बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ। बुधबारदेखि सुरु भएको आगामी आर्थिक वर्षको राजश्व तथा बजेट माथिको छलफल आज टुङ्ग्याइएको हो।
बजेटमाथिको छलफलमा ५३ सांसदहरुले आफ्नो धारणा र प्रश्नहरु राखेका थिए। उक्त उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले दिएका थिए।
यस्तै, बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बजेटको विषयमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेमाल मजदुर किसान पार्टी (नेमकिपा) भने बजेटको विपक्षमा थिए।
यद्यपी, सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको कारण सर्वसम्मतीले बजेट पास भएको हो। यता, सरकारमा नरहेको हाम्रो नेपाली पार्टीले भने मौन समर्थन गरेको थियो।
सत्तामा रहेका तीन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसको बहुमत भएका कारण विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो।
बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं मुख्यमन्त्री जम्कट्टेलले सरकारले प्रदेशको गौरवको योजनाहरुलाई समेटेर लैजाने बताए।
मुलुकमा आर्थिक मन्दीका कारण सबैतिरको बजेट कटौती भएको समयमा बागमतीमा पनि यस्तो हुन आएको बताए।
बजेट संशोधनको माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको केही बिषयमा समझदारी रहेको कारण पारित गर्न दिएको बताएको छ।
‘हाम्रा केही मागहरु थिए। ती मागहरुमा सत्तापक्षले सकारात्मक देखिनु भएको छ। जसका कारण पारित गर्न दियौं,’ एमालेका प्रमुख सचेतक मधुसूधन पौड्यालले भने।
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैंयाको बजेट ल्याएको छ। चालु आर्थिक बर्षका लागि ७० अर्ब ९ करोड ३९ लाख रुपैंयाको बजेट ल्याएको थियो।
Shares
प्रतिक्रिया