ad ad

बागमती


काठमाडौं प्लाजामा सार्न थालियो महानगरका विभागहरू

काठमाडौं प्लाजामा सार्न थालियो महानगरका विभागहरू

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १८:२७, काठमाडौँ

काठमाडौं महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा भएका कक्षहरु भत्काएर काठमाडौं प्लाजा सार्न थालेको छ।

कम्प्लेक्सको छैटौँ तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय  र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाईका पार्टेसन खोल्न थालिएको छ । 

हिजोदेखि काम थालिएको हो । आज सबै पार्टेसन खोलिएको छ । प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भन्छन्, ‘सेवा नरोकिने गरी काम गर्छौँ । हामीले शनिवार पनि कर्मचारी बोलाएका छौँ । सार्ने काममा नगर प्रहरी परिचालन गरेका छौँ । पहिले प्रयोग गरिएका सामानलाई टुटफुट हुनबाट बचाएर यहाँ (जेडिए कम्प्लेक्स) कार्यालय सञ्चालनमा प्रयोग भएका सामानबाट उता (काठमाडौं प्लाजा) कक्ष निर्माण गर्ने, कम खर्चमा कार्यालय सार्ने काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

२०७२ सालको भूकम्पमा केन्द्रीय भवन जीर्ण भएपछि महानगरले विभागहरुलाई विभिन्न ठाउँमा राखेर सेवा प्रवाह गरिरहेको छ । यसरी सेवा प्रवाह गर्दा तिर्नु परेको वहाल रकमले एउटै ठाउँमा सेवा ल्याउन सकिने भएपछि नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा भाडामा लिन प्रक्रिया अगाडि बढाइएको थियो । यही प्रक्रियाअन्तर्गत चैत ८ गते महानगर र ट्रष्टबिच प्लाजा भाडामा लिने दिने सम्झौता भएको छ ।   

यो सम्झौता १० बर्षका लागि हो । ५ बर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ ।  कि. नं. २२३५ को करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ । 

१ लाख १६ हजार वर्गफिट पक्की भवन र ३ हजार ६ वर्गफिटको अस्थायी संरचनासहित प्लाजामा जम्मा १ लाख १९ हजार वर्गफिट कार्यालय प्रयोगमा ल्याउन सकिन्छ । 

यसमध्ये ग्राउण्ड फ्लोरमा पार्किङ्, नगर प्रहरी बल, बैङ्क काउन्टर, आपतकालीन सेवा केन्द्र, विपत व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जिकरण सेवा राख्ने तयारी छ । यसैगरी पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष र विषयगत समितिको कार्यकक्ष राख्ने योजना छ । दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपन्छी विभाग, शिक्षा विभाग, कानुन तथा मानव अधिकार विभाग र इजलास राखिनेछ । 

तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई, अनुगमन तथा मूल्याङ्कन एकाई, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय हुनेछ । चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाई, सूचना प्रविधि विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय राखिनेछ ।  

पाँचौँ तलामा उद्यान तथा हरियाली प्रवर्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर राखिनेछ । 

२०७२ को भूकम्प अघि महानगर बागदरबारमा थियो । भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो । त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक फरक ठाउँमा राखिएका छन् । 

अहिले प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय जेडिए कम्प्लेक्समा छन् । यस कम्प्लेक्समा वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई रहेका छन् । 

साविक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुन सम्बन्धी सेवाहरु, ट्राफिक व्यवस्थापन बिज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्याङ्कन एकाई छन् । 

टेकुमा उद्यान तथा हरियाली प्रबर्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन् । कृषि तथा पशुपंक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ । राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन् । 

सहकारी विभाग बिजुली बजारमा छ । सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ । 

जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी एकाई लगायत कार्यालय छन् ।  

हनुमान ढोका दरबार संरक्षण कार्यालय बसन्तपुरमा छ । राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखा लगायत संरचना छन् । 

यसरी छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएर कार्यालय सार्न थालिएको हो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .