ad ad

बागमती


काठमाडौंका सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने काम सुरु

काठमाडौंका सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने काम सुरु

नेपालखबर
बैशाख ४, २०८० सोमबार २१:१६, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा कम्पोष्ट मल बनाउने कार्य सुरु गरेको छ। फोहरलाई स्रोतमा नै वर्गीकरण गर्ने र जैविक फोहरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको प्रवर्द्धन गर्नका लागि कामपाले सामुदायिक विद्यालयमा उक्त कार्य सुरु गरेको जानकारी दिएको छ। 

उक्त कार्य स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयमा प्रारम्भ भइसकेको छ भने अन्य सामुदायिक विद्यालयमा पनि उक्त काम विस्तार गर्ने तयारी रहेको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

‘कामपाको जिम्मेवारीसँग जोडिएको घरेलु फोहोरको दिगो व्यवस्थापनमा नतिजा ल्याउनु अहिलेका लागि मुख्य काम हो’, उनले भने, ‘जैविक फोहरलाई स्रोतमा नै व्यवस्थापन गर्नका लागि जनताबाट सहयोग भए महानगरपालिकाको ठूलो खर्च जोगिन्छ, यसबाट स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्छ।’ 

उनका अनुसार महानगरले फोहोर व्यवस्थापन गर्नु मात्र भन्दैन, आवश्यक परेको सहयोग पनि उपलब्ध गराउँछ।

कामपाले एक हजारभन्दा धेरै विद्यार्थी भएका विद्यालयबाट उत्पादन भएको फोहोर व्यवस्थापनका लागि कतै कम्पोष्टिङ राख्ने, कतै गड्यौले मल बनाउने, कतै अन्य प्रविधि राख्ने योजना रहेको जनाएको छ।

उक्त कार्यले सामुदायिक विद्यालयका परिसर नै अवलोकन भ्रमणका स्थल बन्ने विश्वास कामपाले लिएको छ। 

सामुदायिक विद्यालयमा राखिएको कम्पोष्ट बिनले विद्यालयको फोहोर व्यवस्थापनसँगै विद्यार्थीमार्फत समुदायमा घरेलु फोहर व्यवस्थापनमा सन्देश प्रवाह हुनेछ।

कामपाले आवश्यक पर्ने परिवारका लागि सहुलियत दरमा एक सय लिटर क्षमताको र धेरै व्यक्तिबाट फोहर उत्पादन हुने स्थानमा दुई हजार लिटरको सामुदायिक कम्पोष्टिङ बिन वितरणको काम पनि गरिरहेको छ। 

हाल कामपामा ८९ सामुदायिक विद्यालय छन्। तीमध्ये ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।

कामपाले विद्यालयमा मात्रै नभई दुई महिना अघिदेखि टेकु ट्रान्सफर स्टेशनमा पनि कम्पोष्ट मल बनाउने काम सुरु गरिसकेको छ। यसरी मल बनाउने कार्यलाई ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .