्जिनका १५ सयदेखि २५ सय सीसीसम्मका सवारी ८ सय ६ वटा आयात भएका छन् भने २५ सय सीसीभन्दा माथिका २ सय ३९ सवारीसाधन आयात भएको छ।

विद्युतीय मोटर भएका अन्य साधन ५ सय ७४ वटा आयात भएको तथ्यांकमा उल्लेख छ। यसको मूल्य १ अर्ब ८६ करोड रहेको छ।

१२ अर्बको सवारीसाधन पार्टपुर्जा आयात
६५ अर्बको कुल अटो सामग्री आयात हुँदा १२ अर्बको सवारीसाधनका पार्टपुर्जामात्रै आयात भएका छन्।

बस, ट्रकका लागि आवश्यक चेसिस, बडी, सिट बेल्ट, बे्रक, गियर बक्स, टायरलगायत गरी कुल ९ अर्ब रुपैयाँ मूल्यको सवारीसाधन पार्टपुर्जा आयात भएको विभागले जनाएको छ।

दुईपांग्रे सवारीसाधन मोटरसाइकल, स्कुटर÷मोपेड, साइकललगायतका पार्टपुर्जा २ अर्ब ५७ करोडको आयात हुँदा १६ करोड ६१ लाखको अन्य सवारीका पार्टपुर्जा आयात भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .