ad ad

बागमती


काठमाडौं प्लाजाबाट सेवा दिँदै काठमाडौं महानगर

काठमाडौं प्लाजाबाट सेवा दिँदै काठमाडौं महानगर

नेपालखबर
चैत ३०, २०७९ बिहिबार २१:२५, काठमाडौँ

नयाँ वर्षदेखि काठमाडाैं महानगरपालिकाले  काठमाडौं प्लाजाबाट सेवा दिने तयारी गरेको छ।

आज सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको कामपाको कार्यालय काठमाडाैं प्लाजा सारिएको छ। कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइलगायतका कार्यालय आज सर्ने बताइएको छ।  

अहिले कामपाको १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० स्थानबाट सेवा दिइरहेका छन्। कामपाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार अहिले प्लाजामा सरसफाइ गर्ने, इन्टरनेट राख्ने र कोठा विभाजनको काम भइरहेको छ।

ती काम सकेसँगै सबै विभाग स्थानान्तरण हुने हो ।  

‘मर्मत सकिएको विभागमा क्रमिकरूपमा सरेर नागरिकलाई सेवा दिनेछौँ’, सहायक प्रवक्ता अधिकारीले भने, ‘सर्नका लागि जति आलटाल ग¥यो कामपालाई उतीनै घाटा लाग्छ दुईतिर भाडा दिर्नुपर्छ त्यसैले सक्दो छिटो मर्मतको काम गरी सर्ने तयारी गरिएको छ।’ 

उनका अनुसार सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार कामपा प्लाजामा सर्न लागेको हो। नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि कामपा र ट्रष्टबीच यही चैत आठ गते सम्झौता भएको थियो।  

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी कामपाले मर्मत गर्नेछ। प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता गरिएको हो।

विसं २०७२ को भूकम्पअघि कामपाको सबै सेवा ऐतिहासिक बागदरबारबाट प्रवाह भइरहेको थियो। भूकम्पका कारण बागदरबारमा क्षति पुगेपछि विभिन्न स्थानमा छरिएर सेवा दिन कामपा बाध्य भएको हो। 

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन्। सहकारी विभाग बिजुली बजार र सहरी योजना आयोगको कार्यालय थापाथलीमा छन्।

टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग, जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन्। कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छन्। 

प्लाजाको ग्राउण्ड फ्लोरमा पार्किङ, नगर प्रहरी बल, बैंक काउन्टर, आपत्कालीन सेवा केन्द्र, विपत् व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जीकरण सेवा राख्ने तयारी छ। यसैगरी पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष र विषयगत समितिको कार्यकक्ष राख्ने योजना छ।

दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपक्षी विभाग, शिक्षा विभाग, कानून तथा मानव अधिकार विभाग र इजलास राखिने छ। तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, अनुगमन तथा मूल्याङ्कन एकाइ, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय रहने छन्।

चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाइ, सूचना प्रविधि विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ। 

पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर राखिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .