बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ३ अर्ब ३८ करोड रुपैंया विनियोजन गरेको छ।
शुक्रबार आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।
चालु आर्थिक बर्षको लागि ४ अर्ब ७० करोड को बजेट ल्याएकोमा आगामी आर्थिक बर्षको लागि १ अर्ब भन्दा बढि बजेट घटाएर ल्याएको हो।
कृषि कार्यक्रम अन्तर्गत कृषकलाई परिचय पत्र वितरण गरिने जानकारी उनले दिए। दूध उत्पादन बढाउन प्रदेशभित्र १० वटा दूध जोन स्थापना गर्न बजेट छुट्याइएको छ।
यस्तै, काठमाडौं भित्र एक आधुनिक कृषि बजार स्थापना गर्न पनि बजेट छुट्याइएको उनले बताए। अनुदान, सहुलियकका कार्यक्रम र कृषि विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताएका छन्।
यस्तै, उच्च मूल्यका कृषि बाली वस्तुहरूको उत्पादनदेखि उपभोगसम्मका प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी साना तथा मझौला कृषकहरूको आयआर्जन वृद्धि गर्न मूल्य श्रृङ्खला प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
प्रदेशमा उत्पादित कृषिजन्य बाली वस्तुको भण्डारण, बजारीकरण तथा उत्पादन उपरान्त हुने क्षति न्यूनीकरण गर्न कोल्ड चेम्बर, हर्मेटिक भण्डारण लगायतका पूर्वाधार निर्माण गर्दै लगिने उल्लेख छ।
कृषि क्षेत्र सम्बद्ध भौतिक पूर्वाधार निर्माणका लागि ४३ करोड १५ लाख विनियोजन गरेको अर्थमन्त्री लामाले बताए।
Shares
प्रतिक्रिया