ad ad

अटो


विश्व युरो ७ मापदण्डमा जाँदै, नेपाल धुवाँ फाल्ने गाडीकै ‘डम्पिङ साइट’?

विश्व युरो ७ मापदण्डमा जाँदै, नेपाल धुवाँ फाल्ने गाडीकै ‘डम्पिङ साइट’?

बसन्त अर्याल
माघ १९, २०७६ आइतबार १२:४७,

जर्मनीमा आगामी जुन १६ देखि १८ सम्म ‘पाथ टुवार्डस युरो ७’को विषयमा सम्मेलन हुँदै छ। उक्त सम्मेलनमा पेट्रोल तथा डिजेलबाट हुने प्रदूषण कम गर्न भविष्यमा के–के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।
युरो ७ मापदण्ड लागू गर्नुपूर्व प्रविधि र इन्जिनियरिङका क्षेत्रमा के कस्ता कुरा विकास गर्न सकिन्छ भन्ने कुराको छलफल हुनेछ ।

विश्वका अधिकांश देशमा सन् २०१५ देखि नै युरो ६ मापदण्ड लागू भइसकेको छ। भारतमा अप्रिल २०२० बाट युरो ६ बराबरकै मापदण्ड ‘बीएस ६’ लागू हुँदै छ। विश्वमा कम प्रदूषण उत्सर्जन गर्ने प्रविधिको विषयमा छलफल हुँदै गर्दा नेपालमा भने अझै युरो ३ मापदण्ड नै लागू छ। नेपालले २ वर्षअघि युरो ४ लागू गर्ने भनी छलफल चलाए पनि अहिले सबै चुपचाप बसेका छन्।

कसले लुकायाे युरो ४ को मस्यौदा?
नेपालमा अहिले युरो ३ बराबरको मापदण्ड लागू छ। वि.सं. २०७४ मा केपी शर्मा ओलीको सरकार गठन भएपछि केही समय वातावरण मन्त्रालय सम्हालेका मन्त्री लालबहादुर पण्डितले नेपालमा अत्यधिक वातावरण प्रदूषण भएको भन्दै युरो ४ बराबर मापदण्ड लागू गर्ने तथा काठमाडौंलाई मास्कमुक्त बनाउने घोषणा गरेका थिए। तर दुई वर्ष हुँदा पनि युरो ४ बराबरको मापदण्ड लागू गर्ने विषय छलफलमै रहेको छ।

यातायात व्यवस्था विभागले युरो मापदण्डबराबरको मस्यौदा बनाएर वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा पठाए पनि त्यो फाइल कहाँ छ मन्त्रालयका कर्मचारीलाई थाहा नै छैन। ‘हामीले त युरो ४ सम्बन्धी मापदण्डको मस्यौदा लेखेर पठाएका छौं। वातावरण मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयले के गर्दै छन्, थाहा भएन’, यातायात व्यवस्था विभागका एक इन्जिनियरले नेपालखबरसँग भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारी भने युरो ४ मापदण्ड लागू गर्ने विषयमा मन्त्रालयमा छलफल नै नभएको बताउँछन्। ‘युरो ४ लागू हुने भए त हल्लाखल्ला सुन्नुहुन्थ्यो होला मन्त्रालयमा यसको छलफल भएको छैन’, एक उच्च अधिकारीले भने, ‘युरो ४ लागू गर्ने निर्णय भयो भने तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ नि !’

पूर्वाधार भए युरो ६ लागू गर्दा फरक पर्दैन : व्यवसायी
साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधर युरो ६ लागू गर्न नेपाललाई कुनै समस्या नहुने बताउँछन्। ‘नेपालमा अधिकांश गाडी भारतबाटै आउने हुन्। युरो ३ बाट युरो ६ मा जान कुनै समस्या हुँदैन। भारत पनि युरो ४ बाट युरो ६ मा गएको हो’, उनले भने।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला नेपालमा युरो ६ लागू गर्दा पूर्वाधार तयार छ कि छैन भन्ने मुख्य कुरा भएको बताउँछन्।

‘नेपालमा हरेक काम ढिला हुन्छ। युरो ६ ल्याउँदा महंगो त हुन्छ तर सर्वसाधारणको तर्फबाट हेर्नुपर्छ’, उनले भने, ‘वातावरणमा कति असर गरिरहेको छ भन्ने कुरा मुख्य हो। हामीलाई पूर्वाधार निर्माण भए युरो १० भए पनि फरक पर्दैन।’

नाडा अटो मोबाइल एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलाल भने नेपालमा गाडी उत्पादन नहुने हुँदा भारतले जुन मापदण्ड लागू गर्छ नेपालमा स्वतः उही मापदण्ड लागू हुने बताउँछन्। ‘नेपालले युरो ६ लागू गर्दा पनि व्यवसायीलाई केही फरक पर्दैन’, उनले भने, ‘तर १ वर्षको समय दिने हो भने हामी सरकारलाई सहयोग गर्न तयार नै छौँ।’

त्यस्तै नाडा सचिव तथा अटो व्यवसायी अनुप बराल मापदण्ड अपग्रेड हुँदै जानुपर्ने बताउँछन्। नेपालमा पनि युरो ६ लागू गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ।

नेपाल ‘डम्पिङ साइट’ बन्ने सम्भावना
विश्वभर युरो ६ बराबरको मापदण्ड भएका गाडी चल्दा नेपालमा बढी प्रदूषण उत्सर्जन गर्ने युरो ३ र युरो ४ का गाडी उत्पादन चल्न कुनै रोकावट हुनेछैन। भारतमा बीए ६ लागू भएपछि भारतमा उत्पादित बीएस ४ इन्जिन भएका गाडी नेपाल आउने सम्भावना बढी हुने विज्ञहरुले बताउँदै आएका छन्।

साझा यातायातका कार्यकारी निर्देशक तुलाधरले भने, ‘भारत बीएस ६ मा गइसकेपछि त्यहाँ बिक्री नभएका युरो ४ मापदण्डका गाडी नेपाल आउने सम्भावना पनि उत्तिकै हुन्छ।’

तर नाडाका अध्यक्ष कृष्ण दुलाल भने व्यवसायीहरुले नयाँ मापदण्डका गाडी भित्र्याउनै आतुर भएकाले नेपाल ‘डम्पिङ साइट’ नबन्ने बताउँछन्। उनले भने, ‘अधिकांश गाडी भारतमा उत्पादन भएका नै आउने हुन्। त्यहाँ बीएस ६ मापदण्डका गाडी उत्पादन हुँदा नेपालमा पनि त्यही नै आउँछन्, अहिले नै नेपालमा पनि कारहरु त युरो ६ मापदण्डबराबरका नै नेपाल आउनथालेका छन्।’

युरो ३ भन्दा युरो ६ कति फरक ?
युरोपियन देशहरुले पेट्रोलियम पदार्थ तथा प्रविधिको विकाससँगै प्रदूषणकम गर्न मापदण्ड बनाउने गरेको छ। विश्वले युरो ७ को मापदण्डको तयारी गर्दैगर्दा नेपालमा भने युरो ३ नै लागू भइरहेको छ।

सन् २००३ देखि लागू भएको युरो ३ को तुलनामा युरो ६ ले ८६ प्रतिशतले नाइट्रोजन अक्साइड कम उत्सर्जन गर्छ। युरो ३ मा ०.१८ ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्नेमा युरो ६ मा ०.०८ प्रतिशत नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ।

युरो ६ मापदण्डको पेट्रोल इन्जिनले ‘सिओ’ कार्बन मोनो अक्साइड १.० ग्राम प्रतिकिलोमिटर गर्दा युरो ३ ले २.३ ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्छ। त्यस्तै युरो ६ ले टीएचसी ०.१० ग्राम, एनओएक्स ०.०६ ग्राम र एनएमएचसी ०.०६८ ग्राम प्रतिकिलोमिटर गर्छ भने युरो ३ पेट्रोल इन्जिनले टीएचसी ०.२० ग्राम, एनओएक्स ०.१५ ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्छ ।

युरो ६ मापदण्ड डिजेल इन्जिनले सीओ ०.५० ग्राम, एनओएक्स ०.०८ ग्राम र एचसी प्लस एनओएक्स ०.१७ ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्छ भने युरो ३ इन्जिनले सीओ ०.६६ ग्राम, एचसी प्लस एनओएक्स ०.५६ ग्राम, एनओएक्स ०.५० ग्राम प्रतिकिलोमिटर उत्सर्जन गर्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .