ad ad

अटो


समग्र अटो क्षेत्र सुस्ताउँदा पनि बढ्यो चारपांग्रे पेट्रोल गाडीको आयात

समग्र अटो क्षेत्र सुस्ताउँदा पनि बढ्यो चारपांग्रे पेट्रोल गाडीको आयात

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ८:५,

समग्र अटो क्षेत्रको आयात घट्दा चारपांग्रे पेट्रोल गाडीको आयात गत वर्षको जस्तै रहेको छ। भन्सार विभागको तथ्यांकअनुसार १५ सय सीसीसम्मका पेट्रोल गाडीको आयात गत वर्षभन्दा पनि बढी भएको छ।

गत वर्ष साउनमा पेट्रोल इन्जिनका १५ सय सीसीसम्मका ४ सय १४ गाडी आयात भएकोमा यो वर्ष ४ सय ३५ गाडी आयात भएको तथ्यांकले देखाएको छ।

नेपालमा बिक्री नभए पनि व्यवसायीले आफ्नो लक्ष्य पूरा गर्न गाडी आयात गरेको बताउँछन्।

‘हाम्रो टारगेट अनुसार अर्डर गएको हुन्छ। अब त्योअनुसार टारगेट (लक्ष्य)अनुसार गाडी नराख्दा डिलरसिपलाई पनि अप्ठ्यारो पर्ने हो भनेर आयात भएको हुनसक्छ’, फोर्स मोटर्सका आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने, ‘अहिले आयात भएको गाडी पनि शोरुममा रहेको छ। बिक्री ठप्पै छ।’

केही व्यवसायीले चार्डपर्वलाई पनि लक्षित गरेर गाडी अर्डर गरेका थिए भने लकडाउनका कारण चैतदेखि नै धेरै गाडी भन्सारमा आएर बसिरहेका थिए।

‘लकडाउनको समयमा अर्डर गरेका गाडी भन्सारमा आएर रोकिए। लकडाउन खुलेपछि व्यवसायीले भन्सार पास गर्दा तथ्यांकमा गत वर्षजस्तै देखिनसक्छ’, नाडाका सचिव अनुप कुमार बरालले भने, ‘साउनमा केही आशावादी देखिएको अटो बजार भदौ लागेपछि ठप्प छ।’

अटो व्यवसायीले अहिले पनि भन्सारमा ठूलो मात्रामा गाडी रोकिएको बताएका छन्।

कुन सवारी कति आयात भए?
२०७६ साउनको तुलनामा ७७ साउनमा ३ अर्बको सवारीसाधन र तिनका पार्ट्सको आयात घटेको छ। गत वर्ष ७ अर्ब २८ करोडको आयात भएकोमा यो वर्ष ४ अर्ब २८ करोडको आयात भएको छ।

लामो दूरीमा चल्ने २५ सिटभन्दा ठूला बस ७५ वटा आयात भएकोमा चालू आवमा २५ वटा आयात भएका छन्। पाँच महिनादेखि लामोदूरीको यातायात ठप्प हुँदा कमर्सियल भेहिकलको आयात र माग दुवै घटेको व्यवसायी बताउँछन्।

मिनी बस १५ देखि २५ सम्मका ४२ वटा आएका थिए भने यो वर्ष ३ वटा मात्रै आयात भएको छ।

माइक्रो बस ११ देखि १४ सिटसम्मका ५१ वटा आयात भएकोमा यो वर्ष शून्य आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

प्यासेन्जर भेहिकल (कार) डिजेल इन्जिनका १५ सयभन्दा कमका ९९ वटा आएकोमा चालू आवमा ६७ गाडी मात्रै आयात भएका छन्। १५ सयदेखि २५ सय सीसीसम्मका ९० वटा गाडी आयात भएकोमा यो वर्ष ४३ वटा गाडी आयात भएका छन्। गत वर्ष २५ सय सीसीभन्दा माथिका २४ वटा आयात भएकोमा यो वर्ष ४ वटा मात्रै आयात भएको तथ्यांकले देखाएको छ।

गत आवमा विद्युतीय गाडी २ सय ९० वटा आयात भएका थिए भने चालू आर्थिक वर्षमा शून्य आयात रहेको छ। हजार सीसीसम्मका अटो रिक्सा ७ सय ९ वटा रहेका छन्। यो वर्ष ४६ वटा मात्रै आयात भएको छ।

ढुवानीका साधन
ड्राइभरसँगै २ भन्दा बढी बस्न सक्ने पिकअपको आयात गत वर्ष २११ वटा आयात भएकोमा यो वर्ष १३४ आयात भएका छन्। त्यस्तै गत वर्ष ड्राइभरसहित दुई जनामात्रै बस्न मिल्ने सिंगल क्याप पिकअप ३५७ गाडी आयात भएकोमा यो वर्ष ३०२ वटा आयात भएको छ।

डिजेल इन्जिन सामान ढुवानीका २० टनसम्मका २५१ वटा आयात भएका थिए भने यो वर्ष ११८ वटा मात्रै आयात भएका छन्।

व्यवसायीले सार्वजनिक यातायातमा प्रयोग हुने बस, जिप, माइक्रोको बिक्री शून्यबराबर भए पनि पिकअपसहित ढुवानीका गाडीको बिक्री लकडाउन खुलेपछि रा्रमै रहेको बताउँछन्।

दुईपांग्रे सवारी
लकडाउन खुलेसँगै दुईपांग्रे सवारीको व्यापार राम्रो रहे पनि आयात भने ह्वात्तै घटेको छ। दुईपांग्रे व्यवसायीले साउनमा ८० प्रतिशतसम्म व्यापार भएको बताउँदै आएका छन्।

गत वर्ष ५० देखि २५० सीसीसम्मका दुईपांग्रे ३१ हजार ९ सय ३९ दुईपांग्रे सवारी आयात भएका थिए भने यो वर्ष ८ हजार २२५ मात्रै आयात भएको तथ्यांकले देखाएको छ।

नेपालमा सर्वाधिक बिक्री हुनेमा २५० सीसीसम्मका दुइपांग्रे रहेका छन्। जसमा स्कुटरसमेत पर्छन्। २५० देखि ५ सय सीसीसम्म २७६ मोटरसाइकल आयात भएकोमा यो वर्ष २०५ वटा आयात भएका छन्।

विद्युतीय ४३ दुईपांग्रे आयात भएका थिए। यो वर्ष ४० वटा आयात भएका छन्।

तराईमा बढी चल्ने साइकल कोभिडको १९ को लकडाउनको कारण उपत्यकामा साइकलको बिक्री बढेको व्यवसायीले बताउँदै आएका थिए। तर समग्र साइकलको आयात पनि १० हजारले घटेको छ। गत वर्ष साइकल ४० हजार ८ सय २८ आयात भएका थिए। यो वर्ष ३० हजार ५ सय मात्रै आयात भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .