पछिल्लो समय महिलाहरु रोजगारीको शिलशिलामा साना तथा मझौला व्यवसायतर्फ आकर्षित भैरहेका छन्। दैनिक जीवनयापनलाई सहज बनाउन महिलाहरु पनि पुरुष सरह नै आय आर्जनका काममा सक्रिय बन्ने प्रयासमा छन्।
जसका लागि हस्तकलालाई समेत महिलाहरुले मुख्य पेशाको रुपमा अंगाल्न थालेका छन्। काष्ठ हस्तकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर हेटौँडाका महिलाहरु स्वरोजगार बनिरहेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ मा रहेको पिप्ले पोखरा सामुदायिक वनमा आवद्ध भएका महिलाहरुले काष्ठ हस्तकलाबाट मनग्य आम्दानी गरिरहेका छन्। काष्ठ हस्तकलाको माध्यमबाट मासिक १५ हजारदेखि २५ हजारसम्म कमाउन थालेपछि घर खर्च र बचतका लागि अरुको भर पर्नुपर्ने बाध्यता हटेकोमा २६ वर्षीया प्रसन्ना राई दंग छिन्। साना बाबुनानीको लागि खाजा खर्चको जोहो गर्न र पकेट खर्चसमेत यही काष्ठ हस्तकलाको माध्यमबाट सम्भव भएको उनी बताउँछिन्।
‘घरको काम पनि भ्याइएको छ। रोजगारी पनि भइएको छ’ उनले भनिन्, ‘घरखर्चको लागि यही कामले पुगिरहेको छ।’
घर खर्च चलाउन सधैँ श्रीमानको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रसन्ना बताउँछिन्।
‘हामी आफैं कमाउँछौं, लाउन खान मन लागेको कुरालाई खर्चदेखि सहकारी, टोल विकास संस्थामा बचत राख्न सक्ने भएका छौं’ उनले भनिन्।
तालिम लिएर काम गर्न थालेपछि आधा दर्जन महिलाहरुको दैनिकी नै परिर्वतन भएको छ। विगत ७ वर्षदेखि काष्ठ हस्तकलामा लागेका महिलाहरुले स्थानीय कुकाठबाट बनेका फोटो फ्रेमदेखि विभिन्न आकारका मायाको चिनोहरु देशका विभिन्न ठाउँहरुसम्म पुर्याउने गरेका छन्।
अस्मिता नेपाल नामक संस्थाले २०७२ सालमा सञ्चालन गरेको काष्ठ हस्तकलाको तालिम लिएपछि स्वरोजगार भएका महिलाहरुले अब अरुलाई समेत तालिम दिनसक्ने भैसेकेको हेटौंडा ५ की राधिका श्रेष्ठ बताउँछिन्।
‘पहिला त हामी सिकेरै आएका हौं। केही महिना त अलमलमा थियौं, तर अब अरुलाई पनि तालिम दिन सक्ने भैसकेका छौं’ श्रेष्ठले भनिन्।
सिक्न इच्छा भएका मानिसहरुले उनीहरु आफैँ आएर काठका सामान बनाउने तालिम दिने श्रेष्ठ बताउँछिन्।
उनीहरुले पहिलो चरणमा अस्मिता नेपालले सञ्चालन गरेको ६ महिने तालिम लिएका थिए। त्यसपछि ३ महिने एड्भान्स तालिम लिएर हेटौंडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वनको भवनमै हस्तकलाको काम सामूहिक रुपमा गर्दै आएका हुन्।
२०७४ सालमा श्रमजीवी महिला काष्ठ उद्योग दर्ता गरेर यहाँका महिलाहरुले काष्ठ हस्तकलाको उत्पादन गर्दै आएका हुन्। अहिले उनीहरुले उत्पादन गरेका काष्ठ हस्तकलाको सामग्रीहरु स्थानीयस्तरको कार्यक्रमदेखि बाहिरी जिल्लाहरुबाट समेत अर्डर आउने गरेको हेटौंडा–५ की ४१ वर्षीय विष्णुकुमारी राई बताउँछिन्।
यता, घरको सबै काम भ्याएर बाँकी बसेको समय तालिममा सिकेको सीपलाई उपयोग गर्दै काष्ठ हस्तकलाको माध्यमबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्दा राम्रो आम्दानी गर्न सफल भएको हेटौंडा–७ की ४० वर्षीय सम्झना कोइरालाको अनुभव छ।
काष्ठ हस्तकला मार्फत उनीहरुले दराज, मन्दिर र ऐनाको काठको फ्रेम, घण्टी फ्रेम, मायाको चिनो, नेपालको नक्सा, किरिङ लगायतका सामग्रीहरु उत्पादन गरिरहेका छन्। यहाँ दुई सय रुपैयाँदेखि ४० हजार रुपैयाँसम्मको काठका सामग्री उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन गरिएका सामग्रीहरु हेटौंडा, काठमाडौं एवं छिमेकी मुलुक भारतमा समेत निर्यात हुने गरेको उनीहरुको भनाई छ।
यहाँका महिलाहरुको दैनिकीमा अहिले परिर्वतन आएको छ। महिलाहरुलाई तालिमदेखि काष्ठ हस्तकलाका लागि आवश्यक पर्ने सामग्रीहरु काठ, बुट्टा खोप्ने, जिक्सा, ड्रिल मेसिन सहितका सम्पूर्ण उपकरणका लागि अस्मिता नेपालले सहयोग गरेको थियो।
सुरुवाती समयमा उत्पादन भएका सामग्रीहरुको बजारीकरण गर्न समस्या भएपछि यहाँका महिलाहरुका लागि अस्मिताले बजार व्यवस्थापन सम्बन्धी तालिम पनि प्रदान गरेको थियो। अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले तालिम दिने मात्रै नभई महिलाहरुलाई उद्योगी बनाएर मात्रै छाड्ने गरेको बताइन्।
उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्न संस्थाले काम गर्दै आएको बताइन्।
Shares
प्रतिक्रिया