चर्चित कार निर्माता औडीले चिनियाँ कार उत्पादक एफएडब्ल्यूसँग मिलेर विद्युतीय विलासी कार उत्पादन गर्ने भएको छ।
बीबीसीका अनुसार चीनकै तेस्रो ठूलो कारनिर्माता एफएडब्ल्यूसँग मिलेर कार उत्पादन गर्नलागेको हो।
जर्मन विलासी ब्रान्ड औडीले विश्वकै ठूलो कारबजारमा प्रवेश गर्ने योजना बनाएको हो। कम्पनीले यसका लागि चिनियाँ कार उत्पादक गिली र साइकजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
ज्वाइन्ट भेन्चर अर्थात् संयुक्त उपक्रममा आधारित कारखानाले पूर्ण विद्युतीय औडी मोडलका कार उत्पादन गर्ने बताइएको छ।
४ अर्ब ६० करोड अमेरिकी डलर लागत अनुमान गरिएको कारखाना २०२४ मा उत्तरपूर्वी चीनको चुंगचुनमा सञ्चालनमा आउनेछ।
यसबारे औडी चाइनाले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
चीन औडीका लागि ठूलो कार बजार हो। सन् २०२० मा औडीले चीनमा ७ लाख कार बिक्री गरेको थियो।
सन् २०२५ सम्म चीनमा एकतिहाइ विद्युतीय कार बिक्री गर्ने औडीको योजना छ। औडी र यसको स्वामित्वकर्ता कम्पनी फक्सवागनले ज्वाइन्ट भेन्चरमा ६० प्रतिशत सेयर स्वामित्व लिनेछन् भने एफएडब्ल्यूको ४० प्रतिशत सेयर रहनेछ।
एफएडब्ल्यूले यसअघि नै औडीका कार चीनमा उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया