ad ad

बागमती


ठूला र समुदाय केन्द्रित योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल

ठूला र समुदाय केन्द्रित योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १९:३०, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्यूनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए। 

‘न्यूनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरुमा लगानी गर्नेछ’, उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरुको परिणाम प्रभावकारी देखिएको छैन।’ 

बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाई छ। 

‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं।’

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए। देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उनको भनाई छ।  

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताए।

‘प्रचण्ड र बाबुरामजीले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको विकल्प छैन’, उनले भने, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं।’

जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाई छ। बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताए।

‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउनेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ।’

नेसपा मकवानपुरको अध्यक्षमा भेट्टवाल
नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन्। सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो। 

समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली, सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन्। 

पार्टीका केन्द्रीस्य सदस्य तथा मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा (दारी बा) को सभाध्यक्षतामा भएको घोषणा सभा पार्टीका गैह्र भौगोलिक समिति इन्चार्ज सोनाम सिं स्याङ्तान (विजय) को प्रमुख आतिथ्यतामा तथा पार्टीका बागमती प्रदेश समिति अध्यक्ष वन्दना सुवेदीको विषेश आतिथ्यतामा भएको थियो।

कार्यक्रममा राजनीतिक समिति सदस्य प्रमोद श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सदस्य डिवि थापा, केन्द्रीय सदस्य तुफान विक्रम क्षेत्री (दिपशक्ति), संघीय परिषद सदस्य इजहार आलम लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .