बागमती प्रदेशका १० जना सांसदले सम्पत्ति विवरण बुझाएका छैनन्। तोकिएको अवधिमा सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म १० जना सांसदले सम्पत्ति विवरण नबुझाएका हुन्।
बागमती प्रदेशसभाका सदस्यले २०७९ पुस १४ गते शपथ खाएका थिए। शपथ खाएको २ महिनाभित्र सम्पत्ति विवरण प्रदेशसभामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। त्यो २ महिना फागुन १४ गते पुगिसकेको छ। तर यो मितिभित्र सय सांसदले मात्र सम्पत्ति विवरण बुझाएको र १० जनाले अझै नबुझाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए।
प्रदेशसभा सचिवालयले विवरण बुझाउन पटकपटक ताकेता गर्दा पनि सांसदहरुले अटेर गरेको सूचना अधिकारी बाँस्कोटा बताउँछन्। विवरण नबुझाउने सांसदहरुमा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ, याङ्किला शेर्पा, कञ्चनचन्द्र वादे छन्। यस्तै राप्रपाका तीन सांसद लक्ष्मी घिमिरे, गिरबहादुर तामाङ र डम्बर तामाङले पनि सम्पत्ति विवरण बुझाएका छैनन्।
बाँकी ४ मन्त्रीले पनि हालसम्म सम्पत्ति विवरण नबुझाएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। तर मन्त्रीको हकमा नियुक्ति पाएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने हुन्छ। मन्त्रीका लागि भने अझै ७/८ दिन समय बाँकी रहेको प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले बताए। उनका अनुसार हालसम्मको अवस्थामा ४ मन्त्रीले विवरण बुझाउन बाँकी छ।
‘समय सकिन लाग्यो भनेर मैले पत्राचार गरेको छु’, उनले भने, ‘समयसीमा बाँकी रहेका कारण बुझाउनुहोला भन्ने लागेको छ। हामीले खबर गरिरहेका छौं।’
Shares
प्रतिक्रिया