मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडामा दीप प्रज्वलन गरेको छ।
आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको चीरशान्तिको कामना गर्दै संघले आज (आइतबार) साँझ दीप प्रज्वलन गरेको हो।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा दीप प्रज्वलन र मौन धारण गरिएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले देशमा देखिएको आर्थिक मन्दीले उद्योगी व्यवसायी चिन्तित बनेको अवस्थामा बैंकको चर्को ब्याजदर, असहज कर्जा प्रवाह नीति, बिक्रीमा आएको शिथिलता, उपभोक्ताको खुम्चदो आर्थिक अवस्थाले उद्योगी व्यवसायीहरु मर्माहत भएको बताए।
उनले यस परिस्थितीमा एक युवा व्यवसायी आत्मदाह गरेको भन्दै उनीप्रति गहिरो समवेदना प्रकट गर्दै आगामी दिनहरुमा व्यवसायीहरुको मनोबल वृद्धि गरि यस्ता अप्रिय घटना हुन नदिन राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
सरकारले व्यवसायमैत्री नीति, नियम निर्माण गरि व्यवसाय तथा बैंकिङ समस्याहरुको तत्काल समाधान गरिनुपर्ने संघको माग रहेको अध्यक्ष गुप्ताले बताए।
दीप प्रज्वलन कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार लगातय व्यवसायीहरुको सहभागिता रहेको थियो।
Shares
प्रतिक्रिया