ad ad

अटो


हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली

हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली

वसन्त अर्याल
माघ १४, २०७७ बुधबार १३:९,

अर्बपति एलन मस्कलाई विश्वकै धनी बनाइदिएको चर्चित विद्युतीय कार कम्पनी टेस्लाबारे अहिले सर्वाधिक चासो छ।

विश्वमा बजार विस्तारमा लागेको टेस्ला नेपालमा पनि बिक्रीवितरण सुरु भइसकेको छ भने भारतमा आउने पनि लगभग निश्चित भएको छ।

हङकङबाट ७ वटा कार आयात गरी दुईवटा कम्पनीले नेपालमा ५ वटा टेस्ला कार बिक्री गरेका वा आफैँले प्रयोगमा ल्याएका छन्। दुईवटा कारहरु भने भन्सारमा ‘क्लियरेन्स’ पर्खिरहेका छन्।

पछिल्लो समय संसारका चर्चित कार कम्पनीहरुलाई पछि पार्दै टेस्ला विश्व नम्बर १ कार ब्रान्ड बनेको छ। ‘लखपति’ जन्माउने कार कम्पनी बनेको छ।

यस्तो कम्पनी नेपाल आउनु चासोको विषय त हुँदै हो, यहाँ टेस्लाका कार चढ्नेहरुबारे झनै ठूलो चासो छ।

tesla hastantaran 1
टेस्लाका कारधनीलाइ हस्तान्तरण गरिँदै। तस्बिरः टेस्ला नेपाल/फेसबुक

यी हुन् नेपालमा टेस्लाका कार चढ्नेहरु
नेपालमा बैंकका अध्यक्षदेखि मिडिया मालिकसम्मले टेस्लाका कार चढेको पाइएको छ। यहाँ भित्रिएका पाँचमध्ये टेस्ला एक्स र मोडल ३ का तीनवटा कार सडकमा गुड्नथालेका छन्।

श्रीमा डिस्ट्रिब्युटर्स प्रालिले एक्स लङ रेञ्ज मोडलका चारवटा गाडी हङकङबाट नेपाल भित्र्याएको थियो। यीमध्ये २ वटा भन्सारबाट छुटेका छन् भने २ वटा छुट्नसकेका छैनन्। मोडल एक्स टेस्लाको विलासी कारको रुपमा विश्वभर परिचित छ।

त्यसैगरी अरेत इन्टरनेश्नल प्रालिले टेस्लाका ३ वटा गाडी भित्र्याएको छ। यी तीनवटै गाडी नेपालमा गुडिरहेको कम्पनीले जनाएको छ। यी गाडी नेपालीले ‘अफोर्ड’ गर्नसक्ने मूल्यका छन्।

एक्स मोडलका दुईवटा कारमध्ये एउटामा सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडिया चढ्दै आएका छन् भने अर्को श्रीमा डिस्ट्रिब्युसन आफैँले प्रयोगमा ल्याएको छ।

अरेतले भित्र्याएका मोडल३का तीनवटा गाडीमध्ये एउटा विश्वनाथ ट्रेड हाउसका सञ्चालक तरुण प्रताप शाहले चढ्दै आएका छन्। उनी अनलाइन मिडिया नेपाल समय प्रालिका प्रबन्धनिर्देशक समेत हुन्।

मोडल ३ को अर्को गाडी नेबिको बिस्कुट इन्डस्ट्रिज बालाजुको नाममा बिक्री भएको छ भने एउटा कम्पनी आफैँले प्रयोगमा ल्याएको नेपालखबरलाई जानकारी दिएको छ।

अरेत इन्टरनेशनलले थप दुई गाडी आउँदै गरेको बताएको छ। नेपालमा टेस्ला साउथ चाइना एक्जिम लिमिटेड हङकङबाट ल्याइएको हो।

सन् २०२० मा मात्रै टेस्लाले ५ लाख गाडी उत्पादन गरेको थियो। तीमध्ये ४ लाख ९९ हजार ५५० गाडी अर्थात् अधिकांश गाडी बिक्री गरेको कम्पनीले उल्लेख गरेको छ। वर्षभरिमा कम्पनीले एक्स मोडलको ५७ हजार ०३९ गाडी बिक्री गरेको छ भने मोडल–३ चार लाख ४२ हजार ५११ वटा बिक्री भएको छ।

model 3
टेस्ला माेडल ३ 

कुन मोडलका कार कस्ता? यस्तो छ मूल्यसूची
नेपालमा मोडल ३ मा रातो, कालो र सेतो गाडी नेपाल भित्रिएका छन्। मोडल ३ स्ट्यान्डर्ड रेन्जको गाडी रहेको छ। अहिले यसको मूल्य १ करोड २५ लाख छ।

यसमा सामान्य गाडीमा प्रयोग हुने मिटरलगायतको बोर्ड एउटै डिजिटल स्क्रिनबाट प्रयोग गर्न सकिन्छ। उक्त गाडीमा एसी कन्ट्रोल सिस्टम जडान गरिएको छ। डिजिटल कन्ट्रोलबाटै एसीको हावालाई कताबाट चलाउने भन्ने सुविधा यसमा छ।

गाडीमा १४७ किलोवाटको सिंगल मोटर रहेको छ। एकपटक फुल चार्ज गर्दा ४३० किलोमिटर गुड्ने माइलेज छ। डीसी चार्जबाट ४५ मिनेटमा चार्ज गर्न सकिने मोडल ३ घरमा चार्ज गर्दा ५/६ घण्टा लाग्छ।

त्यस्तै मोडल एक्सको मूल्य नेपालमा साढे ३ करोड रुपैयाँ पर्छ। हाल नेपाल सरकारले ५० हजार डलरमाथिको गाडी आयातमा प्रतिबन्ध लगाएसँगै तत्काल एक्स मोडलका गाडी भित्रिने सम्भावना बन्द भएको छ। पहिला नै एलसी खोली बोर्डरमा रहेका मात्रै आउन पाउनेछन्।

मोडल एक्स एकपटक फुल चार्ज गर्यो भने ५६१ किलोमिटरसम्म गुड्न सक्छ। सुपर चार्जबाट यो गाडी डेढ घण्टामै चार्ज गर्न सकिन्छ। घरको सामान्य चार्जबाट भने ३२ घण्टा लाग्छ। अलि फास्ट चार्जरबाट गर्दा १५ घण्टा लाग्छ।

गाडीमा सबैभन्दा आकर्षक फाल्कन ब्याकडोर रहेको छ। जहाँ प्यासेन्जर बस्दा ननिहुरिकन गाडीमा बस्न सकिन्छ। गाडीको ढोका खोल्दा वा बन्द गर्दा तान्नुपर्दैन, स्विचबाट आफैँ खुल्ने र बन्द हुने गर्छ। अग्लो र अशक्त मानिसलाई पनि गाडीमा चढ्नको लागि सहज हुन्छ।

विद्युतीय गाडीमा टेस्ला विश्वकै उत्कृष्ट मानिँदै आएको छ। एक्स मोडल अलह्विल ड्राइभ अर्थात् सबै पांग्रा समान रुपले गुड्ने विशेषतायुक्त रहेको छ। गाडीमा अगाडि र पछाडि दुईवटा मोटर रहेको छ।

tesla x
टेस्ला माेडल एक्स

६ वटा चार्जिङ स्थापना हुँदै
अरेत इन्टरनेशनलले नेपालमा ६ वटा चार्जिङ स्टेसन निर्माण गर्दै छ। उसले भिल्ला ७२ मा फास्ट चार्ज हुने एउटा स्टेसन राखिसकेको छ। त्यस्तै सांग्रिला हाेटल काठमाडौं र पोखरामा छिट्टै एक–एक डीसी चार्जिङ स्थापना हुनलागेको कम्पनीले जानकारी दिएको छ।

अरेत इन्टरनेशनलले नक्सालमा आफ्नो कार्यालय स्थापना गर्दै छ। त्यहाँ ३ वटा चार्जिङ स्टेसनसहितको कार्यालय हुने कम्पनीले नेपालखबरलाई जानकारी दिएको छ। हाल नेपालमा डिसी चार्ज स्थापना नहुँदा विद्युतीय गाडीमा फास्ट चार्जिङको लागि समस्या रहँदै आएको छ। 

यो पनि–
जो व्यवसायमा जोखिम मोल्दै मोल्दै संसारकै धनी बने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .