बागमती प्रदेश सभामा नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन अझै गर्न सकेको छैन।
सांसदहरुकै अन्तरविरोधका कारण प्रदेश संसदीय दलको नेता चयन हुन नसकेको एकीकृत समाजवादीका सांसदहरु बताउँछन्।
७ राजनीतिक दलको प्रतिनिधित्व रहको बागमती प्रदेश सभामा एकीकृत समाजवादीको ७ सिट मात्रै छ। सातमध्ये २ सांसद दलका नेता हुनका लागि लविङ गरिरहँदा सहमति जुट्न नसकेको हो।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले प्रदेश संसदीय दलको नेता चयन गरेसँगै प्रदेश सभामा ६ दलले संसदीय दलको नेता चयन गरिसकेको छ।
बागमतीमा एकीकृत समाजवादी भने पार्टी भित्रकै आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन गर्न अझै अलमलमा परिरहेको छ।
हाल नेकपा एकीकृत समाजवादीका ललितपुरबाट निर्वाचित सांसद डा राजेन्द्रमान श्रेष्ठ र चितवनबाट निर्वाचित कृष्ण शर्मा खानाल संसदीय दलको नेताको दाबेदार हुन्। यसअघि काभ्रेपलाञ्चोक जिल्लाबाट निर्वाचित लक्ष्मण लम्साल पनि दलको नेता बन्ने दौडमा रहेको स्रोतको दावी छ।
थोरै संख्यामा रहेको एकीकृत समाजवादीमा पनि एकआपसमा सहमति हुन नसक्नु नै दलको नेता चयन गर्न नसक्नुको मूल कारण भएको सांसद कृष्णशर्मा खनाल बताउँछन्।
‘पार्टीभित्रकै आन्तरिक कारणले दलको नेता चयन गर्न नसकेको हो। सानो सानो भ्वाङ पर्यो भने टाल्न सजिलो हुन्छ। ठूलो भ्वाङ पर्यो भने टाल्न सकिदैन। हामीमा पनि त्यही भएको हो। यस्तै भैरह्यो भने यो कार्यकाल नै संसदीय दलको नेता चयन नगरी बित्न पनि सक्छ,’ उनले भने।
यता, अर्का दावेदार डा. राजेन्द्रमान श्रेष्ठ भने अबको केही दिनमा एकीकृत समाजवादीले बागमती संसदीय दलको नेता पाउने बताउँछन्।
‘दलको नेता चयन नभएपनि हाम्रो कामहरु रोकिएको छैन’ उनले भने, ‘एक जना मात्रै दावेदार भए पो छिटो टुंगो लाग्नु। सबै जना दावेदार भएपछि समय त लागिहाल्छ नि। तर अब जो भएपनि सल्लाह गरेर छिट्टै टुंगो लगाउँछौं। यो आजभोलि मै पनि हुन सक्छ।’
त्यसो त, दुई दावेदारको पनि पक्ष र विपक्षमा सांसदहरु लागेका छन्। श्रेष्ठको पक्षमा दुई सांसद रहेको स्रोत बताउँछ भने खनालको पक्षमा ३ सांसद रहेका छन्।
खनाल अनुभव र सिनोरिटीको आधारमा पनि आफू नै स्वत सबैको सहमतीमा संसदीय दलको नेता हुनुपर्ने अडानमा छन्। श्रेष्ठ भने अघिल्लो कार्यकालमा पनि खनाल नै संसदीय दलको नेता भएर मन्त्री सम्मको अवसर लिइसकेको भन्दै आफूले पालो पाउने पक्षमा छन्।
देशका ६ वटै प्रदेशको संसदीय दलको नेता चयन भैसके पनि बागमतीमा भने अझै संसदीय नेता चुयन हुन नसकेको हो। हाल प्रदेश सभामा सर्वदलीय बैठक बस्दा अथवा अन्य बैठकहरुमा संसदीय दलको नेताको भूमिका निर्वाह गर्नुपर्दा भने खनालले नै जिम्मेवारी सम्हालिरहेका छन्।
एकीकृत समाजवादीका सबै सांसदको सहमतिमा बैठकहरुमा खनाललाई पठाइँदै आएको सांसद ओम कुमारी श्रेष्ठले बताइन्।
Shares
प्रतिक्रिया