हेटौँडा बजार क्षेत्रको सडक विस्तार अघि बढाउन माग गर्दै ७३ वर्षका बाबु छोरासँगै सडक डिभिजन कार्यालय (हेटौँडा) को गेटमा अनशन बसेका छन्।
सडक विस्तारबाट पछि नहट्न दबाब दिँदै हेटौँडा उपमहानरपालिका- ८ कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजीव सडक डिभिजन कार्यालयअगाडि अनशनमा बसेका हुन्।
यही साउन १ गतेदेखि अनशनमा बसेका उनीहरुले अब कुनै पनि बहानामा सडक विस्ताको काम नरोक्न सडक डिभिजन कार्यलयसँग माग गरेका छन्।
अनशन बसिरहेका राजीव तामाङले सरकारले कमभन्दा कम क्षति हुनेगरी सडक विस्तारको उपाय खोज्नुपर्ने बताए। उनले हेटौँडा–१५ देखि राप्तिपुलसम्मको क्षेत्रमा पर्ने सरकारी जग्गाको उपयोग गर्दै सडक विस्तार गरे कम क्षति हुने दाबी पनि गरे।
‘भन्न त हामीलाई धेरैले कुन राजनीतिक दलले ल्याएको यहाँ भनेर पनि सोध्छन्’, उनले भने, ‘हामी अनशनमा बस्नुमा कुनै स्वार्थ छैन। न कुनै राजनीतिक दलको समर्थनमा हामी यहाँ बसेका हौँ। हेटौँडालाई सुन्दर बनाउनपर्छ भन्ने नै हाम्रो माग हो। बर्षौंदेखिको सडक फराकिलो बनाउने अभियान पूरा नभएकाले यो पूरा हुनुपर्छ भनेर हामी अनशनमा बसेका हौँ।’
साउन १६ गतेसम्म पनि सडक विस्तारको काम सुरु गरिएन भने आमरण अनशन थालिने चेतावनी उनले दिए। ‘यतिमात्रै होइन, यदि यो पटक पनि हेटौँडाको संरचना भत्काउने कुराबाट सडक डिभिजन कार्यालय ब्याक भयो भने १७ गतेदेखि म कुनै पनि बेला आत्मदाह गर्न पनि सक्छु’, उनले भने।
अनशनमा रहेका ७३ वर्षीय मानबहादुरले सडक विस्तारमा आफूहरुको कुनै स्वार्थ नभएको तर यो अस्ताउने उमेरमा समग्र हेटौँडाको विकास हेर्न चाहेको बताए।
त्यसो त सडक डिभिजन कार्यालयले गत असार १० गते सूचना प्रकाशन गरी राजमार्गअन्तर्गत हेटौँडा–१५ रातोमाटेबाट बुद्धचोक हुँदै राप्तीपुलसम्म सडकका दायाँबायाँ २५/२५ गजभित्र पर्ने संरचना हटाउन भनेको छ। ३५ दिने उक्त सूचनाको म्याद यही साउन १५ गते सकिँदै छ।
साउन १६ गतेदेखि हेटौँडाको मेनरोडदेखि राप्तीरोडसम्मका संरचना हटाउन डोजर चलाइने सडक डिभिजन कार्यालयका प्रमुख राजेश कुमार यादवले बताए।
Shares
प्रतिक्रिया