ad ad

अटो


कोरोना महामारीमा फस्टायो अटोबजार, ३६ प्रतिशतले बढ्यो मोटरसाइकल आयात

कोरोना महामारीमा फस्टायो अटोबजार, ३६ प्रतिशतले बढ्यो मोटरसाइकल आयात

वसन्त अर्याल
बैशाख १२, २०७८ आइतबार ११:४६,

कोभिड महामारीका कारण अधिकांश व्यवसाय मारमा परे पनि अटो व्यवसाय भने फस्टाएको छ।

चालू आवको नौ महिनाको समयमा मोटरसाइकल तथा स्कुटर आयात ३६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

गत वर्षको सोही समयमा १ लाख ९७ हजार मोटरसाइकल आयात भएकोमा यो वर्ष २ लाख ६८ हजार बढी आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार महामारीको बीचमा पनि सामान्य अवस्थामा भन्दा बढी सवारीसाधन बिक्री भएको देखिएको छ।

अटो व्यवसायीहरुले गत वर्ष चैत महिनासम्म ५९ अर्ब रुपैयाँको सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात गरेका थिए।

तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्म ७३ अर्ब ८६ करोड रुपैयाँको सवारीसाधन र पार्टपुर्जा आयात भएको छ।

महामारीको बीचमा दुईपांग्रे सवारीसाधनसँगै पेट्रोलका चारपांग्रे गाडीको आयात बढेको तथ्यांकले देखाएको छ।

सामान्य अवस्था रहेको आर्थिक वर्ष २०७५/०७६ को नौ महिनामा पनि सावारीसाधन तथा त्यसको पार्टपुर्जा ६९ अर्ब ७९ करोडको मात्रै आयात भएको थियो। जुन चालू आर्थिक वर्षभन्दा कम हो।

सवारी आयातकर्ता तथा बिक्रेताको छाता संठगन नाडा अटोमोबाइल एसोसिएसनले हरेक वर्ष भदौ÷असोजमा आयोजना गर्ने नाडा अटो शोमार्फत बढी कारोबार गर्दै आएको थियो। नाडाले चालू आर्थिक वर्षमा कोभिड महामारीको कारण नाडा अटो शो गर्न सकेन।

अटो व्यवसायीले नाडा अटो शो नहुँदा व्यवसायमा ठूलो असर पर्ने बताए पनि हाल विगतभन्दा बढी कारोबार भएको छ।

चालू आर्थिक वर्षको असारदेखि चैतसम्म २५० सीसीसम्मका २ लाख ६२ हजार १ बाइक तथा स्कुटर आयात भएका छन्। गत वर्षको यही अवधिमा १ लाख ९४ हजार बाइक आयात भएका थिए।

त्यसअघिको आर्थिक वर्ष २०७५÷०७६ को चैतसम्म २ लाख ३ हजार १८३ वटा बाइक तथा स्कुटर मात्रै आयात भएका थिए।

यो वर्ष २५० देखि ४०० सीसीसम्मका बाइक ६ हजार ७७३ वटा आयात भएका छन्। गत वर्षको ९ महिनामा ३ हजार ४८९ बाइक आयात भएको थियो। २०७५÷०७६ मा २२ सय ४४ वटा बाइक आयात भएका थिए।

अटो व्यवसायीहरु कोभिडको समयमा सार्वजनिक यातायातभन्दा व्यक्तिगत सवारीमा यात्रा गर्दा कोरोना संक्रमण फैलिने सम्भावना कम हुने हुँदा दुईपांग्रे सवारीसाधनको बिक्री राम्रो भएको बताउँछन्।

चालू आर्थिक वर्ष विद्युतीय बाइक तथा स्कुटर ११ सय ९२ वटा आयात भएका छन्। गत वर्षको यही अवधिमा ९८९ वटा विद्युतीय स्कुटर तथा बाइक आयात भएको थियो।

महामारीको बीचमा कुन सवारी कति आयात भए?
भन्सार विभागको तथ्यांकअनुसार हजार सीसीभन्दा कमका पेट्रोल इन्जिन गाडी १९५१ वटा आयात भएका छन्। गत वर्ष १७ सय १६ वटा आयात भएका थिए।

पेट्रोल इन्जिनकै हजारदेखि १५ सय सीसीसम्मका ७ हजार ८४५ वटा आयात भएका छन्। गत वर्ष यही अवधिमा ४ हजार ५३८ वटा आयात भएका थिए।

चालू आवमा डिजेल इन्जिनका गाडीको आयात भने घटेको छ। गत वर्ष चैतसम्म १५ सय ६१ वटा आयात भएकोमा यो वर्ष १ हजार ८ वटा मात्रै आयात भएका छन्।

९ महिनामा गत वर्ष ७ सय १६ वटा गाडी आयात भएकोमा चालू आवमा १५ सयदेखि २५ सयसम्मका ६ सय ६३ वटा गाडी आयात भएका छन्।

महामारीको बीच बस, मिनिबसलगायत कमर्सियल गाडीको आयात घटे पनि साना समान ढुवानीका साधनको आयात भने बढेको छ।

९ महिनामा डबल क्याब पिकअप १९६० वटा आयात भएका छन् भने सिंगल क्याबका पिकअप ४ हजार ३७० आयात भएका छन्। गत वर्षको यहि अवधिमा डबल क्याब पिकअप १८ सय ३० वटा आयात भएका थिए भने सिंगल क्याबका २६ सय ७० वटा थिए।

गत वर्षको ९ महिनामा ४९१ वटा बस आयात भएका थिए भने मिनीबस २५४ वटा थिए। यो वर्ष ९ महिनामा १८४ वटा बस र र ९६ वटा मिनिबस आयात भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .