बागमती प्रदेशमा रहेका सरकार मातहतका अस्पतालहरूलाई विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउन यहाँको स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेशका १३ जिल्लामा रहेका सरकार मातहतका अस्पतालहरूका लागि उक्त निर्देशन जारी गरिएको हो।
‘अस्पतालहरूले यो निर्देशन पालना गरेका छन् कि छैनन् भनेर अनुगमन गर्न आफ्नै संयोकत्वमा अनुगमन टोली नै बनाएका छौँ’, उनले भने, ‘हामी अस्पतालहरूमा अनुगमन पनि गर्छौं। निर्देशन नमानेको पाइएमा त्यस्ता अस्पतालहरूलाई कारबाही पनि गर्छौं।’
प्रदेश स्वास्थ्यमन्त्री जोशीकै अध्यक्षतामा बसेको बैठकले प्रदेशमा रहेका अस्पतालहरुले कूल शय्यामध्ये १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो।
सो कार्यान्वयनका लागि अस्पतालहरुलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। केन्द्रीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो निर्णय गरेर कार्यान्वयनमा ल्याएपछि बागमती प्रदेश सरकारले पनि कानुनमा भएको सो व्यवस्था लागू गराउन खोजेको हो।
त्यसैगरी अस्पताल परिसरमा केही अस्पतालले सवारी पार्किङ शुल्क लिएको गुनासोपछि त्यसलाई निःशुल्क गराउन पनि प्रदेश स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया